२३ फागुन, काठमाडौं । नेपाल बक्सिङ संघको सहयोग र खेलकुद प्रवर्द्धन संस्था नेपाल (स्पोन) को आयोजनामा विद्यालयस्तरीय बक्सिङ प्रतियोगिता हुने भएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा सो प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा सञ्चालन हुने जानकारी दिइयो । स्कुलदेखि नै बक्सिङ खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता गर्न लागेको नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले बताए । ‘स्कुलदेखि नै खेलेका खेलाडीले पछि गएर नाम चम्काउने हो । उमेर बढेपछि खेल्दा पूर्ण नहुन सक्छ । त्यसैले बच्चादेखि नै खेल्यो भने भविष्यमा राम्रो हुन्छ’ उनले भने ।
संघका उपाध्यक्ष अर्जुनबहादुर केसीले लामो समयदेखि स्कुल स्तरीय बक्सिङ प्रतियोगिता गर्ने योजना भए पनि अहिले सफल भएको बताए ।
प्रतियोगितामा विद्यालय पढ्ने सन् २००७ जनवरीदेखि सन् २००९ को डिसेम्बर ३१ सम्म जन्मेका पुरुष तथा महिला खेलाडी सहभागी हुन पाउने प्रतियोगिता संयोजक पुष्करराज पन्तले जानकारी दिए ।
प्रतियोगितामा पुरुषतर्फ ३५ किलो, ३७ किलो, ४० किलो, ४३ किलो, ४६ किलो र ४९ किलो ५२ किलो, ५५, किलो ५८ किलो ६१ किलो गरी जम्मा १० वटा तौल समूहको प्रतिस्पर्धा हुनेछ । त्यस्तै महिलातर्फ ३५ किलो, ४० किलो, ४३ किलो, ४६ किलो, ४९ किलो, ५२ किलो, ५५ किलो र ६० किलो गरी ८ वटा तौल समूहका प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा महिला र पुरुष गरी देशभरीका २२ देखि २५ वटा जिल्ला तथा क्लबहरूका ७० देखि ८० जना खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4