+

ब्याटरहरु धैर्य नबन्‍दा यूएईसँग नेपालको हार

२०७८ चैत  ४ गते १९:४६ २०७८ चैत ४ गते १९:४६
ब्याटरहरु धैर्य नबन्‍दा यूएईसँग नेपालको हार

४ चैत, काठमाडौं । १६९ रनको लक्ष्य पूरा गर्न नसक्दा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यूएईसँग ४८ रनको हार ब्यहोरेको छ ।

जिम्मेवारी लिन नसकेको भन्दै नेपालको ब्याटिङ प्रदर्शनको आलोचना भइरहेको छ । आईसीसी विश्वकप लिग टूमा पहिलो खेल बुधबार नेपालले पपुवा न्युगिनीलाई २ विकेटले हराएको थियो ।

क्रबार भने घरेलु टोलीविरुद्ध सुरुवातदेखि नै नेपाली ब्याटरहरु धैर्य देखिएनन् । एक वर्षअघि विश्वकप विजेता प्रशिक्षक डेभ ह्वाटमोरले सिकाएको ‘फियरलेस ब्याटिङ’ शैली यस शृंखलामा कार्यान्वयन हुन सकेन । ५० ओभरको खेलमा १२० रनमै अलआउट हुनुलाई नेपाललाई एकदिवसीय मान्यता दिलाउने प्रशिक्षक जगत टमाटाले खेलाडीमा धैर्य अभाव देखेका छन् ।

‘टी–२० र एकदिवसीय क्रिकेट पक्कै फरक हुन्छ । तर, खेलाडीहरुले धैर्य भएर ब्याटिङ गर्न सकेनन् । ब्याटिङ गर्दा सट सेलेक्सन धेरै मह्तवपूर्ण हुन्छ,’ तीन वर्षअघि यूएईविरुद्ध उसकै भूमिमा नेपाललाई शृंखला जिताएका टमाटाले भने, ‘आज नेपाली ब्याटरले राम्रो खेल्न नसकेकै हो ।

युएई १६८ रनमै अलआउट भएको पीचमा ब्याटिङ गर्न पक्कै सहज थिएन । जर हामीले आज योजना कार्यान्वयन गर्न सकेनौं । ब्याटिङ गर्नेबेला पक्कै पनि योजना बनेको थियो । त्यसलाई लागू गर्न खेलाडीहरु चुके ।’

थोरै लक्ष्य हुँदा ब्याटरले सहज रुपमा खेल्नुपर्नेमा अनावश्यक सट सेलेक्सन तथा फास्ट बलिङमा ट्याकल गर्न नसक्नुलाई पनि टमाटाले हारको कारण मानेका छन् । उनले थपे, ‘नयाँ बल र तीव्र राम्रोसँग खेल्न सक्नुपर्छ । दुईवटा राम्रो साझेदारी भएको भए गाह्रो थिएन तर क्षमता अनुसार खेल भएन ।’

नेपाली टिम एकदिवसीयमा अभ्यस्त हुन नसकेको हो ? भन्ने प्रश्नलाई प्रशिक्षक टमाटाले अस्वीकार गरे । ‘तीन वर्षअघि एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता त्यसै आएको होइन । नेपालजत्तिको एसोसिएट देशले एकदिवसीयमा अभ्यस्त नभएर खेल हार्ने छुट पाउँदैन । आजको दिन हाम्रा ब्याटरहरुले आफ्नो क्षमता देखाउन नसकेका हुन्,’ टमाटाले प्रष्ट पारे ।

राष्ट्रिय टिमका पूर्वकप्तान पवन अग्रवालले १६९ रनको लक्ष्य पनि पूरा गर्न नसक्नुलाई गम्भीर समीक्षा गर्नुपर्ने बताए । ‘हामीसँग क्रिकेट संरचना छैन । अरु टिम राम्रो हुँदै गएका छन् । तर हामी सहभागितामै छौं । आधारभूत रुपमा सोच्दा हारको कारण यही हो । एक दिनको हार प्राविधिक कुरा हो,’ उनले थपे, ‘युएई अहिले निकै राम्रो भएर आएको छ । हामीभन्दा राम्रो प्रदर्शन गरिरहेको छ । तर, यति थोरै लक्ष्य पूरा गर्न नसक्नु भनेको हामी धेरै कुरामा विचार गर्नुपर्नेछ ।’

पवनले यूएईसँग शुक्रबारको हारमा प्राविधिक कारणबारे केहि बताएनन् । नेपाल क्रिकेट टिमको सुविधाका लागि आवश्यक कुनै पनि कुराहरु पूरा नहुँदा नजिताको आशा गर्न नहुने सैद्धान्तिक तर्कमै उनको जोड थियो ।

यूएईसँगकै टी–२० मा भन्दा एकदिवसीयमा कम लक्ष्य पाए पनि नेपालले भेट्टाउन सकेन । १६९ रनको लक्ष्य पछ्याएको नेपालले पूरा ओभर समेत खेल्न सकेन र ३५.१ ओभरमा १२० रनमै अलआउट हुँदै ४८ रनले पराजित भयो । लक्ष्य सामान्य देखिए पनि नेपाली ब्याटरहरु क्रिजमा लामो समय टिक्न नसक्दा १४.५ ओभर बाँकी छँदै यूएईका बलरले पूरै नेपाली टिमलाई पभेलियन फर्काइसकेका थिए ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक खेल्दा पहिलो इनिङ्समा नेपाली बलरले यूएईलाई सुरुवातदेखि नै दबाबमा राखेका थिए । सोमपाल कामीले ४ र करण केसीले ३ विकेट लिएपछि बलरले आफ्नो काम पूरा गरेका थिए । तर ब्याटरहरु आफ्नो जिम्मेवारीबाट बिचलित भए ।

रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन जोडे । उनी एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको पाँचौं अर्धशतकबाट ४ रनले चुके । रोहितले बुधबार पपुवा न्युगिनीविरुद्ध ६० रन बनाएका थिए ।

गत वैशाख डेभ वाटमोरको आगमनपछि खुलेर ब्याटिङ गर्न थालेको नेपाली क्रिकेट टोली पछिल्लो समय ब्याटिङमै चुक्दै आएको छ । एक महिनाअघि ओमानमा भएको टी–२० विश्वकप छनोटमा पनि ब्याटिङ नचल्दा नेपाल सेमिफाइनलमा युएईसँग हार्दै ८ वर्षपछि टी–२० विश्वकपमा छनोट हुन असफल भएको थियो ।

यस पटक पनि उस्तै नतिजा दोहोरियो । लिग टू को अघिल्लो खेलमा पुवा न्यु गिनीविरुद्ध २०५ रनको लक्ष्य पूरा गर्न नेपालले ८ विकेट गुमाएको थियो ।

त्यस खेलमा रोहितकुमार पौडेल र आरिफ शेखले सुझबुझ ब्याटिङ गरेका थिए भने करण केसीले फिनिसरको भूमिका निभाएका थिए । तर यस पटक भने रोहितले इनिङ्स सम्हाल्ने प्रयास गरे पनि उनलाई अन्य खेलाडीले गतिलो साथ दिन सकेनन् ।

ज्ञानेन्द्र मल्ल र रोहितबीच चौथो विकेटका लागि भएको ५५ रनको साझेदारी नै नेपालको इनिङ्समा सर्वाधिक साझेदारी बन्यो । त्यसबाहेक नेपालको साझेदारी राम्रो हुन सकेन ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले २८ र कुशल भुर्तेलले ११ रन जोडे । अन्य खेलाडीले दोहोरो अंकमा रन छुन समेत सकेनन् ।

पाँचौ ओभरमा दुवै ओपनर आउट हुँदा सुरुमै नेपाललाई झड्का लागेको थियो । दीपेन्द्रसिंह ऐरी पनि नवौं ओभरमा आउट भएपछि नेपाल २७–३ को स्थितिमा पुग्यो ।

त्यसपछि ज्ञानेन्द्र र रोहितले इनिङ्स सम्हाल्ने प्रयास गरे तर लामो समय टिक्न सकेनन् । ज्ञानेन्द्र २३औं ओभरमा आउट भए । लगत्तै २४औं ओभरमा आरिफ शेख खाता नखोली आउट हुँदा नेपाल ८५–५ को स्थितमिा पुग्यो । लगातार दोस्रो अर्धशतक नजिक पुगेका रोहित ३०औं ओभरमा आउट भए ।

त्यसपछि नेपालको धरासयी पारी सम्हाल्ने कोही भएनन् । ३१औं ओभरमा सोमपाल कामी र कमल सिंह ऐरी लगातार आउट भएपछि नेपालले १०८ रनमै ८ विकेट गुमायो । त्यसपछि कप्तान सन्दीप लामिछाने र करण केसी आउट हुनु हारको लागि औपचारिकता बन्यो ।

यस हारपछि लिग टू मा नेपाल १० खेलबाट १० अंकसहित छैटौं स्थानमै छ । युएई १६ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा छ । सन् २०२३ को एकदिवसीय विश्वकप छनोटका लागि प्रारम्भिक छनोट प्रक्रियासमेत रहेको प्रतियोगितामा युएईसँगको यो हारपछि नेपालका आगामी खेलहरु झनै चुनौतिपूर्ण हुनेछन् ।

नेपाल यूएई विश्वकप लिग टू
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय