+
+
कथा :

रानीसाहेब

लक्ष्मण सिटौला लक्ष्मण सिटौला
२०७८ माघ २९ गते १३:००

ब्रिगेडिएर जर्नल कबिन्द्रबहादुर शाहीको सुरक्षागार्ड थिएँ म। त्यतिबेला जतिबेला यो रमाइलो घटना घट्यो जिन्दगीमा। सेक्युरिटी गार्डमा म सुबेदार मेजर थिएँ र मेरै कमान्डमा थिए अरु चार जवान सिपाही। म दिपेन्द्र ढकाल। कान्छी रानीसाहेबको मन पर्दा बोलाउने दिपु र राजासाहेबले मन पर्दा बोलाउने नाम बाजे।

बाहुन भएको नाताले मैले विशेष सुविधा पाएको थिएँ। उहाँका दुई रानी थिए। कान्छी रानी पाल्पा रिडीकी। पाल्पाको कमान्ड हुँदा उतै बिहे गर्नुभएको। जेठी रानी गोरखा सिरानचोककी थिइन्। रानीसाहेबहरु पनि उत्तिकै मजाका र दयालु थिए। दुई सौतामा कहिल्यै झगडा हुँदैनथ्यो। वास्तवमा जहाँ अभाव छ त्यही हुने त हो झगडा पनि। खाली भाँडो नै त हो बज्ने पनि। पानीले भरिएको गाग्री कहिले बज्छ र ?

कबिन्द्र सर- विचार, मन, धन, धर्मकर्म सबै कुराबाट अति सम्पन्न  व्यक्ति हुनुहुन्थ्यो। मैले जाने बुझेसम्म उहाँले आफ्ना सिपाही र अर्दलीहरुलाई कहिल्यै पनि गाली गरेको सुनेको छैन। भान्सा म सम्हाल्थें जो बाहुन परें। उहाँहरु क्षेत्री भए पनि बाहुनले तयार गरेको भान्सामा नै रमाउने। म शाकाहारी थिएँ। त्यसैले सिकार र माछामासुको परिकारको जिम्मेवारी चैं भीम रानाले पाएको थियो।

भीम राना जेठी महारानी सिरानचोकका माइती गाउँले भाइ थिए। हरेक शुक्रबार त्यो घरमा भव्य  पार्टी हुन्थ्यो। पाल्पा रिडीकी कान्छी महारानी मसँग नजिक थिइन्। भीम राना जेठी महारानीसँग नजिक थिए। रानीसाहेबहरु कहिल्यै रिसाएको र झगडा गरेको देखिएन। जेठी रानीसाहेबका दुई छोरा अमेरिकामा पढिरहेका थिए। अमेरिकी सोसाइटीको कारण पनि त्यो घर पूर्ण आधुनिक थियो।

लामो छुट्टीमा जेठा छोरा अमेरिकाबाट आउँथे। एक दुई महिना रिल्याक्स गरेर फर्किन्थे। उहाँको नेपालमा एक दुइटी गर्लफ्रेन्ड थिए। शुक्रबारको पार्टीमा घरमा ल्याउँथे। आफैंसँग राख्थे नाचगान रमाइलो मोजमस्ती गरिसकेपछि  आइतबार पुर्याइदिन्थे। हामी सिपाहीहरु अचम्म मान्थ्यौं कि बिहे नगरिकनै कसरी अर्काकी छोरीलाई आफूसँग दुई दुई दिन राखेर फेरि घरमै पुर्याइदिन सकेको होला भनेर। बसुन्जेल हरेक शुक्रबार हुने घरको निजी पार्टीमा उनी गर्लफ्रेन्ड फेर्थे। महिनाको पहिलो शुक्रबार आएकी गर्लफ्रेन्डलाई एकैपटक तेस्रो पार्टीमा बोलाउँथे।

पदले मभन्दा भीम जुनियर भए पनि हामी दुई जनाको गफ असाध्य मिल्थ्यो। घरमा रमाइलो थियो। हामी पाँच  जना सिपाहीको मेस अलग्गै थिएन। सबै जना सँगै खान्थ्यौं। खाना खाने बेलामा कबिन्द्र सरलाई सबै जना अगाडि हुनुपर्थ्यो। विना मासुको भान्सा हुँदैनथ्यो। त्यसले गर्दा पनि भीम हरेक दिन मसँग हुन्थ्यो। कान्छी रानीसाहेब वाइन मज्जाले पिउथिन्। जेठी खासै पिउन्नथिन्।

अरु सिपाहीहरुलाई सबैको अगाडि पिउने छुट थिएन। कबिन्द्र सरले शुक्रबार भएपछि एउटा रेडलेबल व्हिस्की दिन्थे सिपाहीहरुलाई। उनीहरू बेग्लै रमाइलो गर्थे। पाल्पा रिडीकी कान्छी महारानी तर्फबाट बच्चा भएको थिएन। सायद जेठीपट्टि दुई दुई छोरा भएपछि बिहे गरेको हुनाले सन्तान नजन्माउने शर्त हुनुपर्छ। कान्छी मस्त तरुनी थिइन्। बच्चा नपाएका स्त्रीहरु बुढी नदेखिनु प्राकृतिक नै होला।

कबिन्द्र सरको सबै कुरा त राम्रो हो तर एउटा कुरा चाहिं उनी आफूलाई अलिक बढी मर्दाङ्गी देखाउँथे। अर्थात् उनी अलिक रसिक र तरुनी  केटीहरुका प्यारा थिए। अमेरिका जाँदा पनि नाइट क्लब चैं बसुन्जेल जान्थे रे!  पैसा जति पनि छ। खर्च गर्नलाई अनि के भो र!

अमेरिका आउने–जाने गर्दागर्दै कबिन्द्र सरलाई नेपालमा पनि नाइट क्लब जाने बानी परेको हुनुपर्छ। म उनको सेक्युरिटी गार्ड। गाडीमा प्रायः सँगै हुन्थें। र मलाई कुनै कुरा पनि ढाँट्न सक्तैनथे।

पाँच बजे कार्यालय छुटेपछि उनी बानेश्वर चोकभित्र हामीलाई एकछिन है म आइहाल्छु भनेर दुई घन्टा कुराउँथे। फर्किंदा तरुनी केटी गाडीसम्म छोड्न आउँथिन्। एकदिन एउटी आउँथिन् अर्कोदिन अर्कै। पालो पालो गरेर नयाँ नयाँ मुहार हामी पनि देख्न पाउँथ्यौं।

“तिमीहरूलाई पनि लोभ लाग्यो क्या हो मोरा हो” भन्दै गाडीमा बस्थे।

यो क्रम चलेको करिब ६ महिना भैसकेको थियो। यही बीचमा जेठी रानी अमेरिका सवारी हुनुभएको थियो। कबिन्द्र सर जेठीसँग चाहिं असाध्य डराउँथे। उनको अगाडि पूरा नियममा चल्थे। तर कान्छी रानी चैं कबिन्द्र सरलाई अलिक हेप्थिन्। सायद लभ गरेर ल्याएको भएर पो हो कि! जेठी अलिक रिजर्भ हुनुहुन्थ्यो। कम बोल्ने। तर सबैको ख्याल गर्ने। कसले खायो कसले खाएन, कसलाई के दुख परेको छ, को छुट्टीमा जान खोजिरहेको छ, कसलाई खर्चको जरुरत छ, सब हेर्नुहुन्थ्यो। अमेरिका गएपछि यता हामी पनि अलिक टुहुरा जस्तै बनेका थियौं।

एकदिन- “आज नगरकोटमा पार्टी छ बाजे। कान्छी रानीसाहेबलाई खाना बनाउनुपर्छ म ढिलो भो भने उतै नगरकोट पोस्टमै बस्न सक्छु” भनेर निस्कनुभो। आज भीम पनि जावलाखेल गयो।

अरु तीन  जना सिपाही कान्छी रानीसाहेब र म मात्रै हो भुजा खाने। बेलुकी ४ बजेतिर रानी साहेबलाई फोन आयो– आज कबिन्द्र सर नगरकोटमै बस्ने भनेर। भीमले पनि फोन गर्यो उ फुपूको घरमा बस्ने भनेर। मैले भेज खाना बनाएँ। आज मासुको परिकार थिएन। कान्छी रानीसाहेब भान्सामा सवारी भो। मलाई कहिले ए बाजे भनी मर्जी हुन्थ्यो कहिले दिपु भनेर सम्बोधन गर्नुहुन्थ्यो। मलाई बाजे भनेर सम्बोधन गर्दा पनि मजा लाग्थ्यो अनि कहिलेकाहीं कबिन्द्र सर नभएको बेलामा दिपु भनेर बोलाउनु हुँदा पनि झन् मन पर्थ्यो। आज चै दिपु…

“हजुर रानीसाहेब।”

“राजा भुजा ज्युनार गर्न आइसिन्न नि थाहा पायौ?”

“हजुरले मर्जी भो बल्ल थाहा भो।”

“आज त भेज होला है।”

“हजुर।”

“अनि नन भेज खानलाई राजा साहेब नै हुनुपर्ने हो र तिम्रो रानीसाहेब देखेनौ लाटा ?”

“आज भीम नआउने रे फुपुकोमा गा’छ। हजुर कालिज खाने  मर्जी हुन्छ भने म तातोपानी तताउँछु र झक सिंलाई खोरको  कालिज बनाउन लगाउँछु नि हुन्न?”

“हुन्छ त्यसै गर आज हामी पनि वाइन पिउने  हो।”

“फेरि राजा टुप्लुक्क आइबक्स्यो भने।”

“म छु नि बाजे किन चिन्ता लिन्छौ।”

“हस्।”

“तिमी पकाउँदै गर म माथि बेडरुममा हुन्छु।”

“सवारी होस् म बेडरुममा सबै कुरा लिइआउँछु।”

मैले पानी तताएँ। झक सिंले कालिज बनायो। भुजा तयार भो। सिपाहीहरुलाई खाना खान दिएँ। रानीसाहेब र म मात्रै बाँकी। फ्रिजबाट वाइन निकालें। रानीसाहेबलाई कालिजको फ्राई मासु र वाइन लिएर गएँ। आफ्नो शयन कक्षमा आराम गरिरहनुभएको रहेछ। टेबुलमा वाइन र फ्राई मासु राखेर म तल भान्सामा जान लाग्दा-

“बाजे आज सँगै वाइन पिउने ल ?…. ” मलाई अप्ठ्यारो लाग्यो। हुन्छ हुन्न केही भन्न सकिनँ। र भर्याङबाट छिटो छिटो तल ओर्लिएँ। छोप हालेर बनाएको आलुको अचार, किसमिस, पाकिस्तानी पेस्ता, भुटेको बदाम, कालो अङ्गुर र पापड लिएर गएँ। कोठाको वासना आज अर्कै थियो। बेलायती पर्फ्युम छरिबक्सेछ। मधुर रङ्गिन क्यान्डिल जलाइ बक्सेछ।

“अघि नबोली गयौ त दिपु सिपाहीहरुलाई खाना दियौ ?”

“दिएँ हजुर।”

“अब तिमी र म आज सँगै खाने पिउने।”

“मलाई त लाग्छ हजुर नपिउँ कि। हजुर एक्लै पिइबक्स्योस् म हेर्छु।

“नलागे पिएको के मजा त बाजे अघिपछि पनि त राजासाहेब हुँदा सँगै पिएको हो नि। अलि अलि लागेपछि मेरो मुखमा पुलु पुलु  घुरेर हेर्थ्यौ त अनि आज किन डराएको?”

“हजुर एक्लै होइबक्सिन्छ लाग्दै जाँदा कथंकदाचित्त म हजुरको  मर्यादामा रहन सकिनँ भने नि…”

“म माफ दिउँला नि किन चिन्ता?”

“केही गरी राजा साहेब आइबक्स्यो भने नि? त्यतिबेला मेरो गर्दन भुइँमा हुन्छ।”

“चिन्ता नगर उहाँको कमजोरी मलाई थाहा छ म जोगाउँछु।”

“म आजसम्म मर्यादामा रहें रानीसाहेब।”

“दिपु ! मलाई तिमी मन पर्छ। कबिन्द्र साहेबको चिन्ता छोड। स्त्रीलाई पुरुषको दासी भन्छन् त्यो गलत हो। यहाँ यस्तै भ्रम  छरिन्छ। पुरुष चैं महिलाको दास हो। यदि मन परेको छ भने  स्त्रीको जस्तोसुकै गल्ती र अपराधलाई पनि पुरुषले माफ दिन्छ।”

“ओहो हजुर कडा। पाल्पाली सेन वंशकी छोरी पो त है।”

“आज तिमी र म मात्रै यहाँ कसले सुन्छ र हाम्रो कुरा।”

“के मर्जी भा’को भित्ताको नि कान हुन्छ रे नि त।”

“कान मात्रै हुने तर नसुन्ने कान त्यो मासुको पाते डल्लोको के अर्थ  आँखा मात्रै हुने तर दृश्य नदेख्ने आखाको नानी के काम? जिब्रो  मात्रै हुने स्वाद थाहा नपाउने जिब्रो के काम? ओठ मात्रै हुने तर मुस्कान मरेको ओठको के काम? मुटु मात्रै हुने धड्कन विनाको  मुटु जो मृत मासुको डल्लोको के काम? सबै सबै चिजको समय अनुसारको काम हुनुपर्छ दिपु। पुरुष पुरुष जस्तै हुनुपर्छ। स्त्री  स्त्री जस्तै हुनुपर्छ। स्त्री जस्तो पुरुष र पुरुष जस्तो स्त्री भएर  के काम ?

रानीसाहेबलाई आज वाइन मज्जाले लाग्यो। आजसम्म भन्न नसकेको कुराहरू खोलिस्यो। बाहिर हाँसे पनि मान्छेको भित्री जलन त लुकाएर राख्नुपर्ने हुन्छ। म आफ्नो मर्यादामै बसें। उहाँ एक्लै हुँदा पिउन पनि सकिनँ। उहाँको सुरक्षामा खटिएको एउटा सिपाही हुँ म अनि मैले नै लक्ष्मणरेखा उल्लंघन गरें भने यो दुनियाँ कसरी चल्छ? रानीसाहेबलाई खाना खुवाएर जब म तल ओर्लिंदै थिएँ एक्कासि रानीसाहेबले मेरो हात च्याप्प समाउँदै मलाई एकोहोरो हेर्नुभो र भन्नुभो- “दिपु तिमी मलाई असाध्य मन पर्छ।”

म कन्फ्युज भएँ। मेरो आनीबानी बोली व्यवहार व्यवस्थापन र मेरो असल चरित्रलाई मनपर्छ भन्नुभएको हो कि मेरो पुरुषपनलाई मन पर्छ भन्नुभएको हो केही बुझिनँ। सदाझैं आफ्नै ओछ्यानमा सुतें। निदाएछु। भोलिपल्ट घामको न्यानो झुल्कोसँगै रानीसाहेबलाई चिया लिएर शयनकक्षमा पुगें।

“दिपु हिजो मैले केही गडबड त गरिनँ नि है?”

“गरिबक्सेन।हिजो हजुर शान्त रहनु भो। मलाई मनको पीडा  पोख्नु भो। सबै खानेकुरा मीठो मानी ज्युनार भो खुसी लाग्यो।”

“तिम्ले वाइन पिएनौ नि किन?”

“कुनैदिन पिउँला नि किन चिन्ता लिइबक्सिन्छ।”

म भान्सामा गएँ। भीम आइपुग्यो। कबिन्द्र साहेब उतैबाट अफिस गइबक्सिन्छ रे। आज सोलारले काम गरेन। रानीसाहेबलाई नुहाउन तातोपानीको व्यवस्थापन भयो। भीम तातोपानी लिएर शयनकक्षमा गयो।

कबिन्द्र सर कहिलेकाहीं कान्छी महारानी लिएर रातिराति क्लब जाने भनेर निस्किनुहुन्थ्यो। त्यो बेला गाडी आफैं चलाउनुहुन्थ्यो। चालक जाँदैनथ्यो। कतिबेला आएर सुत्थे हामीलाई थाहै हुन्थेन। ठूलो घरको बडै चाला। एक दिन खाना पकाउने क्रममा मलाई भीमले एउटा जिज्ञासा राख्यो-

“सुबेदार मेजर साहेब! सुन्नु न यो गर्लफ्रेन्ड श्रीमती साटासाट गर्ने क्लब पनि छ रे नि काठमाडौंमा हो त?”

“हैट कसरी साट्ने हो? कसले भन्यो तँलाई मूर्ख?”

“हो रे क्या सर ! पत्याउनु न। सधैंलाई होइन नि एक दुई  घन्टालाई। रमाइलो गर्ने क्लबमा रे। भीआईपी व्यक्तिहरु मात्रै।”

“लु पत्याइनँ। नजाने गाउँको बाटो नसोध सिपाही भएर।”

“साहेब त्यता जान पो पल्केका छन् कि क्या हो हँ सर।”

“गए त गए युद्धमा जान पो हुन्नथ्यो प्रेममा जान के भो त?”

बेलुका पटक्कै निद्रा परेन। यो मोरो भीमले आज अनौठो कुरा पो गर्यो बा। आधा पत्याउन सकिने आधा चैं संभावना नै नभएको जस्तो पो कुरा। पिउने बानी पनि छैन। कुनै कुराको पनि अम्मल छैन। घर नगएको पनि ६ महिना भैसकेको छ। आमाले बिहे गर्ने भन्दा पनि सेकेन्ड लफ्टन भएसि मात्रै गर्छु भनेर टार्दै आएँ। राजा साहेबले छुट्टी दिए पनि कान्छी रानीसाहेबले नजानु भन्नुहुन्छ। हिजो खाना खाँदा पनि तिमी मलाई असाध्य मन पर्छ भन्नुहुन्छ। फेरि कबिन्द्र साहेबको पनि धेरै नजिक छु। सबै जिम्मेवारी मेरै थाप्लोमा छ। ठूली रानीसाहेब अमेरिका गएपछि यो घरमा मनलाग्दी चल्छ। न कबिन्द्र साहेब नै आफ्नो लाइनमा न कान्छी रानीसाहेब आफ्नो अनुशासनमा। लोग्ने नभएको बेलामा एउटा पुरुषसँग सँगै बसेर वाइन पिउँ भनेर भन्ने स्वास्नीमान्छे कति साहसी ! आम्मै खै मैले त केही भन्न सकिनँ। मैले पनि आफ्नो दायित्व बिर्सिदिएको भए के पो हुन्थ्यो हैट्….

सोच्दासोच्दै कतिबेला निदाएछु पत्तै भएन। एकैपटक बिहान खोरको भाले बासेपछि पो झस्किएँ।

शुक्रबारको रात। घरमै पियौं हामी तीनले त्यो दिन। राजासाहेब रानीसाहेब र मैले। मलाई रानी साहेबले कर गरिस्यो।

दुई गिलास रातो वाइन पिएँ। राजा र रानीसाहेब त फिट्टु। पिउँदा पिउँदै मात्तिंदै गएपछि खै राजा साहेबलाई के सनक चढ्यो अचानक चालक बोलाउ घुम्न निस्क्यौं भन्नु भो।

रानीसाहेब तयार होइबक्स्यो। मैले लुगा चेन्ज गरें। हामी निस्क्यौं। रातको एघार बजिरहेको थियो। सडकमा गाडी चल्न छोडिसकेको थियो। पुल्चोक कटेकोसम्म थाहा छ जावलाखेलको कुनै गल्लीभित्र घुसेपछि एउटा भव्य घरभित्र छिर्यौं हामी। सबै जोडी झुमेर नाचिरहेका। पिइरहेका। कस्तो अचम्मको ठाउँ रहेछ यो।

राजा हातमा  एक गिलास वाइन लिएर एउटी भर्खरैकी तरुनीसँग नाच्न थाल्नुभो। म र रानीसाहेब सँगैथियौं। “कहाँ हो महारानी” मैले साउती गरेर सोधें। एकै छिनमा बत्तीको लाइन गयो। हल अन्धकार भो। बजिरहेको गीत बज्न छोड्यो। मानिसहरूको एकाएक सन्नाटा सुरु भो। त्यो हल विस्तारै खाली हुन थाल्यो। अँध्यारोमा जोडी मिलेर अन्त कतै अर्को स्थानमा यात्रा गरे जस्तो भान हुन थाल्यो। जोडी  छायाँहरु नदी जस्तै बग्दै महासागरतर्फ बगेजस्तो लाग्न थाल्यो। म एक्लै थिएँ। अलमलिएँ।म बेजोडी आएको। राजासाहेब पनि देखिनँ रानी साहेब पनि देखिनँ।एकै छिनमा एउटा कोमल हातले स्पर्श गरे जस्तो लाग्यो। हातले हातमा च्याप्प समात्यो। मुहार  चिनिनँ। कपाल लामो छ। त्यो हातले समातेर मलाई खै अर्कै संसारमा लगे जस्तो लाग्यो। कोठामा चुकुल लागेपछि पो झल्यास्स सम्झें भीमले भनेको त्यो क्लबको बारेमा। केही बोलिनँ। निशब्द भएँ।मदहोशी भएँ।

पन्ध्र मिनेटपछि  परिचित आवाज विस्फोट भो— “दिपु! साहेबलाई केही नभन्नु है मेरो प्यारो मान्छे।”

“हस् रानीसाहेब!”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?