+
+

गोरख विष्टको संघर्ष !

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १८:०३

२८ फागुन, काठमाडौं । लामो कपाल । गोरो अनुहार । झट्ट हेर्दा, उनी सिनेमाको हिरोझैं देखिन्छन् । तर उनी सिनेमाको होइन, कर्णालीको भने ‘हिरो’ नै हुन् ।

उनी, अर्थात गोरख विष्ट । हुम्लाका ३८ वर्षका गोरख फागुन २७ गतेदेखि सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यानमा जारी ‘कर्णाली उत्सव : कुडा कर्णाली’मा आफ्ना कुडा (कुरा) राख्दै थिए ।

कर्णालीका साहसिक र कीर्तिमानी ‘पैकेलो’को कथा सुनाउन उनलाई बोलाइएको थियो । जब गोरखले आफ्ना संघर्षका कथाहरु सुनाउदै गए तब उत्सवको मञ्चमा सन्नाटा छाउँदै गयो । आवाज थियो त केवल, उनले सुनाउँदै गरेको कथाको पृष्ठभूमिमा बजेको मसिनो सांगीतिक धुनको ।

पेशाले उनी फोटोग्राफर हुन् । फोटोग्राफर बन्नकै लागि उनले गरेको संघर्ष फिल्मको कहानीजस्तै लाग्छ । हुम्लामा जन्मिएका गोरखले फोटोग्राफर बन्ने कल्पना समेत गरेका थिएनन् ।

गाउँमा हुँदा त उनलाई फोटो कसले खिच्छ भन्ने समेत थाहा थिएन । एसएससीको प्रवेश परीक्षा फारम भर्दा पहिलो पटक उनले फोटो खिचेका थिए । त्यो पनि ब्ल्याक एण्ड ह्वाइट् ।

कक्षा १२ को परीक्षा सकेपछि गोरख केही साथीहरूसँग मिलेर फोटो स्टुडियो सुरु गर्ने तयारीमा थिए । त्यहाँ फोटो खिच्ने जिम्मा गोरखले नै पाए । क्यामेरा नै नछोएका

गोरखले फोटो खिचुन् कसरी ? स्टुडियो नै सुरु गर्ने भनेपछि गोरख फोटोग्राफी सिक्न थाले ।

उनले दिनहुँ पत्रपत्रिकामा ठूलठूला तस्वीर छापिएको देख्थे । स्टुडियो फोटोग्राफी पछि उनले फोटो पत्रकारिता गर्ने सोच बनाए । केही उनले खिचेका फोटोहरू पत्रपत्रिकामा छापिए पनि । तर, त्यसले घरमा चुलो बाल्न र कलेजको शुल्क तिर्न पुग्दैनथ्यो ।

अनि गोरखलाई लाग्यो यो भन्दा केही फरक गर्नुपर्छ । उनले पत्रपत्रिकाले छाप्नेभन्दा केही फरक शैलीमा फोटोहरू खिच्न थाले । उनलाई थाहा थिएन, ती फोटोहरू छापिन्छन् वा छापिँदैनन् ।

एक पटक उनले चीनको कैलाश मानसरोवर जाने मौका मिल्यो । एउटा प्रोजेक्टको फोटोग्राफरको रूपमा उनी त्यहाँ पुगे । जुनबेला उनीसँग ५ सय रुपैयाँको सानो क्यामेरा थियो ।

मानसरोवर पुगेपछि गोरखले निकै सुन्दर दृश्यहरू देखे । प्रकृतिलाई फरक तरिकाले बुझ्न पाए । त्यहाँको दृश्यहरूलाई क्यामेरामा कैद गरेपछि गोरखलाई नेचर फोटोग्राफीमा रूचि बढ्यो । प्रकृति प्रति माया लाग्न थाल्यो ।

अन्ततः उनले त्यहीँबाट प्रकृतिमा नै रमाउने अठोट गरे । नेचर फोटोग्राफी गर्ने संकल्प गरे । ‘सोचेँ जे पर्छ, त्यही टर्छ । यसैपनि म हुम्लाबाट आएको मान्छे । भुइँमै छु, यो भन्दा तल जाने ठाउँ पनि त छैन’ गोरखले विगत सम्झिए ।

तर यात्रा त्यति सजिलो कहाँ थियो र ! जुन समय गोरख भोक र अभावसँग जुधेर फोटोग्राफीमा लागे । परिवार र समाजको प्रश्नबाट भागे ।

शिक्षक बन्ने सपना बोकेर काठमाडौं छिरेका उनलाई जागिर नखाएर फोटोग्राफर बन्ने सोच्नु नै चुनौतीपूर्ण थियो । किनकी, समाजले उनलाई बारम्बार प्रश्न गरिरहन्थ्यो– ‘तैले गर्छस् के ? पैसा कति कमाइस् ? यसरी कति दिन चल्छ हँ । तेरो फोटो कसले किन्छ ?’ उनी संग जवाफ थिएन ।

बरु उनी ‘भूमिगत’ भए । केही वर्ष परिवार र साथीहरुको सम्पर्कबाट हराए । त्यो बेला उनले गरेको संघर्ष साँच्चिकै कहालीलाग्दो छ । कमाउने कुनै बाटो थिएन, कसैसँग सहयोग माग्ने ठाउँ थिएन । कैयौं दिन उनले भोकै बिताए, कैयौं रात अनिदो ।

त्यसैले त होला गोरखले भन्ने गरेका छन्, ‘मसँग सबै कुराको घमण्ड गर्नुस् । तर, दुःख कति पाएँ भनेर घमण्ड नगर्नुस् ।’ यो दुःखमा पनि गोरखले फोटोग्राफीलाई छोड्न सकेनन् । आफ्नो रहर मारेनन् । सपनाको अगाडि अभाव र भोकलाई मतलब गरेनन् ।

नेचर फोटोग्राफी गरेको लामो समयसम्म पनि उनीलाई थाहा थिएन कि यो फोटोको अलग विधा हो । धेरै पछि उनले बुझे । उनले खिचेको फोटो त ल्याण्डस्केप रहेछ । प्रकृतिमा देखिने सुन्दर पक्षलाई उनले केन्द्रमा राखेर खिच्ने गर्थे ।

निरन्तरको मिहिनेत र लगावले सानो–सानो काम उनलाई आउन थाल्यो । २००८ को अन्ततिर उनलाई सगरमाथा क्षेत्रमा जाने अवसर मिल्यो । गोरख हुम्लामा जन्मिएपनि त्यत्रो हिमाल कहिल्यै देखेका थिएनन् । त्यही हिमालले उनलाई नेचर फोटोग्राफीमा झनै लगाव बढायो ।

उनले क्यामेरामै आफनो दुनियाँ देख्न थाले । सपना बुन्न थाले । क्यामेरा हतियार अनि आफूलाई सिपाही ठाने । र, उत्रिए फोटोग्राफीको युद्धमा ।

गोरखले सगरमाथामा स्काई डाइभिङका राम्रै तस्वीरहरू खिचे । आयोजकहरू पनि उनीसँग खुसी भए । पैसा पनि राम्रै पाए । त्यतिनै बेला उनले खिचेको तस्वीर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा छापिएको थियो । जुन कुरा गोरखले धेरै पछि थाहा पाए ।

अन्ततः गोरखको पर्खाइले सार्थकता पायो । विभिन्न प्रोजेक्टहरू आइरहे । निरन्तर काम पनि मिलिरह्यो । जसबाट उनले राम्रो पैसा पाए ।

अहिले गोरख कमै मात्र क्यामेरा समात्छन् । वर्षमा तीन महिना गरेको कामले उनलाई वर्षभरि पुग्ने कमाइ दिन्छ ।

क्यामेराले उनलाई जीवन मात्रै दिएन, प्रकृतिलाई चिन्ने अवसर दियो । खाने गास दियो । बस्ने बास दियो । सुख सयल दियो । नाम सौरत पनि दियो । उनी भन्छन्, ‘म क्यामेरा प्रति आभारी छु, क्यामेरा मेरो नशा भइसकेको छ ।’

उनी फोटो खिच्नलाई ट्राइपोर्ड राख्छन् । लेन्स घुमाउछन्, लाइट सेट गर्छन् । क्यामेरा मिलाउन थाल्छन् । क्यामेराको पछाडि बस्दाको जति खुसी भेटिने अर्को कुनै ठाउँ उनलाई लाग्दैन ।

फोटोग्राफीबारे गोरखको भनाइ जस्ताको तस्तै :

सानो हुँदा साथीहरुसँग स्कुल जाँदा, संगै खाँदा, खेल्दा उनीहरुले भन्थे, ‘यो त अमेरिकन जस्तो छ ।’ तर अमेरिकन कस्ता हुन्थे । हामीले देखेका थिएनौं । त्यतिबेला मलाई लाग्थ्यो, खैरो कपाल, गोरो छाला भएका मान्छेहरु नै अमेरिकन हुन् ।

प्रत्येक शुक्रबार हामी कर्णाली नदी किनार जान्थ्यौं । नदीमा पानी खेल्ने, बालुवामा बसेर घाम ताप्ने हाम्रा दैनिकी थिए । एक दिन, हामी किनारमा खेल्दै गर्दा माथिबाट धेरै डुङ्गाहरु बग्दै आए । राता, पहेला..। तीनै डुङ्गा हामी भएकै तिर आए अनि फोटो खिचिदिए । उनीहरुको हातमा थियो ठूलो कालो वस्तु । पछि थाहा भयो त्यो क्यामेरा रहेछ ।

त्यति नै बेला हो मैले क्यामेराले फोटो खिचेको देखेको । पछि एसएलसी दिनुअघि रजिष्ट्रेशन फराम भर्दा कालो (ब्ल्याक एण्ड ह्वाइट) फोटो खिचेर दिएको अहिले पनि याद छ ।

हामीले चिलगाडी (प्लेन) उडेको धेरै पटक देखेका थियौं । तर बस गुडेको कतै देखेनौं । सरले भनेका बस किताबमै गुड्थे । किताबमै रोकिन्थे । चिलगाडी आकाशमा उड्दै गर्दा बाआमाले त्यो चिलगाडीमा चढ्ने गरी ठूलो मान्छे बन्नु पर्छ भन्थे ।

एसएलसी पास गरेपछि हातमा सर्टिफिकेट र मनमा शिक्षक बन्ने सपना बोकेर त्यही चिलगाडीमा चढेर नेपालगञ्ज झरेको थिएँ । नेपालगञ्ज झरेपछि मलाई थाहा भयो । त्यहाँ खस भाषाको भ्यालु छैन, आफूले लगाएको कपडाको महत्व छैन । यहाँ मलाई बुझ्ने कोही छैन, मैले उनीहरुलाई बुझनु पर्छ ।

यहाँबाट सुरु भयो मेरो अर्को कथा । जो मैले कहिल्यै देखेको पनि थिइनँ, सुनेको पनि थिइनँ । भोग्ने त परको कुरा । कक्षा १२ को पढाइ सकेपछि काठमाडौंमा फोटोग्राफीको व्यवसाय सुरु गरेँ । पत्रपत्रिकामा ठूलाठूला तस्वीर छापिएको देख्थेँ । त्यो देखेर पत्रकार बन्ने सपना बुन्न थाले । फोटो पत्रकार बन्दा फोटो त छापिन्थ्यो तर घरमा चुलो भने बल्दैन्थ्यो । कलेजको फी तिर्न पुग्दैनथ्यो ।

अनि मलाई लाग्यो । यो भन्दा केही फरक गर्नुपर्छ । त्यसपछि मानसरोबर कैलाश जाने अवसर मिल्यो । त्यो बेला भिसा चाहिदैन्थ्यो । नागरिकता देखाए जान पाइन्थ्यो ।

त्यतिबेला एकजना साथीले दिएको पाँच सय रुपैयाँ र कोनका रेञ्ज फाइन्डर क्यामेरा लिएर गएँ । पहिलो पटक मानसरोवर कैलाश एकैसाथ देख्दा हषैविभोर भएँ । त्यहाँबाट बगेर आएको पानीले कर्णाली नदीमा धेरैपटक नुहाएको छु, खाएको छु ।

त्यहींबाट नेचर फोटोग्राफी गर्ने संकल्प गरेँ । ‘सोचे जे पर्छ, त्यही टर्छ, यसैपनि म हुम्लाबाट आएको मान्छे । भुइँमा छु, यो भन्दा तल जाने ठाउँ पनि त छैन ।’

निरन्तरको मिहिनेत र लगावका कारण स–सानो काम आइरहन्थ्यो । सन् २००८ को अन्तिम तिर सगरमाथा क्षेत्रमा जाने मौका मिल्यो । हुम्लामा जन्मिएको भएपनि त्यति ठूलो हिमाल मैले त्यस अघि देखेको थिइनँ ।

त्यही हिमालले मलाई नेचर फोटोग्राफीमा झनै लगाव बढ्न थाल्यो । अनि मैले क्यामेरामै आफ्नो दुनियाँ देख्न थाले । सपना बुन्न थाले । क्यामेरालाई हतियार र आफूलाई सिपाही देख्न थाले । जंगमा उत्रिए ।

क्यामेराले मलाई जीवन मात्रै दिएन, प्रकृतिलाई चिन्ने अवसर दियो । खाने गास दियो । बस्ने बास पनि दियो । सुख सयल दियो । नाम सौरत पनि दियो । म क्यामेरा प्रति आभारी छु । मलाई कहीं पुग्नु छैन । म संग भएको त्यही क्यामेरा भिरेर जहाँ पनि जान सक्छु । जे पनि गर्न सक्छु, मेरो कुनै गन्तव्य छैन ।

को मान्छे, कहाँ जन्मियो । कस्तो शिक्षा पायो । कस्तो रहनसहन छ । कहाँ पुग्ने हो ? उसको बाउ आमा को हो ? त्यो आफ्नो ठाउँमा महत्वपुर्ण होला । तर आफूले इच्छाएको काम गर्दै जाँदा कहिँं न कहिं पुगिदो रहेछ । पुग्न सकिने रहेछ ।

म हुम्लामा जन्मिएको मान्छेले खिचेको फोटो आज राष्ट्रपति कार्यालयमा झुन्डिदा मलाई गर्व लाग्छ । सपना देख्नका लागि पनि केही कुरा देखेको हुनुपर्ने रहेछ । तपाईंले गाडी गुडेको देख्नुनै भएको छैन भने कसरी गाडी गुडाउने सपना देख्नु हुन्छ ? केही देख्नु हुन्छ त त्यसलाई प्राप्त गर्न सम्भव हुन्छ ।

मैले पनि जिन्दगीमा फोटो ग्राफर बन्ने सपना कहिल्यै देखेको थिइनँ । १७ वर्षदेदिखनेपाल डुलिरहेको छु, हेरिरहेको छु । मलाई अहिले लाग्छ हुम्ला मात्रै मेरो घर हैन । पुरै प्रकृति नै मेरो घर हो ।

जब म फोटो खिच्नलाई ट्राइपोर्ड राख्छन् । लेन्स घुमाउँछु, लाइट सेट गर्छु । क्यामेरा मिलाउन थाल्छु । क्यामेराको पछाडि बस्दाको जति खुसी भेटिने अर्को कुनै ठाउँ छैन ।
यो मेरो भोगाइ हो । जे बोल्दै छु, भोगाइ बोल्दैछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?