
१० चैत, काठमाडौं । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघले रौतहटको गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानले नयाँ दरखास्त आह्वान गर्दा शैक्षिक योग्यताको मापदण्ड मिचेको भन्दै आपत्ति जनाएको छ । उक्त मापदण्ड सच्याएर अविलम्ब परिमार्जित सूचना प्रकाशित गर्न पनि संघले आग्रह गरेको छ ।
स्वास्थ्य सेवा तथा अस्पताल व्यवस्थापन विषयमा स्नातक तथा स्नातकोत्तर पूरा गरेका जनशक्ति देशमा पर्याप्त हुँदाहुँदै प्रतिष्ठानले प्रकाशित गरेको सूचनामा अस्पताल प्रशासक तथा सहायक प्रशासक पदका उम्मेदवारको शैक्षिक योग्यता त्यसअनुसार उल्लेख नगरिएको गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ ।
संघका महासचिव होमप्रसाद अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगत २० वर्षदेखि स्वदेश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट स्वास्थ्य सेवा/अस्पताल व्यवस्थापन विषयको स्नातक तथा स्नातकोत्तर अध्ययन पूरा गरी स्वास्थ्यको क्षेत्रमा सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरुमा कार्य गरिरहेको र देशमा यससम्बन्धी प्रशस्त जनशक्ति समेत रहेको हुँदा उक्त जनशक्तिलाई प्राथमिकता दिनुपर्ने सम्बन्धमा यस संघ जोडदार माग गर्दछ ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल व्यवस्थापन सुदृढीकरण कार्यक्रम अन्तर्गत न्यूनतम सेवा मापदण्ड, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड-२०७७ अनुसार अस्पताल व्यवस्थापक, अस्पताल व्यवस्थापन विषयमा स्नातक वा स्नातकोत्तर अध्ययन गरिएको पनि संघले उल्लेख गरेको छ ।
प्रतिक्रिया 4