+
+
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विशेष : :

महिला सशक्तीकरणका लागि मोटर स्पोर्टस्

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १४:५०

२४ फागुन, काठमाडौं । फिटिङ्स जिन्स र लङ बुट पहिरिएका, राइडिङ गियर लगाएका, थरी–थरीका रंगको कपालमा ठाँटिएका, पाखुरामा ट्याटु खोपेका युवती जब हेभी बाइक हुँइक्याउँदै बेपर्वाह अफरोड यात्रामा निस्कन्छन्, रमिते आश्चर्यले जिब्रो टोक्छन् । बेतोडले बाइक उडाउँदै, फनफनी घुमाउँदै जब युवतीहरू जोखिमपूर्ण बाइक स्टन्ट देखाउन थाल्छन्, रमितेको मुटु काँप्छ ।

तीव्रताका साथ बाइक गुडाउँदै निर्धारित दूरीका लागि निश्चित शर्तहरू पालना गर्दै जब युवतीहरू रेसिङ ट्रयाकमा उत्रन्छन्, रमितेको मन रोमाञ्चकताले भरिन्छ । आजभोलि सहरमा यस्ता परिदृश्य सघन बन्दै गएका छन्, जसले मोटरराइडिङ, रेसिङ र स्टन्टमा महिलाको उपस्थिति बढ्दै गएको छर्लङ्ग पार्छ । साहसिक र जोखिमपूर्ण भनिएको यस किसिमका खेलले महिला उन्मुक्तिको कथा भन्न थालेको छ । त्यसैले त मोटर स्पोर्टस्का अनेकन् आयामभित्र आफूलाई समेट्दै महिलाहरू पितृसत्तात्मक मानसिकतामाथि चुनौती दिइरहेका छन् ।

सुन्दा सामान्य लाग्छ, तर मोटर स्पोर्टस् आज महिला सशक्तीकरणको एक भिन्न माध्यम बनेको छ । बलिया पाखुरा, साहसिक मुटु र बिन्दास जीवनशैलीको सांकेतिक अर्थसहित मोटर स्पोर्टस्ले महिलालाई एकत्रित गराउँदैछ । र, यसैमा संगठित हुँदैछन् नेपाली महिला पनि ।

महिलाहरूले विगतमा गीतमार्फत मनको बह पोख्थे, गोष्ठी- र्‍यालीमार्फत आफूमाथि हुने थिचोमिचोको विरोध गर्थे, सभा–सम्मेलनमार्फत आफ्नो आवाज बुलन्द बनाउँथे । ‘अब यसको स्वरुप क्रमशः फेरिंदैछ’ नेपाल अटोमोबाइल्स एशोसिएसनका प्रमुख सल्लाहकार गोविन्द भट्टराई भन्छन्, ‘पुरुष वर्चश्व रहेको क्षेत्रमा हस्तक्षेप गरेर उनीहरू अगाडि आउन थालेका छन् । बाइक राइडिङ, रेसिङ, स्टन्टलगायत गतिविधिले महिला सशक्तीकरण र उन्मुक्तिको सन्देश बोकेको छ । यो एक सांकेतिक क्रान्ति नै हो ।’

मोटर स्पोर्टस् अन्तर्गत बाइक-कार रेसिङ, राइडिङ, स्टन्ट, कार्ट रेसिङ जस्ता खेलहरू छन् । र, यस्ता खेलहरूमा तुलनात्मक रूपमा महिलाको सहभागिता बढी छ । यसको एउटा नारा छ, ‘पावर टु पावर स्टेयरिङ ।’ यसले महिलाहरू नै समाज वा परिवार हाँक्न सक्छन् भन्ने सन्देश बोकेको भट्टराई बताउँछन् ।

अहिले थुपै्र महिला छन्, जो गह्रौं बाइकलाई आफ्नो सन्तुलनमा राखेर जोखिमपूर्ण स्टन्ट गरिरहेका छन् । तीव्र गतिमा हुँइक्याउँदै रेसिङ ट्रयाकमा प्रतिस्पर्धा गरिरहेका छन् । हेभी बाइक लिएर कहिले लोमान्थाङ त कहिले पहाडका साँघुरा गोरेटोमा पुगिरहेका छन् ।

‘वुमन पावर इन मोटरसाइक्लिङ’ नारासहित नासाले महिलाहरूलाई मोटर स्पोर्टस्मा सहभागी मात्र गराएको छैन, राष्ट्रिय–अन्तर्राष्ट्रिय रेसिङ ट्रयाकमा पनि उतारिरहेको छ ।

त्यति मात्र होइन, देश–विदेशमा मोटर स्पोर्टस् प्रतियोगितामा भिडन्त गरिरहेका छन् । दीक्षा श्रेष्ठ, सुवानी थापादेखि सुनिता देसार, जिसवँ तुलाधर श्रेष्ठलगायतले मोटर स्पोर्टस्बाटै आफ्नो पहिचान बनाइरहेका छन् । फर्मुला वान, मोटोजिपी जस्ता वैश्विक स्तरका मोटर स्पोर्टस्मा उपस्थिति जनाइरहेका छन् ।

त्यसो त सन् २००९ मा नेपालमा महिलाहरूको सहभागिताबाट नै मोटर स्पोर्टस् थालनी भएको थियो । त्यसबेला ‘वुमन बाइकर्स च्याम्पियनसिप र्‍याली’ आयोजना गरिएको थियो, जसमा दुई दर्जन बढी महिला उपस्थित थिए । काठमाडौंको रंगशालाबाट सुरु भएको र्‍याली मातातीर्थमा पुगेर सम्पन्न भएको थियो ।

त्यसको दुई वर्षपछि वल्र्ड मोटर स्पोर्टस् काउन्सिल (एफआईए)ले नेपाल अटोमोबाइल्स एशोसिएसन (नासा)लाई सदस्यता दियो । सोही वर्ष नासाले एफआईएमको सदस्यता प्राप्त गर्‍यो । यसै अन्तर्गत ‘वुमन पावर इन मोटरसाइक्लिङ’ अभियान सुरु गरियो । ‘यसअन्तर्गत हामीले ४०० महिलालाई मोटर स्पोर्टस्मा आकर्षित गर्ने विभिन्न कार्यक्रम गर्‍यौं’ भट्टराई भन्छन्, ‘बाइक रेसिङ, स्टन्टमा उनीहरूलाई अभ्यस्त गरायौं ।’

इलाम, बिर्तामोड, धरान, पोखरा, सुर्खेत जस्ता विभिन्न स्थानमा मोटरबाइक रेसिङ गरेर १८ जना नेशनल राइडर छनोट गरी बाइक रेसिङको विशेष तालिम दिइयो ।
मोटर स्पोर्टस् अन्तर्गतकै अर्को अभियान थियो, गल्र्स अन द ट्रयाक । धुलिखेलस्थित रेसिङ ट्रयाकमा एक दर्जन बढी महिला प्रतिस्पर्धामा उत्रिए ।

यो कार्ट रेसिङ थियो । त्यसबाट छनोटमा परेकामध्ये ६ जनाले भारतको बैङ्लोरमा आयोजित कार्यक्रममा भाग लिए, जहाँ भारत, श्रीलंकालगायत देशको सहभागिता थियो ।

मोटर स्पोर्टस्का विभिन्न स्पर्धामा महिलालाई सहभागिता गराउन नासा वुमन कमिशन स्थापना गरियो, जसलाई सञ्जु बज्राचार्यले अगुवाइ गरिरहेकी छिन् । यस अन्तर्गत बाइक रेसिङ, र्‍याली, स्टन्ट जस्ता गतिविधि हुँदै आएका छन् ।

नासाले स्थापनाकालदेखि नै बर्सेनि रेसनारी, रेसमान्डु जस्ता प्रतियोगिता आयोजना गर्दै आएको छ । मोटर स्पोर्टस्को क्रेज बढ्दै जाँदा रेसिङ ट्रयाक निर्माण गर्ने काम पनि भइरहेको छ । फर्मुला वान, मोटोजिपीको जस्तो नमूना ट्रयाक बनाइँदैछ । ‘यो भनेको छोटो सर्किटमा रेसिङ गर्न सकिने ट्रयाक हो’ भट्टराई भन्छन्, ‘यसले मोटर स्पोर्टस्मा महिलालाई थप आकर्षित गर्न सकिनेछ ।’ २०० जनालाई फर्मुला वान रेसिङको आधारभूत तालिम दिन लागिएको छ ।

अब ७ वटै प्रदेशमा महिलालाई मोटर स्पोर्टस्मा सहभागी गराउने उनले बताए । साथसाथै उनीहरूलाई सेफ्टी राइडिङको तालिम दिलाइनेछ । यसैगरी ‘स्कुल टु ट्रयाक’ अभियानअन्तर्गत विद्यार्थीलाई रेसिङमा सहभागी गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?