+
+

पेट्रोलले ढाड सेक्दा पनि विद्युतीय बाइकलाई हेला

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ फागुन २२ गते ८:२२

२१ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य आकासिदो छ । जेठ २०७७ मा ९६ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको मूल्य अहिले १५० पुगिसकेको छ । पेट्रोलको मूल्य बढिरहँदा पनि विद्युतीय मोटरसाइल तथा स्कुटरको प्रयोग गने न्युन छ ।

विद्युतीय गाडीको प्रयोग विस्तार बढ्दो छ । त्यसको तुलनामा विद्युतीय स्कूटर, मोटरसाइकलप्रतिको आकर्षण कम छ । एक पटकको चार्जबाट लामो यात्रा गर्न नसक्नु, छिटो चार्ज गर्ने प्रविधि जडान नहुनु, अधिकतम् गति (स्पीड) कमजोर हुनु र मूल्य बढी हुनु जस्ता कारणले विद्युतीय बाइक वा स्कूटर कमै प्रयोग छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो सात महिना (माघ-साउन)मा १ लाख ८९ हजार ९२७ वटा पेट्रोल बाइक नेपाल भित्रिएका छन् । यसमा १९ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खर्च भएको छ ।

विद्युतीय मोटरसाइलको आयात सारै न्युन छ । साउन-माघको अवधिमा २ हजार ६०० वटा विद्युतीय बाइक आयात भएको छ । यो आयातमा २० करोड ६४ लाख रुपैयाँ खर्च भएको छ भने सरकारले ५ करोड १ लाख राजस्व उठाएको छ ।

विद्युतीय बाइक चढिरहेका बुढानीलकण्ठका रमेश कोइरालाको अनुभवमा १३० किलोमिटर कुद्ने गरी चार्ज गर्दा ४०-४५ रुपैयाँ बराबरको बिजुली खर्च हुन्छ । पेट्रोल मोटरसाइकलमा यती दुरी पार गर्दा ६०० रुपैयाँभन्दा बढी खर्च आउँछ ।

तर विद्युतीय बाइकका सीमाहरु छन् । टाढाको यात्रा गर्न र डाँडाकाँडा जान समस्या पर्ने हुँदा धेरैले पेट्रोल बाइक नरुचाएको हुनसक्ने उनी बताउँछन् । ‘शहरमा दैनिक प्रयोजनको लागि चलाउन पेट्रोल बाइकभन्दा विद्युतीय निकै सस्तो पर्छ । धुँवा फाल्दै गुड्ने बाइकहहरुको ईभी (ईलेक्ट्रिक भेइकल) चलाउनुको मज्जा पनि छ,’ कोइरालाले अनलाइनखबरसँग भने, ‘तर यसका सीमाहरू छन् । त्यसैले लामो दूरीमा यात्रा गर्नेले रुचाउँदैनन् ।’

ठाउँ-ठाउँमा चार्जिङ सेन्टर उपलब्ध हुने हो भने विद्युतीय बाइकको प्रयोग बढ्ने अर्का प्रयोगकर्ता साधुराम ढकाल बताउँछन् । एकपटक चार्ज गरेपछि लामो यात्रामा जान नसकिने कारणले नै धेरैले यसलाई नअपनाएको उनको निष्कर्ष छ । ‘सानो साइजमा पावरफूल ब्याट्रीहरूको विकास भयो र सबैतिर चार्जिङ स्टेशन बने केही वर्षमा यसको प्रयोग बढ्छ,’ ढकाल भन्छन्, ‘यसका लागि सरकारी नीति चाहिन्छ ।’ नेपालीहरू छिटो र सजिलै दौडने मोटरसाइकलमा अभ्यस्त भएकाले पनि विद्युतीय बाइकप्रति आकर्षण बढ्न नसकेको उनी बताउँछन् । केही वर्षपछि ब्याट्री फेर्दा एकैपटक ठूलो खर्च लाग्ने भएकाले पनि यसमा आकर्षण कम भएको हो ।

‘टेलजी’ ब्रान्डका विद्युतीय स्कुटर बेचिरहेको टेल-जी नेपालका सञ्चालक सञ्जीव शिल्पकार विगतको भन्दा व्यापार सुध्रँदै गएको बताउँछन् । तर सरकारको कर नीति, विद्युतीय बाइकप्रति आम बुझाइलगायत कारणले ठूलो दरमा प्रयोग बढ्न नसकेको बताउँछन् ।

सरकारले अहिले एउटा विद्युतीय बाइकमा १० प्रतिशत भन्सार, १३ प्रतिशत मूल्यअभिवृद्धि कर (भ्याट), १० हजार रुपैयाँ सडक मर्मत दस्तुर भन्सार विन्दुमै लिन्छ । जबकी २ वर्षअघिसम्म १ प्रतिशत कर तिरेर विद्युतीय बाइक नेपाल भित्र्याउन पाइन्थ्यो । ‘वार्षिक तीन हजारसम्म सवारी कर पनि लिने गरिएको छ, सरकारले कर नीतिमा पुनरावलोकन गरे मूल्य र लागत कम भएर मान्छे आकर्षित हुनसक्थे,’ शिल्पकार भन्छन्

सबै विद्युतीय बाइक, स्कूटरको बजार भने अन्य सवारीको तुलनामा निकै सानो छ । कतिपय विद्युतीय ब्रान्ड त नेपाली बजारमा टिक्न नसकेर विदा भइसकेका छन्

केही वर्षअघिसम्म आउने विद्युतीय स्कुटरहरु उकालोमा जान, लोड बोक्न नसक्ने समस्या देखेकाहरूको मनोविज्ञानमा अहिले पनि त्यही छाप रहेको उनी बताउँछन् । ‘अहिले ठाडो उकालो पनि चढ्ने विद्युतीय बाइक आइसके । तर थोरै सञ्चालन खर्च सहितका विशेषताहरू बुझाउन नसक्दा प्रयोग बढ्न सकेको छैन,’ उनले बताए ।

विद्युतीय बाइकको प्रवर्द्धन भए वार्षिक २ खर्बको इन्धन आयात घट्ने र त्यसले व्यापार घाटा कम गर्न सघाउने उनको भनाइ छ । नेपालमा उत्पादित बिजुलीको प्रयोग बढ्दा हाम्रो फोक्सो र मुटु पनि जोगिने भन्दै शिल्पकारले देशको अर्थतन्त्रलाई टेवा दिन पनि विद्युतीय दुई पांग्रेको प्रवर्द्धन अपरिहार्य रहेको बताए ।

नेपालमा कुनकुन ई-बाइक पाइन्छ ?

नेपाली बजारमा २० भन्दा बढी ब्रान्डका विद्युतीय बााइक पाइन्छन् । केही नेपालमै एसेम्बल भएका छन् भने धेरैजसो चीन तथा भारतबाट आयात हुने ब्रान्ड हुन् ।

नेपालमा ‘न्यू’ ब्रान्डको विद्युतीय बाइक बढी रुचाइएको छ । एकपटकको चार्जमा ६० देखि १४० किलोमिटरसम्म गुड्ने (रेन्ज) न्यू ब्रान्डका विद्युतीय बाइकको मूल्य २ लाख ५४ हजारदेखि ४ लाख ४५ हजार रुपैयाँसम्म पर्छ ।

त्यस्तै, ‘सुपरसोको’ ब्रान्डका विद्युतीय बाइकले एक पटकको चार्जमा ५६ देखि १३७ किमिसम्मको माइलेज दिन्छन् । ९५ किलोमिटर प्रतिघण्टासम्मको गति दिने यो ब्राण्डको बाइकको मूल्य १ लाख ८० हजारदेखि ५ लाख ९० हजारसम्म पर्छ ।

एइडा स्कुटर पनि प्रचलित ब्रान्ड हो । एक पटकको चार्जमा ८० किलोमिटरसम्म दौडिने यो ब्रान्डका स्कुटरले ६० किमि प्रतिघण्टा स्पीड दिन्छ । एइडाका बाइकको मूल्य २ लाख ३० हजारदेखि ३ लाख ५० हजार रुपैयाँसम्म छ ।

एलभिनिङ ब्रान्डका बाइकका अधिकतम् स्पीड प्रतिघण्टा ४५ देखि ९० किमिसम्म छ । यो ब्राण्डको बाइक एकपटक चार्ज गरेपछि ४ देखि ६ घण्टास्माम चलाउन सकिन्छ भने २ लाख २९ हजारदेखि ५ लाख ५९ हजारसम्म मूल्य छ ।

‘दुहान’ ब्रान्डसँग ७० देखि १०० किमिसम्मको रेन्ज दिने बाइकहरु छन् । ७० किमि प्रघिण्टासम्मको स्पीड दिने यो ब्रान्डका बाइकको मूल्य २ लाख ३२ हजारदेखि ३ लाख ६० हजार रुपैयाँसम्म छ ।

हिरोका इलेक्ट्रिक स्कुटर पनि नेपाली बजारमा सुपरिचित छ । ४५ किमि प्रतिघण्टा गति दिने यी स्कुटरले एक पटकको चार्जमा ८२ देखि १६५ किमिसम्मको रेन्ज दिन्छन् । ३ लाख ५० हजारदेखि ३ लाख १० हजारसम्म मूल्य छ ।

जिनियस र टेल-जी ब्रान्ड पनि नेपालमा उपलब्ध विद्युतीय मोटरसाइकल तथा स्कुटर हुन् । १२० किमि प्रतिघण्टासम्म कुद्ने यी बाइकले एकपटकको चार्जमा सय किलोटिरसम्मको रेन्ज दिन्छन् । यो ब्रान्डले १ लाख ८३ हजारदेखि ४ लाख २६ हजार रुपैयासम्ममा बाइक बेच्छ ।

‘प्योर ईभी’ विद्युतीय स्कुटरले ११६ किमि प्रतिघण्टासम्मको रेन्ज दिन्छ । अधिकतम् ६० किलोमिटर प्रतिघण्टा गति दिने यो ब्रान्डले २ लाख २९ हजार देखि २ लाख ४९ हजारसम्मको विद्युतीय स्कुटर बेच्छ ।

नेपालकै ब्रान्ड ‘यात्री मोटरसाइकल’ले एकपटकको चार्जमा ११० देखि २३० किमिसम्मको रेन्ज दिने बाइक उत्पादन गरेको छ । यो ब्रान्डले ५ लाख ६५ हजारदेखि १९ लाख ६५ हजार मूल्यसम्मका बाइक बेच्ने गरेको छ ।

सेगवे, ल्युआन नेपाल, टुनवाल ईभी, कोमाकी, टेर्रा मोटर्स, ओकिनावालगायत ब्रान्डका विद्युतीय बाइक पनि नेपाली बजारमा उपलब्ध छन् ।

यी सबै विद्युतीय बाइक, स्कूटरको बजार भने अन्य सवारीको तुलनामा निकै सानो छ । कतिपय विद्युतीय ब्रान्ड त नेपाली बजारमा टिक्न नसकेर विदा भइसकेका छन् ।

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?