९ चैत, काठमाडौ । पिठ्युँमा रातो रंगको ‘पठाओ फुड’ लेखेको झोला भिरेर रंग उडेको साइकलमा राजकुमार दाहाल खाने कुरा पुर्याउन भत्केको पुलबाट बौद्ध जाने तयारीमा थिए ।
पुरानो साइकल उकालोमा डोर्याउनु पर्छ । सिधा बाटोमा पाइडलमा जोर लगाइरहनु पर्छ । साइकलमा बल लगाउँदै उपत्यकाका गल्ली गल्ली चहार्ने राजकुमारको जोश भने कमको छैन । उनी बिहान ९ बजेदेखि नै ग्राहकको सेवामा लाग्छन् । त्यही पुरानो साइकलले उनको परिवारको राम्रै गुजारा चलाएको छ ।
आइतबार हामीले भेट्दा उनी त्यही पुरानो साइकलमा भत्केको पुलस्थित तुमदेन सेकुवा पुगेका थिए । सेकुवा बनाउन समय लाग्ने भएपछि हामीले उनीसँग कुरा गर्ने मौका पायौं । नत्र, उनलाई गफ गरेर बस्ने फुर्सद कहाँ हुन्छ र !
संखुवासभाको मादी नगरपालिकाका हुन् राजकुमार । १० महिना भयो उनले पठाओको फुड डेलिभरी ब्वाइको काम गर्न थालेको । ३१ वर्षका उनी आफ्नो कामबाट सन्तुष्ट छन् । यो काम थालेपछि कमाई पनि पहिले भन्दा राम्रो भएको र काममा तनाव पनि नभएको उनले सुनाए ।
‘फुड डेलिभर गर्ने काममा आनन्दै छ’, राजकुमार भन्छन्, ‘कसैको तनाव, टर्चर सहनु/सुन्नु परेको छैन । कमाइ पनि अन्य कामको तुलनामा राम्रो भइरहेको छ ।’
यसअघि बाइक/स्कुटर भएकाले मात्र फुड डेलिभर गरिरहेकामा अहिले साइकलमा यो काम गर्नेको संख्या बढ्दै गएको छ । ‘छ-सात वर्षअघि ५ हजारमा किनेको सामान्य साइकलले अहिले मासिक ५० हजार रुपैयाँसम्म कमाइरहेको छ’, उनी भन्छन्, ‘काम गर्न चाहनेहरुलाई पठाओले राम्रो अवसर दिएको छ ।’
यसअघि उनी चाबहिलको फर्निचर पसलमा काम गर्थे । त्यो कामबाट परिवार धान्न हम्मेहम्मे परेपछि उनी नयाँ अवसरको खोजीमा थिए । एक दिन मोबाइल खेलाउँदै गर्दा उनले एउटा लिंक देखे, जसमा साइकल चलाएरै मासिक ४०-५० हजार कमाउन चाहनेले सम्पर्क गर्न भनिएको थियो ।
उनले लिंक खोलेर पठाओको अफिस भिजिट गरे । पठाओले उनलाई काम गर्न १० हजार डिपोजिट गर्न भन्यो, तर उनीसँग पैसा थिएन । अनि कम्पनीले नागरिकताको फोटोकपी र बैंक खाता नम्बर लिएर काम दियो ।
फर्निचरभन्दा अगाडि ३ वर्ष मलेसिया र ३ वर्ष खाडीमा काम गरेर फर्केका थिए, राजकुमार दाहाल । कतैपनि गतिलो कमाइ र बचत नभएर दिक्क थिए उनी ।
संखुवासभामा प्लस टु सकेर २०६४ सालमा काठमाडौं पसेका थिए उनी । यसबीचमा पशुपति बहुमुखी क्याम्पसबाट स्नातक गरेका उनी नायब सुब्बा लगायत सरकारी जागिरमा जाने प्रयास विफल भएपछि खाडीतिर लागेका थिए ।
अहिले उनी दैनिक २० वटासम्म फुड अर्डर लिएर साइकलमा १५-२० किलोमिटर कुद्छन् । एक अर्डर डेलिभर गर्दा १०० पारिश्रमिक र ६०-७० रुपैयाँसम्म बोनस पाउने गरेको उनले बताए ।
‘दशैंतिहारको बेला यसरी नै ६० हजारसम्म कमाइ भयो’, उनले भने, ‘अब चाहिं नयाँ साइकल वा सेकेण्डह्याण्ड बाइक लिने बिचार गर्दैछु ।’
चाबहिलमा ७ हजारमा दुई कोठा लिएर बसेका राजकुमार यो पेशालाई निरन्तरता दिने सोचमा छन् ।
०००
प्रविधिले कसरी युवालाई रोजगारीमा जोडिरहेको छ भन्ने प्रमाण हो, पठाओ । पठाओले हजारौं युवालाई मोटरसाइकलमा राइड सेयरको अवसर दिएर मात्रै हैन, साइकल मात्रै हुने वर्गलाई पनि कामसँग जोडेर रोजगारी दिइरहेको छ, यसले धेरै युवालाई काठमाडौंमा बसेर जीविकोपार्जन गर्न सहज बनाइदिएको छ।
भोजपुरको अन्नपूर्ण गाउँपालिका-३, का २३ वर्षीय रुपकराज राई पनि नौ महिनायता काठमाडौं सहरमा साइकलमा फुड डेलिभर गरिरहेका छन् । उनले पठाओमा फुड डेलिभर ब्वाइका रुपमा काम गर्ने निश्चित भएपछि १२ हजारमा नयाँ साइकल किनेका थिए ।
‘विदेशमा यहाँभन्दा पाँच गुणा बढी काम गर्दा पनि यती कमाइ हुँदैन’, उनी भन्छन् ‘नेपालमै मिहिनेत गर्नेका लागि पठाओले राम्रो अवसर जुराइदिएको छ ।’
यसअघि दुबईमा काम गरेका रुपकराजले काठमाडौंमा डेलिभरी ब्वाईले मेहेनत अनुसार कमाइ गर्ने बताए । ‘विदेशमा महिनाको ३० हजार बचाउन मुस्किल हुन्थ्यो’, प्लस टु गरेका उनले भने, ‘अहिले स्वदेशमै मासिक ४०-५० हजार बचाइरहेको छु ।’
०००
काठमाडौं बौद्धका २५ वर्षीय सुनिल लामा पठाओको रोजगारीले आफूलाई विदेशिनको दुःखमा फर्किनबाट रोकेको बताउँछन् । गत असारदेखि साइकलबाट फुड डेलिभरी गर्न थालेको उनले केही महिनापछि स्कुटर किनेको बताए ।
‘दुई वर्ष खाडीमा काम गर्दा दुःख अनुसार कमाइ हुने देखिनँ’, उनले भने, ‘म नेपालमै यो कामलाई निरन्तरता दिन चाहन्छु । परिवारसँगै बसेर मासिक ४०-५० हजार कमाउनु मेरो लागि ठीक कुरा हो ।’ पठाओ कम्पनीले आफूजस्ता काम गर्न चाहने युवाका लागि राम्रो रोजगारी सिर्जना गरिदिएको उनले सुनाए ।
गत जेठ अन्तिमतिर एक दिन नक्साल पुगेको बेला ‘पठाओ फुड’ लेखिएको झोला बोकेका साइकल यात्री नदेख्दासम्म लामालाई काठमाडौंमा फुड डेलिभर गर्ने पेशा पनि छ भन्ने थाहा थिएन ।
त्यसपछि उत्सुक बनेका उनी सोधखोज गर्दै पठाओको कार्यालय पुगे । ‘त्यहाँ नयाँ-पुराना साइकलमा फुड डेलिभरीमा जुटेका साथीहरुको हुलमा म पनि जोडिन पुगें’, लामा भन्छन्, ‘खासमा नक्सालमा दौडिरहेको त्यो पुरानो साइकलले मलाई यो बिल्कुलै नयाँ रोजगारी दिलायो ।’
सुनिलले नक्सालमा देखेको त्यो पुरानो साइकल राजकुमार दाहालको त थिएन ? ‘यो सहरमा मेरो भन्दा पुरानो साइकल सायदै कसैको होला’, राजकुमार हाँस्दै भन्छन्, ‘जेठतिर कैयौं चोटी नक्साल पनि पुगेकाले सुनील भाइले मेरै साइकल देखेका हुन सक्छन् ।’
अहिले १६१ जनाले पठाओ नेपालमा आवद्ध भएर साइकलबाट फुड डेलिभरी गरिरहेका छन् । ‘साइकल मात्र हुनेलाई पनि रोजगारीको अवसर होस् भनेर हामीले यो आइडिया ल्याएका हौं,’ कम्पनीकी मार्केटिङ म्यानेजर सुरक्षा हमाल भन्छिन्, ‘एकजनाको मात्र भए पनि जीविकामा सहयोग पुगे हामी खुसी हुनेछौं ।’
तस्वीर/भिडियो : शंकर गिरी
प्रतिक्रिया 4