+
+
मुगु डायरी-२ :

एक्काइसौं सदीको विडम्बना !

तिलक पौडेल तिलक पौडेल
२०७८ माघ २२ गते १२:४५

मेरो लागि बस्ने कोठा भनेको तेस्रो पत्र याने पहोरोभित्र जस्तो थियो – तीनोटा ढोका पार गरेर जानुपर्ने। धन्न अक्सिजनको अभाव नहुँदो रहेछ। जाडोको कारण ढोकाहरू साह्रै होचा अर्थात् ४-५ फिटका थिए ।

म निहुरिएर ढोकाभित्र पस्दा पनि पिठ्यूँ ठोकिन्थ्यो। सल्लाका झरा (सुकेका दाउरा) बत्तीका निर्वैकल्पिक स्रोतहरू थिए। आफूले ओढ्ने ओछ्याउने कपडाहरू नलगेको हुँदा मुखियाले राडी र पाखीहरू उपलब्ध गराएका थिए ।

झरोकै उज्यालोमा भए पनि ५-७ जना केटाकेटीहरूलाई पढ्न डाक्ने गरेको थिएँ, तिनलाई गम जाँदा कलम-कापी लगिदिन्थें । तिनीहरूको पढाइ सकिएपछि छोट्टी (तरुनी) हरू हातमा सुल्फा लिएर भित्रिन्थे। ठेटुवाको आँगो (घरबुनाको माथिदेखि तलसम्म लगाइने एउटै कपडा, घाँघर जस्तै) र चाँदीका रुपैयाँका माला र रङ्गीन पोते घाँटीमा लगाएका नानीहरू आएर मेरो छेवैमा बस्दथे।

‘माइटर ! स्हुल्फा खाँदौन ?’ (मास्टर तमाखु खाँदैनौ ?) भन्दै साखुल्य जनाउँथे। म पनि चुरोट खाने बानी भएको हुँदा चुरोट सल्काउँथेँ र उनीहरूसँग भाषा सिक्ने प्रयास गर्दथें। ‘दे ! हामीकन चुक्रि दिदौन क्या, एकै खाँदा भ’हन बाई !’, ‘स्हुल्फा खाँदा माइटर ?’, ‘छोट्टी खेल्दौन तुमी’, ‘हामीकन जोइ गन्ने हौ ?’ (लौ हामीलाई चुरोट दिंदैनौ र ! एक्लै खाँदा रहेछन् साथी हो। तमाखु पनि खान्छौ मास्टर ? तिमीले दोहोरी गाउँदैनौ ?) हामीसँग बिहे गर्छौ ? जस्ता प्रश्नहरू गरेर मस्किन्थे।

नयाँ ठाउँ भएर हो कि ! भरखर दाह्रीजुँघाको रेखी बसेको पट्ठोलाई ४-५ जना ठिटीहरू आएर जिस्कँदा मनले चाहे पनि, कता-कता रोमाञ्चित भए पनि केही गर्न र भन्न डर लाग्दथ्यो। एकाध घण्टामा तिनीहरू जान्थे र म कट्टु मात्र लगाएर सुत्ने गर्दथें। किनभने चित्रजीले कपडासँग नसुत्नु होला है भन्ने उर्दी जारी गरेका थिए । एकदिन बिहान उठेर दिसा गएँ। फर्केर आउँदा त एउटी आईमाइले छतबाट एकोहोरो भाषण गरिरहे जस्तो लाग्यो।

भाषिक कठिनाइले गर्दा व्यहोरा बुझ्न सकिनँ र यसो तलतिर कति श्रोताहरू रहेछन् ? भनेर जुल्क्याएँ। तर त्यहाँ त झिंगा समेत कोही थिएन। मलाई मुख धोएर व्यहोरा बुझ्न मुखियासँग जान मन लाग्यो र गएँ। सोधनी गर्दा पाँडे गाली भनिने गरेको त्यो गाली आफ्नो नोक्सानी गरिदिए वापत नोक्सानीकर्ता चिने पनि सबैलाई मुछेर गाली गरिने गरिंदो रहेछ।

त्यो पनि माथि पाँड (छत) मा गएर। त्यसबेला श्रीमानले तमाखु सल्काएर घरभित्रै बस्दोरहेछ। आफ्नी श्रीमती/स्वास्नीले जति बढी गाली गर्न सकी उसमा उति बढी सन्तुष्टि हुँदोरहेछ। ‘…. छराकी जोइ राँडी किन भैन होली ? छराको धड्काउनु-फड्काउनु किन परेन होला ? छराका बाक्रा किलाका किलै किन भएनन् होला ? दे ….’ जस्ता गाली गरेर प्रत्यक्ष सत्तुर्‍याईं नगरिने प्रचलन आफैँमा त्यति अनुचित लागेन।

शानिबार खाना खाएपछि ताउलो लिएर नाउला (पँधेरा) मा गई पानी तताएर नुवाइ-धुवाइ गरिन्थ्यो। सबै कपडा खोलेर उज्यालोमा हेर्दा त हात पाखुरा खुट्टाको छेउ-छेउमा अर्थात् दायाँ-बायाँ, अघि-पछि हैन, पूरा शरीरमा कालो मयलको काँठो बसेको पाइयो।

मलाई ताजुव लाग्यो। भरे त्यो त सर्वाङ्ग नाङ्गै भएर राडी पाखीभित्र कोल्टे परेर सुतेको परिणाम पो रहेछ ! सल्लाका झराहरूको खिस्सो (ध्वाँसो) झरेर राडी, पाखीमा पर्नु र त्यहीं नाङ्गै सुत्नुको नतिजा अन्तत: आफैंलाई स्वाभाविकै लाग्यो। एक्काइसौँ सदीको विडम्बना !

नेपालकै ठूलो तालको यात्रा -सरकारी काजमा

नव वर्ष २०३९ को उपलक्ष्यमा गम्था माध्यमिक विद्यालयमा विविध कार्यक्रमहरूको आयोजना भयो। रारा ताल भएर जानुपर्ने भन्ने थाहा पाएपछि मलाई पनि जान मन लाग्यो। मुक्तिसरले केटाकेटीको टोली लिएर उहाँ र म गम्था जाने सल्लाह गर्नुभयो। पर्सि वैशाखे सग्राँती भन्दा आज्जसो हामी खाना-साना खाएर गम्थाको साइत गर्‍यौँ। त्यस दिनको बास रारातालको छेउमा रहेको पाटीमा भयो।

जीवनमा पहिलोचोटि सुत्ने झोला (सिलिपिंग ब्याग) मा सुतें। वैशाख लाग्ने बेलामा पनि राति जाडो हुँदा कतै पुस/माघलाई झुक्किएर चैत/वैशाख भनिएको त हैन ? जस्तो लागिरहेको थियो ।

शायदै हामीकहाँ पुस-माघमा पनि त्यत्तिको जाडो हुँदैनथ्यो। जेहोस् जेनतेन रात गुजारेर बिहान उठी नेपालकै ठूलो ताल रारालाई नियाल्दै हामीहरू गम्थातिर पयर अघि बढायौं। सोही क्रममा निम्नानुसारको पद्य लेख्न मन लाथ्यो र लेखें पनि ।

राराकी प्रकृति

मुगु जिल्ला बास गरेकी। पूर्व पश्चिम लाम्चो परेकी ।
वरिपरि जङ्गल टोपी हिमको। बढाउनलाई शोभा तिमरो।१।

लगाई बस्छ पहरा पनि। दिन्छ कसैले चोर्छ कि भनी ।
सौन्दर्य पनि तिम्रो जस्तो। छैन कतै नि जस्को तस्को।२।

रुपा वेगनास फेवाताल। कास्की र डोल्पा फोक्सुण्डो ताल।
छन् तर तिम्रो सौन्दर्य छाल्मा। पर्यटकागमन होला नेपालमा।३।

खत्याड खोला पश्चिमतिर। गरेर तिम्रै मुहान शिर।
बगिरहेछ गर्दै कलकल। दर्शाउँदै स्वच्छ सुन्दर जल।४।

त्यै खोलाको तीरैतीर हिंडे पनि। कौतूहल् तिमी कस्ती छौ भनी।
जाग्छ सबैको अन्तर मनमा। गर्छन् दृश्यावलोकन वनमा।५।

तिमी छौ बीचमा माला जङ्गल। देख्दा लाएको मनोहर मङ्गल ।
हुन्छ सबैमा र अरू तालको। कल्पित मूल्य तिम्रा छालको।६।

आखिर जोडी टोटल मूल्य। गर्दा अरू सब कृत्रिम तुल्य।।
हुन्छन् आखिर तिम्रो आकृति। एक हो सजाउने सुन्दर प्रकृति।७।

धन्य प्राकृतिक सजावटलाई। मुस्काई रहिछ्यौ काखमा बसाई।
देखिएन तिम्रो कृत्रिम पारा। बाहेक प्रकृति के छ सहारा ।८।

गम्था पुग्नु पहिले खाना खाँदा मुक्तिसरलाई उल्लेखित कविता सुनाउँदो भएँ। ‘एऽऽऽ तिलकजी त कवि पनि हुनुहुँदोरहेछ, हुन त एउटा हाँगो सप्लाएको रूखका अरू हाँगाहरू पनि ठिम्रिन्नन् भन्दछन् …’जस्ता प्रतिक्रिया दिनुभयो। जसले मलाई पनि आनन्द दिलायो ।

वास्तवमा राराको पल्लो छेउमा पुगेपछि रारालाई नै मुहान् गरेर कलकल बगेको खत्याड खोलाको तीरैतीर गम्था पुगिंदोरहेछ। वरिपरि सल्लाको सट्टा बाँझ-कटुसजस्तैको जङ्गल र सफा पानी लिएर बगिरहेको खत्याड खोलाको दुवैतिर शायद जौ र गहुँका हरिया खेतहरू थिए ।

मलाई ताजुव लाग्यो। भरे त्यो त सर्वाङ्ग नाङ्गै भएर राडी पाखीभित्र कोल्टे परेर सुतेको परिणाम पो रहेछ ! सल्लाका झराहरूको खिस्सो (ध्वाँसो) झरेर राडी, पाखीमा पर्नु र त्यहीं नाङ्गै सुत्नुको नतिजा अन्तत: आफैंलाई स्वाभाविकै लाग्यो। एक्काइसौँ सदीको विडम्बना !

मनले आफूलाई स्याङ्जाको कुनै पहिले नगइएको भेकमा हिंडिरहेको भान परिरहेको थियो। श्रीकोट बुगाको पाटो देखाउँदै मुक्तिसरले भन्नुभयो ‘तिलकजी ! हेर्नोस् त यहाँ हामी हिंडिरहेको स्थानमा सिमल, सिमली, केरा, कागती जस्ता गर्मी ठाउँमा हुने वनस्पतिहरू छन् भने यो पाखोको शिरमा मुगुका सर्वोत्कृष्ट स्याउहरू फल्दछन् ।

‘तब मेरो मनमा कल्पना आयो – यदि उँचाइ अनुसार सिफारिस गरिएका फलफूलहरू खत्याडको तीरदेखि श्रीकोटको डाँडासम्म मिलाएर लगाउन पाए संसारको कति भूभागको प्रतिनिधित्व एकैदृष्टिमा अवलोकन गर्न पाइन्थ्यो होला ? त्यस्तो हेर्न कति पर्यटकहरू आउँथे होला ?

जेहोस् कल्पनामा सजाएर चित्त बुझाएँ। वास्तवमा यदि त्यो ठाउँलाई उल्लेखित ढङ्गले सजाउन सके राराको छेउछाउको स्थान पनि भएकोले पर्यटनको अनपेक्षित आकर्षण नहोला भन्न सकिंदैन ।

काजमा बस्ने रहर

जेहोस् खाना खाई गम्था स्कूलमा पुगेर टोलीको दर्ता गरियो – भोलिपल्टको कार्यक्रमका लागि। साँझ जिम्बुले झानेको मासको दाल र रातो चामलको भात खाने व्यवस्था मिल्यो ।

अब झन् स्याङ्जाको कुनै भेकतिर भ्रमण गरेको जस्तो महसुस भयो। अन्ततः भोलिपल्ट नव वर्षको सन्ध्यामा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। त्यसमा मैले नि असार-साउन काजमा बस्न पाए ? भन्ने सदासयता समेटेको निम्नानुसारको प्यारोडी गीत बनाएर गाएँ। सबैले उत्तमै भएको प्रतिक्रिया जनाएका थिए ।

काजलाई निवेदन

प्रतिशतकै लोभले गर्दा, मुगु आइयो,
डाँफे घुच्ची लेक चढ्दा, दुःख पाइयो…
कुरा एकदम साँचो हो, आउने विचार ‘काँचो भो’ २

घरपाहीमै जागिर थियो, यता आउनाले,
दाँतमा ढुङ्गा लाग्यो साथी, दुःख पाउनाले…
लागेर पो के गरु ? सन्तोष अब ‘ठीक बरु’ २

नआउनु नै ठीक रहेछ, आइहालियो,
दुःखीलाई दुःख दिने, रैछ पालियो…
रुमाल धुन भिजाउँछु, यै सोची ‘मन बुझाउँछु’ २

चोखेन विना पाक्या चिज, काञ्जा र गञ्जी,
भन्ने मीठै मानी खान्छु, घर नसम्झी…
आइसकेसि दुईचार मैना, बस्ने इच्छामा,
ढुक्क भई बसेको छु, काज प्रतीक्षामा…
निवेदन दें काजलाई, बिदा हुन्छु ‘आजलाई’ २

गहुँकै रोटी र धानैको भात

कार्यक्रमको समापनपछि हामी दुई गते रोवा फर्क्यौँ। गमगढीमा धैनकोट प्रस्तावित माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम नेउपानेसँग भेट भयो/गराइयो। उहाँ राष्ट्रिय विकास सेवामा आउनुभएकोमा आफू खटिएको सो स्कूललाई माध्यमिक विद्यालय बनाएरै छाड्ने हिसाबले प्रतिबद्ध हुनुहुँदोरहेछ र एकजना गणित, विज्ञानको शिक्षक खोजी गर्दै गर्दा शिक्षा शाखाले मेरो हुलिया दिएकाले मेरो भद्रो हेरी बस्नुभएको रहेछ।

भेट भई भलाकुसारी गरेपछि ‘गहुँकै रोटी र धानैको भात’ खान पाइन्छ, जाऊँ भनी प्रस्ताव गर्नुभयो। जसमा मुक्तिसरले पनि व्यहोरा ठीक हो भनी समर्थन दिएपछि मेरो मनमा पनि लोभ पलायो। अन्ततः जिल्ला शिक्षा कार्यालयबाट सरुवा-पत्र तयार पारेर रोवा आइयो।

वैशाखको पहिलो हप्तामै सबैसँग रुँदै रमाना÷बिदाइ लिएर धैनकोटतर्फ पाइला चालें। भनिएको थियो जुन पाटोबाट हिंड्नु परे पनि कर्णालीको तीर नछोड्नु ! दुई दिनमा पुगिनु पर्दछ।

शायद सफाइ कायम गर्न नसकिने परिवेशको प्रतिफल !

रोवाबाट बिदा भएर हिंड्दा वरिपरिका गाउँले र विद्यार्थी भाइबैनीहरू रोएको देखेर म आफैं पनि रुँदै-रुँदै गमगढीतिर लागें। त्यसदिन गममुनि ठिनी भन्ने ठाउँमा जगन्नाथजीसँग बसें। उनले पनि गमगढी आउँदै गर्नु, आउँदा यहीं बस्ने गरी आउनु जस्ता साखुल्य भाषाको प्रयोग गरी अन्तरङ्गी मित्रको स्थान ओगटे, जो दिपेन्द्रको जुम्लाबाट ल्याएको चिठीको आधारमा परिचित थिए।

भोलिपल्ट बिहानै हिंडेर सुम्ली गाउँमा पुगेर खाना खाएँ। साँझ कालैमा त्यहाँका हेडसर, कास्कीका भोलानाथ ढुङ्गानासँग बास बस्न पुगें। नव परिचय गरी धैनकोटमै श्रीमान् ८ कक्षामा र श्रीमती ७ कक्षामा पढ्ने विद्यार्थीको घरमा बास बसियो। भोलिपल्ट खाना खाई दुईवटा रोटी अर्नीका रूपमा लिई धैनतिर रमाना भएँ।

सिद्धिगाढ हुँदै ३÷४ बजेतिर धैनकोट पुगें। हेडसरको मेसमा खाना खाई गिरिराज पाण्डे-आलमदेवी, स्याङ्जा, जोसँग मेरो सट्टा सरुवा भएको रहेछ, ले व्यवस्था गरेको ठाउँमा राडीपाखी ओढेर आराम गरें। अर्का साथी देहलीराज पाण्डेजी पनि त्यहीं बस्नुहुँदोरहेछ। रातभरि उपियाँले टोकेर हैरान पारेकाले निम्नानुसारको कविता लेखी टोपलें।

सुत्छु त्यही ओछ्यानमा

गाउन्न गीत उडुसले, तर टोकी नाच्छ जुम्राले,
चिल्याउँछ र कन्याउँदा, पोल्छ झैं तातो भुम्राले।

दिन्नन् स्वर लामखुट्टेले, टोकी उडी चल्ला नाँच्दछन्,
दिन हुनाले उपियाँ, आफ्नु खेल साँच्दछन्।।

तपरी सुत्दा ओछ्यानमा, उफ्री टोकीकन उपियाँ,
देखाउँछन् खेल त्यो हेर्न, तिर्नु पर्दैन रुपियाँ।

खेल सुरु हुन्छ तिनको, परी ठूलो सोच्यानमा,
टर्च बाली खेल हेरेर, सुत्छु त्यही ओछ्यानमा।।

स्वास्थ्य संवेदनशीलताको नमूना – जीवनको प्रेरणा स्रोत !

जेहोस् स्कूलमा हाजिर भई पठनपाठनको कार्यारम्भ गरें। ९ कक्षामा ७ जना विद्यार्थी रहेछन्, जसलाई गणितका आधारभूत सिद्धान्तबारे पनि जानकारी रहेनछ। त्यसैले जोड, घटाउबाट अध्यापन कार्य अघि बढाउन बाध्य भएँ।

खाना हेडसरसँगै खाने सल्लाह भयो। उहाँले उमालेको पानी मात्र पिउने गर्नुहुँदोरहेछ। तुम्लेटमा पानी भरेर स्कूल लैजाने गर्नुहुन्थ्यो। त्यसबेलासम्म मलाई पनि सफा पानीको सेवनले २५ प्रतिशत भन्दा बढी उदरसम्बन्धी रोगहरूको निवारण हुन्छ भन्ने व्यहोराको जानकारी थिएन ।

खाना पकाउने केटा भए पनि आफैँ अग्रसर हुने उहाँको बानीले मलाई पनि भान्साको काममा सरिक हुन प्रेरित गरायो। सीमित मात्रामा चुरोट नखाने तर चरेस/अत्तड खाने, मासु नखाने तर रक्सी खाने बानी भएका हेडसरले उम्लेको पानीले थाल पखाली-खल्क्याई मात्रै खाना खानुपर्ने बानीमा मलाई पनि सामेल गराउनुभयो। म पनि त्यसै गर्न सिपालु भएँ – जीवनमा स्वास्थ्य संवेदनशील रहने प्रेरणाको स्रोत !

(चार दशक पहिलेको डायरीबाट) क्रमश: … 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?