+
+

चर्चित भइसकेका गीत किन आउँछन् नयाँ भर्सनमा ?

‘वास्तविक कलाकारलाई मेट्न खोज्नु हुँदैन’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १२:२४
न बिर्सें तिमीलाई'को नयाँ भर्सनमा रचना रिमाल र 'आगो पिएर बाँच्ने'को नयाँ भर्सनमा प्रशान्त तामाङ

२८ माघ, काठमाडौं । न बिर्सें तिमीलाई न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएँ तिमीलाई

१५ वर्षअघि अञ्जु पन्तको स्वरमा सार्वजनिक यो गजल गीत निकै चर्चित बन्यो । पछि यो गजल मेल भर्सनमा गायक जगदीश समालले गाए । विपिन किरणको शब्द र महेश खड्काको संगीत रहेको यो गजल गीत दुवै भर्सनमा चर्चित बन्यो । गीतको लोकप्रियता अझै उत्तिकै छ । यही गजल गीत केही दिनअघि पछिल्लो पुस्ताकी गायिका रचना रिमालको स्वरमा रि-रेकर्ड भएर सार्वजनिक भयो । गीत सार्वजनिक भएपछि विवादित पनि बन्यो । यसरी रि-रेकर्ड भएर सार्वजनिक हुने गीतको संख्या लामो छ । यसअघि थुप्रै गीतहरु रि-रेकर्ड, रिमेक वा नयाँ भर्सनमा आएका छन् । ‘फूलबुट्टे सारी’, ‘उनको प्रीति’, ‘तिम्रो मन बदलिएछ’, ‘किन यसरी’ पछिल्ला केही उदाहरण हुन् ।

संगीतकार सुरेश अधिकारी नेपालमा गीत रिमेक, रि-रेकर्ड वा नयाँ भर्सनमा ल्याउने क्रम धेरै वर्ष पहिलेदेखि सुरु भएको बताउँछन् । रि-रेकर्ड, रिमेक हुनुका कारण भने धेरै हुने गरेको उनी बताउँछन् ।

कतिपय धेरै पुरानो प्रविधिमा रेकर्ड भएका गीतहरु, त्यसका डिभाइसहरु पुरानो हुँदै गएर त्यो नासिने अवस्थामा पुगेका कारण रि-रेकर्ड भएर सार्वजनिक हुने गरेका छन् । कतिपयले आफ्नो गीतबाट आफ्ना चेला माथि आओस् भन्ने चाहनाले रि-रेकर्ड हुने गरेको पनि अधिकारीको बुझाइ छ । कतिपयले आफ्नो गीतबाट नभएपछि अरुकै गीत गाएर लोकप्रियता कमाउने, कलालाई देखाउने माध्यम बनाएका छन् । पछिल्लो समय भने धेरै गीतहरु व्यावसायिक दृष्टिकोणले रि-रेकर्ड वा रिमेक हुने गरेको अधिकारी बताउँछन् ।

संगीतकार नारायण रायमाझीले आफ्ना केही गीतहरु रि-रेकर्ड गरेर सार्वजनिक गरेका छन् । पुराना गीतहरु श्रोताको मनमा हुने गरेपनि रेकर्ड खोज्दा नभेटिन सक्ने अवस्थामा रहेका गीतलाई रि-रेकर्ड गरेर सुरक्षित गरेको बताउँछन् । उनले ‘उनको प्रीति’, ‘नमुछे आमा दहीमा टीका’, ‘आगो पिएर बाँच्ने’जस्ता गीतलाई रि-रेकर्ड गरेर सार्वजनिक गरेका छन् ।

‘मेरो गीतहरु रेडियोमा जमानामा रेकर्ड भएका गीतहरु छन् । ती गीतहरु कति रेडियोमै पनि छैनन्,’ उनले अनलाइनखबरसँग भने, ‘त्यतिबेलाका सिर्जनाहरु मान्छेको मनमा त हुन्छ, तर रेकर्ड खोज्दा भेटिँदैन । त्यस्ता गीतलाई पुनर्जीवन दिन केही गीत रि-रेकर्ड गरेको छु ।’ आफ्नो लोपोन्मुख सिर्जनाहरुलाई राख्न सकियो भने आगामी पुस्ताले पनि हेर्न र सुन्न सक्ने उनको भनाइ छ । रि-रेकर्ड वा रिमेक गरेर सार्वजनिक गर्दा पुराना स्रष्टालाई ‘के्रडिट’ दिन भने अत्यावश्यक रहेको रायमाझीले बताए ।

‘ओरिजिनल गायक-गायिकाको’ पहिचान मेट्नु भएन’

संगीतकार सुरेश अधिकारी । तस्वीर : सुरेश अधिकारीको फेसबुकबाट

रचनाको स्वरमा सार्वजनिक ‘न बिर्सें तिमीलाई’मा पहिलो गायिका अन्जु पन्त र गायक जगदीश समालको नाम उल्लेख नभएकोमा निकै आलोचना खेप्नुपरेको थियो । स्वयं अन्जुले पनि दुःख लागेको बताएकी थिइन् । आलोचनापछि अहिले भिडियोमा अन्जु र जगदीश समालको नाम उल्लेख गरिएको छ ।

संगीतकार सुरेश अधिकारी गीतका पहिलो गायक-गायिका वा अन्य स्रष्टाहरुको नाम उल्लेख नगरी नयाँ भर्सन सार्वजनिक गर्नु साह्रै दुःखलाग्दो भएको बताउँछन् । भोलिका दिनमा यस्तैगरी अन्य गीतहरु आउँदै जाने हो भने वास्तविक स्रष्टाहरुको अस्तित्व मेटिन सक्ने उनी चिन्ता व्यक्त गर्छन् ।

‘नयाँले पुराना स्रष्टाको गीत गाउनै हुँदैन भन्ने पक्षमा म छैन,’ अधिकारीले अनलाइनखबरसँग भने, ‘तर ओरिजनल गायक/गायिकाको पहिचान नै मेटाउने गरी उनीहरुलाई नसम्झी, स्रष्टाहरुको अनुमति नलिई चाहिं ल्याउनुहुँदैन ।’

गायिका/गायिकाले वर्षौं खारिएर, साधना गरेर आवाज तयार पार्ने भन्दै त्यो कुरामा ध्यान दिनुपर्ने उनी बताउँछन् । उनी अगाडि भन्छन्, ‘एउटा गीत गहन र अर्थपूर्ण बन्न गीतकारको जति योगदान हुन्छ, त्यसलाई मिठास बनाउन संगीतकारले त्यत्तिकै मेहनत गर्नुपर्छ । उक्त सिर्जनालाई सुमधुर आवाजमा पस्किन गायक-गायिकाले आफ्नो जीवनभर साधना गरी खारेर तयार भएको आवाज मार्फत योगदान गर्छन् अनि मात्रै श्रोताले ‘वाह’ भन्ने हो ।’

संगीतकार बीबी अनुरागी पनि नयाँ भर्सन ल्याउन नमिल्ने नभएपनि गीतको पहिलो स्रष्टालाई बिर्सन नहुने बताउँछन् । आफ्नो अधिकारमा रहेका गीतहरु मन लागेको गायक/गायिकालाई गाउन लगाउन पाउने भएपनि सुरुवातमा गाउने गायक-गायिका वा स्रष्टालाई बिर्सनु गल्ती हुने अनुरागीले बताए । आफूसँग कपिराइट रहेको गीत कानुनी रूपमा अरुलाई गाउन दिनु गलत नभएपनि नैतिकताको कुरालाई भने ध्यान दिनुपर्ने उनको भनाइ छ । उनी गीत सार्वजनिक भएको केही वर्षमै रिमेक ल्याउनु भने आवश्यक नरहेको धारणा राख्छन् ।

संगीतकार बीबी अनुरागी । तस्वीर : बीबी अनुरागीको फेसबुकबाट

आफूसँग कपिराइट रहेका गीत सयौं भएपनि अहिलेसम्म कुनै गीत रि-रेकर्ड वा रिमेक नगरेको अनुरागी बताउँछन् । धेरैले आफूसँग रिमेकको प्रस्ताव लिएर आउने गरेपनि उनी नयाँ बनाएर पठाउने गरेको बताउँछन् ।

‘क्रियटरको धर्म भनेको क्रियसन गर्नु हो । हिटको पछि लाग्नु, भाइरलको पछि लाग्नु भन्दा पनि खुरुखुरु नयाँ क्रियसन गरेर राख्ने हो । चलेपनि नचलेपनि नयाँ भनेको नयाँ हो,’ उनले भने । उनले धेरै वर्षपछि रिमेक हुनु स्वभाविक भएपनि अफिसियल गीत सार्वजनिक भएको छोटो समयमै रिमेक हुनु बजारकेन्द्रित मानसिकता भएको बताए । ‘रिमेक भनेको त कम्तिमा पनि ३०-४० वर्ष पछाडि गर्नुपर्छ जस्तो लाग्छ । जब प्रविधि पनि एकदमै फरक भएर आउँछ, गायक-गायिकाहरु पनि विल्कुलै फरक वा खारिएर आउँछन्,’ उनले भने, ‘त्यतिबेला हामीले आफ्नो सिर्जनालाई नयाँ रुपमा ल्याउने हो । त्यो बेला लाइभ रेकर्ड गरेका गीतहरु रिमेक गर्दा राम्रै होला । तर १० वर्षअघि र अहिलेको प्रविधिमा त्यस्तो धेरै अन्तर छैन ।’

संगीतकार अधिकारी पनि पछिल्लो समय बजार केन्द्रित भएर रिमेकको ‘ट्रेन्ड’ मौलाएको बताउँछन् । उनी रिमेक हुनु गलत नै नभएपछि मनपरी गर्न भने नहुने दोहोर्‍याउँछन् । जिन्दगीभर साधना गरेर गाएका गीतहरुबाट गायक/गायिकाको नाम मेटिने अवस्था रह्यो भने त्यो निकै अन्यायपूर्ण हुने अधिकारीले बताउँछन् । उनी सर्जक वा लगानीकर्ताहरुले मनपरी गर्दै जाने र पैसामुखी हुँदै गए भोलिका दिनमा अग्रज गायक÷गायिकाका धेरै गीतहरु बिनाअनुमति रेकर्ड भएर उनीहरुलाई छायाँमा पार्ने गलत काम हुन सक्ने बताउँछन् ।

‘मानौं, तारादेवीको गीत गाएर लाखौं गायिका जन्मिन सक्छन् भने त्यो राम्रो हो भनेर मानिसहरुले भन्लान् तर तारादेवीको नाम मेटिदिएर ती गायिकाहरुको गायिकी हो भनेर सार्वजनिक भयो भने त्यो कतिसम्म अन्यायपूर्ण हो ? कति बिडम्बनापूर्ण हो ?’ उनी प्रश्न गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?