९ चैत, काठमाडौं । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका शिक्षकलाई पक्राउ गर्न जाँदा भएको झडपमा एक जना महिला प्रहरीको मृत्यु भएको घटनामा छानबिन गर्न समिति बनेको छ ।
प्रदेश नं. १ प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र चौधरीको नेतृत्वमा छानबिनका लागि समिति बनाइएको केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले अनलाइनखबरलाई बताए । उनले भने, ‘समितिलाई घटनाबारे छानबिन गरेर यथाशीघ्र प्रतिवेदन बुझाउन भनिएको छ ।’
मोरङको लेटाङ नगरपालिका–५, खेरुवास्थित शिक्षा विकास माविमा भएको घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले सार्वजनिक अभिव्यक्ति दिएका छन् ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार घटनामा स्थानीय ठाउँका केही उछृङ्खल युवाहरुको संलग्नता देखिएको छ । एक अधिकृत भन्छन्, ‘अनुसन्धान अझै जारी छ, तर यो घटना आन्दोलनकारीभन्दा पनि स्थानीयस्तरका केही गलत मनसायका व्यक्तिबाट भएको हो ।’
प्रतिक्रिया 4