+
+

संसद पुनर्स्थापनापछि राज्यका तीनै अंगमाथि विश्वास टुटेको छ : शंकर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते १५:५९

२८ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरेका कारण राज्यका तीनवटै अंगले काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा उनले संसद पुनर्स्थापना भएपछि व्यवस्थापिका, न्यायपालिका र कार्यपालिका कुनै अंगले पनि काम गर्न नसकेको बताएका हुन् ।

‘विघटित प्रतिनिधिसभा पुनर्स्थापित गरेपछिको अवस्था हेर्नुहोस त ? अदालत अदालत जस्तो छैन । सरकार सरकार जस्तो छैन । संसद संसद जस्तो छैन’ उनले थपे, ‘राज्यका तीन अंगमाथि जनताको विश्वास टुटेको छ । यो लोकतन्त्रमाथिकै संकट हो ।’

अब नयाँ जनादेश आएपछि मात्र ती अंगको विश्वास बढ्ने उनको दावी छ । ‘परमादेशी सरकार छ । त्यसकारण उसले जनादेश अनुसार राज्यका अंगमाथि विश्वास जगाउन सक्दैन, उसको उद्देश्य पनि त्यो रहेन । अब नयाँ जनादेशपछि तीनै अंगमा जनताको विश्वास बढ्छ’ उनले भने ।

एमाले २०७४ भन्दा बलियो

महासचिव पोखरेलले आफ्नो पार्टी २०७४ सालमा भन्दा थप बलियो भएको र आगामी चुनावबाट २०७४ मा भन्दा बढी स्थानीय तहहरु जित्ने दावी गरे ।

‘आउँदो स्थानीय चुनावले हाम्रो अवस्था देखाउँछ । हामी कमजोर छैनौं, २०७४ को भन्दा बलियो रुपमा आउँदैछौं’ उनले भने ।

पार्टी नेतृत्वको सरकारले सडक बनाएको, तुइन विस्थापन गरेको र राष्ट्रियतामा बलियोसंग काम गरेको भन्दै पोखरेलले दावी गरे ।

नेपालमा लोडसेडिङ अन्त्य पनि एमाले नेतृत्वको सरकारले गरेको उनको दाबी छ । ‘तर, अहिले प्राधिकरणको एउटा कर्मचारीलाई लोडसेडिङ अन्त्यको जस दिइँदैछ’ उनले भने ।

पोखरेलले नेकपा विघटन हुनुको कारण प्रचण्ड र माधव नेपाल नै रहेको बताए । प्रचण्डले ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक छोड्नुपर्छ भन्दा आफूहरुले अध्यक्ष पाउन महाधिवेशन कुर्नुपर्ने र प्रधानमन्त्री पाउन दलमा बहुमत चाहिने जवाफ दिएको उनले सुनाए ।

उनले थपे, ‘नेकपाको विभाजन केपी ओलीले दुईवटा मध्ये एउटा नछोडेको जस्तो भएको छ । के एक पद एक व्यक्ति प्रचण्ड र माधव नेपालले अहिले आफ्नो पार्टीमा लागू गर्नुएको छ ? छैन । त्यसकारण उहाँले केवल विभाजनका लागि यो विषय नेकपामा उठाएको उहाँहरुले नै प्रमाणित गर्नुभएको छ ।’

नेकपा विभजान हुनुका पछाडि एमसीसी पनि रहेको स्वीकार गर्दै उनले भने, ‘हामीले अगाडि बढाऔं भन्दा सभामुख तयार भएनन् । हामीले सभामुखले रोक्न मिल्दैन भन्यौं । तर, उहाँहरुले चर्को रुपमा विरोध गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?