+
+

त्रिविका आंशिक प्राध्यापक आन्दोलनमा, ज्याला समान हुनुपर्ने माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १६:३४

१७ फागुन, वीरगञ्ज । ‘समान कामको समान ज्याला’ पाउनुपर्ने माग गर्दै त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा पढाउने आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिएका छन् ।

नेपाल आंशिक प्राध्यापक संघ केन्द्रीय संघर्ष समितिको आह्वानमा त्रिवि तथा देशभरका आंगिक क्याम्पसमा कार्यरत आंशिक प्राध्यापकहरु आन्दोलित भएका हुन् ।

उनीहरुले मंगलबारदेखि त्रिवि तथा सबै आंगिक क्याम्पसहरुको क्याम्पस प्रमुख, प्रशासन र लेखा शाखामा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । संघर्ष समितिका अध्यक्ष गोकुल लेछ्वो लिम्बु, सहअध्यक्ष राजेन्द्र आचार्य र प्रवक्ता एलबी विष्टले संयुक्त विज्ञप्ति जारी गर्दै आंशिक प्राध्यापकहरुको माग सम्बोधन नभएसम्म तालाबन्दी कायम रहने घोषणा गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत देशभर दुई हजार दुई सय आंशिक प्राध्यापक कार्यरत छन् । विश्व विद्यालय जस्तो प्राज्ञिक, वौद्धिक थलोमा आफूहरु माथि १७ वर्षदेखि अन्याय, विभेद, बौद्धिक श्रम शोषण भइरहेको गुनासो आंशिक प्राध्यापकहरुको छ ।

चार हजार पाँच सय सेवा निवृत्त प्राध्यापकहरुको कक्षा भारसहित त्रिभुवन विश्व विद्यालयको लगभग ६५ प्रतिशत कक्षाभार आंशिक प्राध्यापकले धानेपनि दैनिक ज्यालादारीबाट मासिक ज्यालादारीमा लान माग गर्दा अटेर गरेको उनीहरुको भनाइ छ ।

ठाकुरराममा पनि तालाबन्दी

केन्द्रीय संघर्ष समितिको निर्णय बमोजिम ठाकुरराम बहुमुखी क्याम्पस इकाई समिति वीरगञ्जमा आवद्ध प्राध्यापकहरु पनि आन्दोलित भएका छन् । उनीहरुले ठाकुरराम बहुमुखी क्याम्पसको विभिन्न शाखाहरुमा तालाबन्दी गर्नुको साथै क्याम्पस प्रमुखमार्फत सरोकारवालाको ध्यानाकर्षण समेत गराएका छन् ।

वर्षमा २ सय ४० दिन काम गर्दा पनि ज्यालादारीमै राखेर आफूहरुलाई विभेद गरिएको गुनासो उनीहरुको छ । संघका ठाकुरराम क्याम्पस ईकाई समितिका अध्यक्ष तेजनारायण यादव क्याम्पसको कक्षा भार थाम्ने प्राध्यापकहरुलाई नै विभेद गरिनु दुःखद भएको बताउँछन् ।

‘करार, अस्थायी वा स्थायी प्राध्यापकहरुले हप्तामा १५ घण्टी मात्रै पढाउने हो । उनीहरु विदामा बस्दा, पीएचडी गर्न जाँदा होस् वा परीक्षा गराउँदा हामीले नै क्याम्पस सम्हाल्नुपर्छ’ उनले भने ।

पटक पटक भएका आन्दोलनपछि गरिएको सम्झौता त्रिविले कार्यान्वयन नगरेको आरोप आंशिक प्राध्यापकहरुले लगाएका छन् । तालाबन्दीसहितको आन्दोलन कायम रहँदासम्म आंशिक प्राध्यापकहरुले सम्पूर्ण शैक्षिक गतिविधि समेत बहिष्कार गर्ने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?