+
+
मुगु डायरी-४ :

आतिथ्य भरे भर्सेलै परोस् !

तिलक पौडेल तिलक पौडेल
२०७८ फागुन ७ गते १९:०२

लगत्तै मीनपचासको बिदा सुरु भयो। धैनबाट गमगढी हुँदै जुम्ला निस्कँदा चार दिन पैदल हिंड्नु पर्थ्यो। शाही नेपाल वायु सेवा निगमको मात्र हवाईसेवा सञ्चालन थियो। टिकटमा मारामार हुन्थ्यो। दिपेन्द्र जुम्लामा हुँदा टिकटको व्यवस्था मिलाइदिन्थे। धैनबाट बिदा भएर हिंड्दा वरसम्म आई भलो गडी बाइजाउ है माइठर, हाँटै आया है ज्यू, … (राम्रोसँग जानुहोला है सर ! चाँडै आउनुहोला है) भन्दै टाटे चिउला, हलुवा राडेर (पुरी, हलुवा बनाएर) कोसेलीपात दिएर विवाहित छोरीलाई घर पठाउँदा जस्तै बिदा गरेको क्षण अद्यापि अविस्मरणीय छ।

अँ ! विवाहित छोरी र ज्वाइँ घरमा आउँदा घरका जहानले दूध, दही भात खाने तर छोरीज्वाइँले केवल तिहुन र भात मात्रै खाएको/खान दिएको दृश्यले मलाई नौलो अनुभव गराएथ्यो। कारण के रहेछ भने– माडु (देवताको मन्दिर) मा सात पटक घुमाएपछि त्यस्ता गाईवस्तुलाई कैली गाई, कैली भैंसा भनिंदो रहेछ र त्यस्ता गाईभैंसीको दूध दही घरका जहानबाहेक विवाहित छोरीज्वाइँले पनि खान नहुने चलन थियो। सनातनी रूपमा चलेका चलनप्रतिको दृढता र आत्मसात् ! आतिथ्य भरे भर्सेलै परोस् !

दाह्री काटेको पहिलो अनुभव

पहिलो वर्षको मीनपचासको बिदा धैनको कोटमा एक जना शाहीको घरमा बसेर केटाकेटी पढाएर बिताएँ। जसको कारण कोटाली ठकुरीहरू पनि मेरा आनीबानीबाट प्रभावित भएको पाउँथें। बाटामा बढेको तथा पानीको नाउला वरिपरिको झारलाई साप्ताहिक रूपमा उखेलेर सफा गर्नुपर्ने, बिग्रेको बाटो तत्कालै सज्नुपर्ने जस्ता बानीहरू पढ्न आउने केटाकेटीहरूमा विकास भएको थियो।

कास्कीका भूपेन्द्रबहादुर रानाभाट दाइ कोटको प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुनुहुन्थ्यो। मद्यपान एवम् धूमपानमा सुर्तीसम्म खाने उहाँ कहिलेकाहीं धैनमा झरेर किट्टी (तासको खेल विशेष) खेल्नुहुन्थ्यो। खै ! मेरा के बानी व्यहोराहरू मनपरे, सँगै बस्ने-सुत्ने पाल्पाका झविन्द्र ज्ञवाली दाइ र उहाँले मलाई साह्रै माया गर्नुहुन्थ्यो। दाह्री नपलाएको मेरो अनुहारमा सुरुमा २०३९ साल वैशाख १७ गते शुक्रबार दिउँसो ३ बजे ज्ञवाली दाइले ब्लेडद्वारा दाह्री काटिदिनुभएथ्यो। बेला-बेलामा डाकेर म त बुढो भएँ, तिमी आउन अलि राम्रो बनाउँछु .. भन्दै दाह्री कपाल मिलाइदिनुहुन्थ्यो।

फेरि भूपेन्द्र दाइले साप्ताहिक÷पाक्षिक रूपमा कोट डाक्नुहुन्थ्यो र टाटे-च्यूला, खीर (धैनको बाहुन गाउँमा कैली गाई र भैंसी भएकाले दूध, दही खान पाइँदैनथ्यो) को व्यवस्था मिलाई मैतालु छोरीलाई जस्तो मेजमानी ख्वाउनुहुन्थ्यो। यतिसम्म कि मैले (यस पिरियड) घोषणा गरेको वर्षमा चुरोट-चरेस खाने हुँदा नखाए हुन्थ्यो क्यारे ! भाइको खाने बानी छ भनेर अलिकति अत्तर/चरेसको व्यवस्था छ, खाना खानुअघि खाने कि पछि ? भन्दै दिनुहुन्थ्यो।

एकपटकको कुरा हो, खाना खाईवरी सुत्ने बेलामा मैले चुरोटमा चरेस भरें र खान थालें। भूपेन्द्र दाइले हैन यो रक्सी, चरेस खाँदा के मजा हुन्छ र यसरी खान्छौ हँ ? भन्नुभयो। मैले पनि खाई हेर्नु न त, लागेछ भने पनि अब दाजुभाइ सुत्ने न हो ! …भनी खान हौस्याएँ। दाइले पनि एक-दुई सर्को तान्नुभयो र घुप्लुक्क सुत्नुभयो। म पनि उहाँसँगै सुतें।

जाडो ठाउँ, धैनमा पनि ज्ञवाली दाइसँग गुडुल्किएर सुत्थ्यौं। एकछिन पछि त भूपेन्द्रदाइ आफू उठेर खाटमा बस्नुभयो र मलाई उठाउनुभयो तिलक ! उठ-उठ, भुइँचालोले हो कि भास्सियो ह्यार ! मैले भनें दाइ तपार्इंलाई चरेस लाग्यो, भास्सिएको छैन, तपाईंलाई त्यस्तो अनुभूति भएको हो ! फेरि एकछिनपछि मलाई समेत गँजेट्दै खाटको बीटमा जोडले समाउनुभयो र मलाई भन्नुभयो ए तिलक ! तिमी पत्याउँदैनौ ह्यार, हेर त उडायो मलाई त !… हात फुत्काउँदै मैले भनें दाइ आज तपाईंलाई चरेस राम्रैसँग लाग्यो, केही छैन, मलाई ग्वाम्म अँगालो हालेर निदाउनुहोस् । बानी नपरेका अङ्गप्रत्याङ्गहरूले नवीन चीजबीज प्रयोगप्रतिको प्रतिवाद !

अन्तिम पर्दा मानवलाई मानवकै सहाराको जरुरी !

मीनपचास बिदापछि विद्यालय खुलिसक्दा घरतिर आएका सबै सरहरू फर्किसकेको थिएनन्। हेडसरले आफू एकैचोटि दशैं बिदा पछि आउने हुँदा निमित्त हेडसर भई काम गर्ने खबर प्राप्त भयो। सोही बमोजिम भदौको अन्तिमतिर तलबभत्तादि निकाल्न म गमगढीतिर हिंडे। धैनबाट खाना खाएर हिंडी कालैमा पुगेर बास बसें। कालैमुनिको झोअँलो (बावियाका लट्ठाहरूको झोलुङ्गेपुल, ४÷५ फिटका काठका टुक्राहरूमा ३÷३ वटा प्वाल पारी लट्ठाहरू छिराई तल हिंड्ने गराइएको र माथि दुई छेउमा लट्ठा तन्काइएको) देख्दा तर्ने अनुभव गर्न पाए भन्ने कल्पना भएथ्यो।

जेहोस्, भोलिपल्ट चाँडै खाना खाई गिलाहाँ हुँदै कच्चे आइपुगें। दुर्भाग्य ! सुम्लीको लाप्को (बावियाको लट्ठामाथि काठ र माटो राखिएको साँघुजस्तै) कर्णालीले बगाएको रहेछ। अब फूलीको उकालो २÷३ घण्टा उक्लेर नियाले हुँदै गमगढी जानुपर्ने बाध्यता भयो। बिल्कुल एक्लै त्यो नयाँ बाटोमा पयर बढाएँ। करिब २:३० घण्टा हिंडिसकेर उकालो काटें। संयोग, त्यहाँ एउटा भालुले कागुनु खाइरहेको दृश्य देखियो। त्यो दृश्यले मेरो सातो गयो। धन्य मानव मस्तिष्क ! कति चाँडो चल्दो रहेछ कुन्नि ? सर्प देखे रुख चढ्नु, भालु देखे तलतिर दगुर्नु भन्ने उखान स्मरण भई म बेपत्तासँग तलतिर झरें। पछाडि हेर्नसक्ने हिम्मत गुमिसकेको रहेछ। खुट्टाम्दो ठेस लगाउँदै तुलनात्मक रूपमा हिंड्न मिल्ने स्थान हुँदै ओह्रालो लागेको त म पुनः कर्णालीको तीरमा पो पुगेंछु। म भएतिर ठूलो पहरोलाई कर्णालीको हल्काले हानिरहेको थियो। ठूलो सास लिएर एउटा ढुङ्गामा बिसाएँ। शरीर असिनपसिन भएको थियो। विचरा भालु ! मेरै पछाडि किन पो लाग्थ्यो र ? ठाउँ सुनसान थियो, कर्णालीको आवाजबाहेक चरासम्म कराएको सुनिन्थेन।

अब पुनः उकालो उक्लिनु बाहेक मसँग विकल्प थिएन। शरीर थकित थियो। भोक पनि लागिरहेको थियो। बाटो सुनिश्चित थिएन तापनि पयर बढाउनु अनिवार्य थियो। भदौको महिना झारपातहरूले बाटो नै भए पनि ढाकेका थिए। म नौलो व्यक्ति अपरिचित परिवेशमा भोक र अनपेक्षित हिंडाइले लखतरान शरीर अस्पष्ट बाटोमा हिंडाइरहें, हिंडाइरहें। साँझ पर्नै थाल्यो, तर तेर्सो बाटोमा पुगिरहेको थिइनँ। जेहोस्, झम्के साँझमा म एउटा खर्कनेर पुगें। जहाँ ८–१० वटा खरका छाना भएका गोठहरू देखिन्थे। ठूलो आधार प्राप्तिको महसुस भयो। किनभने खेतबारीमा आलो गोबर देखिन्थ्यो, यसबाट अब केही समय हिंडेपछि कोही न कोही मान्छे भेट हुनेछ भन्ने अड्कल काटेर मन थुम्थुमिएको थियो। अब गोठहरू भएकै ठाउँमा पुगें। सम्पूर्ण गोठहरू चहार्दा एकजना लठेब्रे किसिमका अधबैंसे व्यक्ति भेटिए। ठूलो राहत प्राप्ति र आनन्दको अनुभव भयो। अन्तिम पर्दा मानवलाई मानवकै सहाराको जरुरी !

डर, त्रास त मस्तिष्कको जानकारीसँग पो सम्बन्धित हुँदोरहेछ त !

दुर्भाग्य ! माथि गाउँबाट ल्याएका चिनुका चामल पकाई भर्खर मात्र खाइसकेर भाँडा माझ्दै थिए। चामल पनि एकजनालाई एकछाकको लागि मात्र ल्याइएको रहेछ। “थोक्कै अगेर आइदिया भ्याले बाँटी खान हुने छियो, दे क्या गडौं धेउ ! (थोरै पहिले आएको भए बाँडेर खन हुनेथियो, लौ अब के गरौं है !) भनी सान्त्वना प्रकट गरे बिचरा। भाँडा सफा गरेपछि भित्रै अँगेनु छेउमा बसियो। गोठहरू भएकाले दूध दही मात्र भए पनि पाएमा भोकरुपी अग्निज्वाला अलि-अलि भए’नि निभ्दो हो भन्ठानेर सोधनी गर्दो भएँ। उइ त, दे स्हवै गोरुछोडी अल्लै स्हाजी-बासी गर्‍याँ त, क्यान्ने थइ् (हुन्थ्यो त ! भरखरै सबै गाई दुहेर साजी-बासी गरिहालेँ, थुक्क ! के गर्नु है ?) गरी पश्चात्ताप प्रकट गरे। त्यतातिर गाई भैंसीको दूध हिजो अस्तिको दही सँगालेको ठेकीमा आजको दूध मिसाएपछि त्यो साजी-बासी हुँदोरहेछ र कसैले पनि खान हुँदो रहेनछ। एउटा नयाँ चलन थाहा पाएर चित्त बुझाउँदै निस्तै भोक मारिटोपल्न बाध्य भएँ।

अब तमाखुसँग भोक मेटाउनु मेरा लागि अनिवार्य ठहरियो। घरि आफूसँगका चुरोट त घरी तिनै नैन फडेराको तमाखु ! स्हुल्फा तान्दै अँगेनु वरिपरि बसेर ९ बजेसम्म गफगाफ गर्‍यौं। सायद थाकेको शरीरले भोकै भए पनि आराम खोज्दो रहेछ क्यारे ! निद्रा लाग्ला जस्तो भयो। अनि नैनजीसँग सोधें – सुत्न कहाँ सुतौं ? त्यही अँगेनु वरिपरि फाटेको फेरे (बाख्राको रौंहरूबाट बनाइएको काम्लो) देखाउँदै ‘मु त न्यहीं सिइदो, तुमी हप पाँडघरम्मो सुत, भतु चुक्री÷तुम्बाउ नखाया ज्यू ! हिउँद काट्याका सुको घाँसका पुलाहरू छिन्, वरिपरि तिनै पुलाहरू राखी बीचम्मो सिइनु क्या है ! अँदेइ, चिस्हो पन नहोला, देखेनौ ?’ (म त यहीं सुत्छु, तपाईं माथि आँटीमा सुत्नुहोस्। बरू चुरोट, तमाखु नखानु होला हजुर है ! हिउँदमा काटेको घाँसका मुठाहरू छन्, वरिपरि तिनै मुठाहरू राखेर सुन्नु के है ! त्यसोगरे चिसो पनि नहोला, बुझ्नुभएन ?) भनी मलाई पाँडघर (गोठको माथिल्लो तला जहाँ सुकेका घाँसका मुठाहरू राखिएका हुन्छन्) देखाइदिए।

जुनेली रात थियो। म पनि पाँडघरमा गई सुकेको घाँसका मुठाहरू वरिपरि चिनेर बीचमा सुत्ने व्यवस्था मिलाएँ। दुवैतिर खुला भएको थैलो जस्तो बनाइएको लुङ्गी च्यातेर/उधारेर च्यादरजस्तो बनाएँ। कपडासँगै सुतेर लुङ्गी घुम्लुङ्ग ओडी त्यहाँमाथि घाँसका मुठाहरू मिलाएर राखें। तिनै मुठाहरूको सिरानी, डसना, सिरक र पर्खालसमेत बनाई निद्रादेवीको शरणमा परें। भातखाने बेला टलेपछिको झम्के निद्राले भोको मलाई पनि निद्रादेवीको काखमा फालिदिएछ क्यारे ! भुसुक्क निदाएँछु। कति समयसम्म एउटै कोल्टे सुतेपछि सनातनी विस्तारामा कोल्टे फर्के झैं सिरक सज्दै कोल्टे फर्कन लाग्दा घाँसको रूपमा राखेको सिस्नाको मुठामा हात परेछ, झसङ्ग हुँदै बिउँझिंदो भएँ। हातमा अम्लले पोल्न थाल्यो, पानी मात्रै पिएकोले पिसाब लागिरहेको रहेछ, पिसाब फेरें। टहटह जून लागिरहेको थियो। त्यही प्रकाशमा घडी हेरें। ५ बजेर १० मिनेट बितेजस्तो देखें। सोचें- अब त्यही सिस्नोको विस्तारामा सुत्नुभन्दा विस्तारै गमतिरै हिंड्नु बेस। तब झोला निकाली बोकेर पाइला अघि बढाएँ। बाटो तेर्पायँ-तेर्पायँ नै थियो, तर जङ्गलको बीच हुँदै हिंड्नुपर्थ्यो। एकलासे वातावरणमा एकलकाँटेको पाराले मनगढन्ते विचारहरूको साथ लाग्दै म अघि बढिरहेको थिएँ, भोक बिर्सिइसकेको थियो।गमगढीको डाँडा दृष्टिगोचर भयो। तर, उज्ज्यालो अझै प्रष्टिएको थिएन। बल्ल मलाई डर लाग्यो। यसो घडी नियालेको त बल्ल सवा पाँच बज्दै रहेछ। म त दुई बजेर २५ मिनेट बितेकोलाई ५:१० बजेको ठानेर रातारात जङ्गलको बाटो पो पार गरेंछु। डर, त्रास त मस्तिष्कको जानकारीसँग पो सम्बन्धित हुँदोरहेछ त !

सच्चा आत्माले दुःखप्रति संवेदना प्रकट गर्दा आफन्तको दायरा स्वतः उल्लङ्घन हुँदोरहेछ !

भोलिपल्ट कार्यालय समयपछि गमगढीमा टहल्दै थिएँ। कालिका मन्दिर मुनि एकजना मधेशी भाइ – झब्बरलाला साह एक्लै रोइरहेको भेटें। नजिकै गएर सोधनी गर्दा मेरो घर सिरहा जिल्ला हो। दुई बैनीहरूको विवाहका लागि मगनी भैसक्यो, दहेजको लागि पैसाको खाँचो परेकोले साथीहरूसँग हुम्ला आएँ। मेरा गाउँले साथीहरू हुम्लामा शिक्षक छन्। मैले पनि पूर्वमध्यमा पास गरेको र घरको परिस्थितिलाई हेरेर साथीहरूले हुम्ला जाऊँ, मास्टरको जागीर पाइन्छ, भनेकोले आएको हुँ। खोज्दै-खोज्दै हिंड्दा अस्ति यहाँ गमगढी आइपुगेको हुँ। शिक्षा शाखामा सम्पर्क गर्दा ‘खाली भएको स्कूलमा गई नियुक्ति लिएर यहाँ पठाइदिनु, हामी समर्थन गरिदिउँला, यहाँबाट खाली छ भनी पठाऊँ भने वहाँ विद्यालय सञ्चालक समितिले अर्कैलाई नियुक्ति गरेको रहेछ भने, तपाईंलाई दुःख मात्रै हुन्छ …’ भन्ने उत्तर पाउँछु। कहाँ खाली छ ? मलाई थाहा पनि छैन, भएको पैसा पनि सकियो। अब त कसैले बाटाखर्च दिन्छ भने पनि म कहाँ छु ? र कसरी घर पुग्छु ? भन्ने पनि थाहा छैन। म त हराएँ दाइ ! भनी हिक्का छाडेर रुन थाले। मेरो मन पनि अमिलो भएर आयो।

मैले पढाउने धैनकोटको जगतमाला प्रस्तावित माध्यमिक विद्यालयमा एउटा दरबन्दी खाली भएको थियो। मेरो आफ्नै दाइ डिल्लीराम गिलाहाँमा पढाउनुहुन्थ्यो। उक्त रिक्त दरबन्दीमा उहाँलाई नै सरुवा मिलाई दाजुभाइ सँगै बस्ने रहर थियो। तर उल्लिखित परिवेशले डिल्लीराम दाइलाई धैन सारेर गिलाहाँमा उसलाई भर्ना गर्न पनि ढिला हुने महसुस गरायो। उसलाई “यहाँबाट दुई दिन हिंड्नुपर्दछ, मैले पढाउने विद्यालयमा दरबन्दी खाली छ। कमसेकम बाटाखर्च आर्जन गर्ने बेलासम्म भर्ना भएर पढाउनुहुन्छ ? ” भनें। उनले पनि सहर्ष हुन्छ भने र साथै ल्याएर जगतमाला प्रस्तावित माध्यमिक विद्यालय, धैनको रिक्त प्राथमिक दरबन्दीमा भर्नाको व्यवस्था मिलाएँ। सच्चा आत्माले दुःखप्रति संवेदना प्रकट गर्दा आफन्तको दायरा स्वतः उल्लङ्घन हुँदोरहेछ !

क्रमश :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?