२७ माघ, जनकपुरधाम । अर्काको बच्चा अपहरण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषामा आयोजित पत्रकार सम्मेलनमा धनुषाको गणेशमान चारनाथ नगरपालिका- १० कि ३५ वर्षीया मनिषा देवी मुखिया, औरही गाउँपालिका- १ पौडेश्वर घर भई जनकपुरधाम उपमहानगरपालिका-८ बस्ने २० वर्षीया किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालि- ४ घर भई जनकपुरधाम उपमहानगरपालिका-७ बस्ने २२ वर्षीय कृष्णकुमार यादवलाई सार्वजनिक गरिएको छ ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका- ६ महाराज सागर पोखरी छेउबाट बुधबार साँझ करिब ६ बजे मोहम्मद अमिर राइनका ७ महिनाका छोरा अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् ।
अख्तरलाई उनकै दिदी ६ वर्षीया एलिजाले खेलाइरहेका बेला मनिषाले एलिजालाई ५० रुपैयाँ दिएर कुरकुरे किन्न पठाई बच्चा लिएर भागेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी बसन्त रजौरेले बताए ।
बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम उपमहानगरपालिका-१९ बेंगा शिवपुर पिपराढीस्थित खेतमा भाग्दै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको रजौरेले बताए ।
प्रहरीका अनुसार मनिषासँगै रहेको दुई वर्षीया बालिकालाई किरण रामसँगै पठाएर ७ महिने शिशुलाई लिएर मनिषा भागेकी थिइन् । उनीसँग रहेकी दुई वर्षीया बालिका पनि उनको सन्तान नभएको खुलेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
छोरा नभएकाले जसरी पनि छोराको अभिलाषाले मनिषाले अर्काको बच्चा नै चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रजौरेले बताए । पक्राउ परेका कृष्ण कुमारले बच्चा उपलब्ध गराउने भन्दै मनिषासँग १३ हजार रुपैयाँ लिएको पाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूलाई अपहरणसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4