९ चैत, काठमाडौं । प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्न नसक्ने भन्दै सर्वोच्च अदालतमा रिट दिएका कानुन व्यवसायी गणेश रेग्मीले आफूले कसैको इशारामा रिट नदिएको प्रष्टिकरण दिएका छन् ।
बुधबार संवैधानिक इजलासमा संवैधानिक परिषदले गरेका नियुक्ति सिफारिसविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा उनले आफूलाई बुख्याँचा अधिवक्ताको रुपमा प्रस्तुत गरेको भन्दै असन्तुष्टि जनाए ।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशपछि बसेको संवैधानिक परिषदको बैठकले विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति सिफारिस गरेको थियो । उक्त सिफारिसविरुद्ध प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धसमेत सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।
सो मुद्दा प्रधानन्यायाधीशसहितको संवैधानिक इजलासले हेर्न नमिल्ने भन्दै कानुन व्यवसायीहरुले प्रश्न उठाएपछि प्रधानन्यायाधीश जबराले आफू मुद्दा सुनुवाइ सुरु हुने दिन विदा बस्ने बताएका थिए । तर अधिवक्ता गणेश रेग्मीले प्रधानन्यायाधीशविना संवैधानिक इजलास बस्नै नसक्ने भन्दै रिट दायर गरेपछि न्यायाधीश हरि फुयालको इजलासले प्रधानन्यायाधीविनाको संवैधानिक इजलास बस्न नमिल्ने अन्तरिम आदेश दिएको थियो ।
त्यसपछि अधिवक्ता रेग्मीमाथि संवैधानिक नियुक्तिविरुद्धको मुद्दा सुनुवाइ रोक्ने उद्देश्यले कसैको इशारामा मुद्दा हालेको भन्ने आरोप लागेको थियो । बुधबार संवैधानिक इजलासमा त्यसबारे प्रष्टीकरण दिएका अधिवक्ता रेग्मी आफूले संविधानले प्रधान न्यायाधीशविनाको संवैधानिक इजलास परिकल्पना नगरेको मात्र बताउन खोजेको बताए ।
‘संवैधानिक इजलासमा प्रधानन्यायाधीश नहुनु संविधानको परिकल्पना पनि होइन । प्रधानन्यायाधीश बस्नैपर्छ भनेर आएको हुँ’ उनले भने, ‘ म पपेट बनेको हुदै होइन ।’
प्रतिक्रिया 4