
१६ फागुन, काठमाडौं । शिवरात्रिको पूर्वसन्ध्यामा सोमबार साँझ पशुपति क्षेत्रमा साधुसन्त एवं भक्तजनहरुको भीड लागेको छ । शिवरात्रिलाई लक्षित गर्दै सिंगारिएको पशुपति क्षेत्रको दर्शन एवं आरती हेर्न जानेहरुले पशुपति परिसर एवं वाग्मती किनारा खचाखच भएको हो ।
मंगलबार शिवरात्रिको लागि नेपालका विभिन्न ठाउँ एवं भारतबाट समेत साधुसन्तहरु नेपाल आइसकेका छन् । उनीहरुमध्ये अधिकांशलाई पशुपति मन्दिर परिसर र प्रदक्षिणा पथको दायाँबायाँ व्यवस्थित रुपमा राखिएको छ । मन्दिर परिसरमा नै व्यवस्थित रुपमा उनीहरुको व्यवस्थापन गरिएकोले मृगस्थलीतर्फको बाटो छेउ अघिल्ला वर्षभन्दा कम साधुसन्तहरु बसेका छन् ।
मूल मन्दिरतर्फ भने मंगलबार दर्शन गर्न आउने भक्तजनहरुको लागि लाइन लाग्ने लगायतको व्यवस्थापनको कार्य पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले मंगलबार ५० लाख दर्शनार्थीले मन्दिर अवलोकन गर्ने आकलन गरेको छ । त्यसको लागि सोमबार साँझै त्यसको व्यवस्थापन मिलाइएको छ ।
विभिन्न ठाउँमा तीन वटै सुरक्षा निकाय एवं विभिन्न अस्पतालहरुले स्वास्थ्य शिविर सुरु गरिसकेका छन् । कोषले मंगलबार दर्शनार्थीलाई सहज होस् भन्नको लागि ५ ठाउँबाट प्रवेशको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया 4