+

चार देशीय सिरिज : नेपाललाई एक्सपोजरको मौका

२०७८ माघ  २७ गते १२:५२ २०७८ माघ २७ गते १२:५२
चार देशीय सिरिज : नेपाललाई एक्सपोजरको मौका

२७ माघ, काठमाडौं । आईसीसी टि-२० विश्वकपमा छनोट हुने लक्ष्यसहित नेपाली राष्ट्रिय क्रिकेट टोली ग्लोबल क्वालिफायर खेल्न ओमान पुगिसकेको छ ।

अष्ट्रेलियामा आगामी अक्टोबर-नोभेम्बरमा विश्वकप टि-२० विश्वकपमा छनोटका लागि फेब्रुअरी १८ देखि २४ सम्म ग्लोबल क्वालिफायर हुँदैछ । क्वालिफायर खेलअघि नेपालसहित क्वालिफायर खेल्ने चार देशबीच टि-२० सिरिज पनि हुँदैछ ।

ग्लोबल क्वालिफायर खेल्ने नेपाल रहेको समूह ए मा आठ टोली छन् । ती देशलाई पनि दुई समूहमा विभाजन गरिएको छ । एउटामा नेपाल, ओमान, क्यानडा र फिलिपिन्स छन् । अर्को समूहमा आयरल्याण्ड, युएई, जर्मनी र बहराइन छन् ।

क्वालिफायरको खेलअघि नेपालले ओमान, आयरल्याण्ड र युएईसँग टि-२० सिरिज खेल्न लागेको हो । फेब्रुअरी ११ देखि १४ सम्म हुने सिरिजमा सबै टिमले एक/एक खेल खेल्नेछन् । नेपालले पहिलो खेल फेब्रुअरी ११ मा ओमानसँग खेल्नेछ भने दोस्रो खेल फेब्रुअरी १२ मा युएई र अन्तिम खेल फेब्रुअरी १४ मा आयरल्याण्डसँग खेल्नेछ ।

ग्लोबल क्वालिफायरको तयारी

ग्लोबल क्वालिफायरलाई नै मध्यनजर गर्दै नेपाल क्रिकेट संघ क्यानले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटलाई नै यस पटक टि-२० फर्म्याटमा खेलाएको थियो । त्यही प्रतियोगिताबाट लोकेश बमले उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा स्थान बनाउन सफल भए ।

सिरिज खेल्ने सबै विपक्षीसँग नेपालले यसअघि खेलिसकेको छ । परिचित टिम भए पनि पछिल्लो समय अन्य टिमले धेरै सुधार गरिरहेका छन् । टेष्ट मान्यता प्राप्त देश आयरल्याण्ड बलियो टोलीको रुपमा छ ।

आयरल्याण्डले केही समयअघि मात्रै वेष्ट इन्डिजलाई हराएको थियो । युएई र ओमान पनि भर्खर मात्र ५० ओभरको सिरिज खेलेर आएकाले राम्रो सेटमा छ ।

लामो समय अन्तर्राष्ट्रिय टि-२० क्रिकेट नखेलेको नेपालका लागि यो सिरिजले टि-२० मा एक्सपोजरको अवसरसमेत हुनेछ । ठूलो प्रतियोगिताअघि आफ्नै समूहमा रहेका टिमसँग खेल्दा ‘ठूलो जोखिम’ नहुने तर चुनौतीपूर्ण हुने मुख्य प्रशिक्षक पुबुदु दशानायकेले बताएका छन् ।

कप्तान सन्दीप लामिछानेले पनि यो सिरिज नेपालको मात्र नभई सबै टिमको लागि एक्सपोजरको अवसर भएको बताएका थिए ।

अहिले नेपाली टिममा धेरै युवा खेलाडी छन् र केही नयाँ अनुहारसमेत छन् । त्यसैले चार देशीय सिरिजमा नेपालले विशेष गरी युवा खेलाडीलाई एक्सपोजर दिँदै सकेसम्म क्वालिफायरका लागि बेस्ट प्लेइङ सेट छान्ने लक्ष्य रहनेछ ।

ओमान जानुअघि प्रशिक्षक पुबुदु दासानायकेले पनि यस सिरिजमा सबैलाई अवसर दिने र ग्लोबल क्वालिफायरका लागि उत्कृष्ट खेलाडी छनोट गर्ने बताएका थिए । प्रशिक्षक पुबुदुले आफ्नो योजना अनुसार नै तयारी भएको र टिम राम्रो सेटमा रहेको पुबुदुले बताएका छन् ।

वैशाखपछि टि-२० खेल्दै

नेपालले पछिल्लो पटक घरेलु मैदानमै टि-२० त्रिकोणात्मक सिरिज खेलेको थियो । गत वैशाख ४ देखि ११ गतेसम्म त्रिवि क्रिकेट मैदानमा भएको सिरिजमा नेदरल्याण्ड्स र मलेसिया आएका थिए । त्यसमा नेपालले नेदरल्याण्ड्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।

त्यसको करिब साढे ९ महिनापछि नेपालले पहिलो पटक टि-२० सिरिज खेल्न लागेको हो । डेभ वाटमोरले प्रशिक्षणमा नेपालले पहिलो पटक टि-२० सिरिज खेलेको थियो । त्यही प्रतियोगिताबाट नेपाली ब्याट्सम्यानमा सुधार आएको थियो । जसको प्रभाव अहिले नेपाली ब्याटिङ तुलनात्मक रुपमा राम्रो देखिन्छ ।

त्यस सिरिजमा फाइनलसहित नेपालले नेदरल्याण्ड्ससँग ३ खेल खेलेको थियो । जसमा दुई खेल नेपालले जितेको थियो । यस्तै, नेपालले नेदरल्याण्ड्सविरुद्ध दुई पटक पहिले ब्याटिङ गर्दै दुवै पटक दुई सयभन्दा माथिको स्कोर बनाएको थियो । मलेसियाविरुद्ध पनि एक खेलमा पहिले ब्याटिङ गर्दै दुई सय रनको आँकडा कटाएको थियो ।

त्यही सिरिजबाट दुई ओपनर कुशल भुर्तेल र आसिफ शेखले नेपाली टिममा स्थान बनाएका थिए । भुर्तेलले त सुरुवाती लगातार तीन खेलसहित कूल चार खेलमा अर्धशतक प्रहार गरे । त्यसपछि यो जोडीले ओडिआईमा पनि नेपालको ओपनिङ सम्हालिसकेका छन् ।

तीन नयाँ खेलाडी

पुरानै प्रशिक्षक पुबुदु दासानायकेले नेपाललाई दोस्रो पटक टि-२० विश्वकप पुर्‍याउने लक्ष्यसहित आएका छन् । पुराना प्रशिक्षक अनि नयाँ कप्तान सन्दीप लामिछाने । टिममा तीन नयाँ युवा खेलाडी पनि छन् । हार्डर हिटर लोकेश बम, अलराउण्डर विवेक यादव र युवा स्पीनर सागर ढकाल पहिलो पटक सिनियर टिममा परेका छन् ।

घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा यी खेलाडीले सिनियर टिममा स्थान बनाएका हुन् । ग्लोबल क्वालिफायरका लागि बन्द प्रशिक्षणमा बोलाइएका ३० जनाको सूचीमा नपरे पनि लोकेश प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेपछि सिधै ओमान जाने टिममा परे । विवेक यादवले पछिल्लो पटक घरेलु प्रतियोगिताहरुमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

सागर ढकालले पनि घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । सागर नेपाली टोली ओमान जाने दिन मंगलबारै टिममा थपिएका थिए ।

यी तीन खेलाडी ओमानमा डेब्यूको मौका पर्खेर बसेका छन् र अवसर पाउँदा आफूलाई प्रमाणित गर्न चाहन्छन् । प्रशिक्षक पुबुदु नयाँ खेलाडीलाई अवसर दिन र योजना बनाउन माहिर छन् । यस पटक पनि पक्कै यी खेलाडीले क्वालिफायर अघि चार देशीय सिरिजमा अवसर पाउने सम्भावना छ ।

क्रिकेट नेपाली टोली
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय