+
+

नेपाली कांग्रेस चितवनको नेतृत्व चयनका लागि मतदान हुँदै

सभापतिमा ५ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ९:३९

२० फागुन, चितवन । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको चौधौं जिल्ला अधिवेशन अन्तर्गत चुनावी प्रक्रिया सुरु भएको छ ।

बिहीबार उम्मेदवारी दर्ता भैसकेको छ । जिल्ला निर्वाचन संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीका अनुसार आज शुक्रबार बिहान जिल्ला पार्टी सभापति जितनारायण श्रेष्ठले मत दिएर मतदान सुरु हुनेछ । मतदानमा २९४४ प्रतिनिधिले मतदानमा सहभागिता जनाउनेछन् ।

जिल्ला सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । चार जना पौडेल-कोइराला पक्षका हुन् भने एक जना सभापति शेरबहादुर देउवा पक्षका छन् ।

संस्थापन पक्षबाट मिलनबाबु श्रेष्ठ र संस्थापनइतरबाट उत्तम जोशी, डा.सूर्यकान्त घिमिरे, राजेश्वर खनाल र कैलाश कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

संस्थापनइतर पक्षबाट सहमति गरेर एक मात्रै उम्मेदवार बनाउने प्रयास गरिए पनि सफल नभएपछि चार जनाकै उम्मेदवारी कायम भएको छ ।

पहिलो चरणमा कुनै एक जनाले ५१ प्रतिशत मत कटाउन नसक्ने आकंलन स्वंय उम्मेदवारहरूले गरेका छन् । दोस्रो चरणमा भने संस्थापनइतर पक्षका उम्मेदवारहरु एक ठाउँमा उभिने प्रयास भइरहेको छ ।
उत्तम जोशी र राजेश्वर खनालले आफू शेखर कोइराला पक्षको आधिकारीक उम्मेदवार भनेर प्रचार गरिरहेका छन् । उत्तम जोशी पार्टीको जिल्ला सचिव हुन् ।

खनालले उम्मेदवारी घोषणा कार्यक्रम नै राखेर आफूमात्रै कोइराला पक्षीय उम्मेदवार रहेको दाबी गरे । सूर्यकान्त घिमिरे भने कांग्रेस नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार हुन् ।

कैलाश कोइरालाले आफू कुनै पनि गुटको उम्मेदवार नभएर कांग्रेसको मात्रै उम्मेदवार भएको बताउँदै आएका छन् ।

कैलाश पूर्वजिल्ला सभापति विकास कोइरालाका भाइ हुन् । तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाविरुद्ध चितवन ४ बाट बागी उम्मेदवारी दिएपछि विकासलाई पार्टीले कारबाही गरेको लामो समय भइसकेको छ । तर पनि विकासको पकड चितवन कांग्रेसभित्र छ ।

कैलाश आफैं पनि अहिले कांग्रेस चितवनको उपसभापति हुन् । देउवा पक्षबाट एक मात्रै सभापतिको उम्मेदवार बनेका मिलनबाबु श्रेष्ठ बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुन् ।

पार्टीको उपसभापति २ पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । सचिव २ पदका लागि ८ र सहसचिव २ पदका लागि १० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ ।

पदाधिकारीका लागि ३८ जना चुनावी मैदानमा हुँदा एक जनामात्रै महिला उम्मेदवार रहेकी छिन् । भरतपुर-२६ की विनिता चापागाइर्ंले सह-सचिव पदमा उम्मेदवारी दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?