+
+

सर्वोच्चका मुख्य रजिष्ट्रार कुँवरले अस्वीकार गरे न्यायाधीश पद

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १७:५१

४ चैत, काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरले उच्च अदालतको न्यायाधीश पद अस्वीकार गरेका छन् ।

न्यायपरिषदले २६ फागुनमा कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद मुख्यसचिव सरहको हो । मुख्य रजिष्ट्रारहरु उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस हुने प्रचलन रहेकोमा आफूलाई न्यायाधीशमा सिफारिस गरिएको भन्दै कुँवर असन्तुष्ट थिए ।

सिफारिसको डेढ सातापछि कुँवरले कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आफू उच्च अदालतको न्यायाधीशका लागि अनिच्छुक रहेको भनी निवेदन दिएका हुन् । ‘मलाई हालका लागि मुख्य रजिष्ट्रार पद नै उपयुक्त छ । उच्च अदालतको न्यायाधीशमा जाने कुनै रुची छैन भनी लिखित निवेदन दिनुभएको हो’ सर्वोच्च अदालत प्रशासनस्रोतले भन्यो, ‘अहिले मुख्यरजिष्ट्रार पदमा नै कार्यरत रहिरहन पाँउ भनी उहाँले लिखित निवेदक दिनुभएको हो ।’

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई न्यायाधीश बनाउने मापदण्डमा एकरुपता छैन ।

पहिलो मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालतको मुख्य न्यायाधीशमा सिफारिस भई नियुक्त भएका थिए । उनी पछिका मुख्यरजिष्ट्रार राजन भट्टराई उच्च अदालतका न्यायाधीश मात्रै भए । तेस्रो मुख्यरजिष्ट्रार नृपध्वज निरौला मुख्य रजिष्ट्रार भए ।

अहिलेका कुँवर चौथो मुख्य रजिष्ट्रार हुन् । आफूलाई अपमानपूर्वक उच्च अदालतको न्यायाधीशमा मात्रै सिफारिस गरिएको उनको बुझाई छ ।

सर्वोच्च अदालतको संस्थापनले भने मुख्य रजिष्ट्रार कुँवरले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको अनुकुलमा काम गरेको दाबी गर्छ । कानून व्यवसायीहरुको आन्दोलनको दमनमा सुरक्षाबल परिचालन गरेको लगायतको आरोपमा असन्तुष्ट अहिलेको नेतृत्वले कुँवरलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सीमित गरेर सिफारिस गरेको न्यायपरिषदका एक सदस्यले बताए । कुँवरले भने आफूले कुनै गल्ती नगरेको र कारवाही पनि गर्न नसक्ने भएकाले उच्च अदालतको न्यायाधीशमा जानुभन्दा बरु सर्वोच्च अदालतको रजिष्ट्रार पदमै रहने भनी कुँवरले प्रधानन्यायाधीशलाई निवेदन लेखेका हुन् ।

एउटा मात्रै पद भएकाले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारलाई अन्यत्र सरुवा गर्न मिल्दैन । दैनिक कार्यसम्पादनका क्रममा कुनै त्रुटी वा गलत काम गरेको अवस्था बाहेक उनीमाथि कारवाही गर्न समेत कामू प्रधानन्यायाधीशलाई कठिन हुन्छ ।

न्यायाधीशको पद स्वेच्छिक भएकाले उनले त्यसलाई अस्विकार गरेर सर्वोच्च अदालतमै मुख्य रजिष्ट्रारको रुपमा रहने निर्णय गर्न पाउँछन् । कुँवरलाई उच्च अदालतको न्यायाधीशमा मात्रै सिफारिस गरेकोमा सर्वोच्च अदालतका केही कर्मचारी समेत असन्तुष्ट छन् ।

केही कर्मचारी संगठनहरुले समेत साथ दिएकाले मुख्यरजिष्ट्रार कुँवर उच्च अदालतको न्यायाधीशमा नजाने र अहिलेको पदमा रहने अडान राख्ने निष्कर्षमा पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?