+
+

त्रिभुवन राजपथका २५ वटा घर भत्काइयो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १९ गते ८:०१

१९ चैत, वीरगञ्ज । त्रिभुवन राजपथअन्र्तगत वीरगञ्ज-पथलैया सडकखण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका घर-टहरा भत्काइएको छ ।

व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले सडक क्षेत्र अतिक्रमण गरेर बनाएको २५ वटा घर भत्काएको हो ।

बारा र पर्साका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा जनपथ र सशस्त्र प्रहरीसहित ६३ जनाको टोली सडक अतिक्रमण हटाउन खटिएको थियो ।

सडक अतिक्रमण हटाउने क्रममा स्थानीय महिला आएर विरोध जनाएपछि महिला सुरक्षाकर्मी टोलीसमेत खटाइएको थियो ।

परवानीपुरमा १९ वटा मध्ये ९ वटा र जीतपुरमा १७ वटामध्ये १६ वटा घर भत्काएर सडक सीमा खाली गरिएको व्यापारिक मार्ग विस्तार योजना कार्यालयका प्रमुख इन्जिनियर मनिषकुमार साहले जानकारी दिए ।

‘यसअघि अतिक्रमण हटाउँदा गरिब छु १० इन्च छोडिदिनुस, पिलर जोगाइदिनुस भनेर काममा खटिएका साथीहरूलाई आग्रह गर्ने, धम्की दिने गरेछन्’ उनले भने, ‘परवानीपुरमा २०० मिटरमा ५० मिटर सडक सीमा ४८ मिटर मात्रै थियो, नाली नै बांगो देखिन्थ्यो । १९ वटा जति घर सडक सीमा क्षेत्रभित्र रहेछ, आज ९ वटा हटाएका छौं, भोलि बाँकी हटाउँछौं ।’

जीतपुरमा भने आयोजना कार्यालयले सूचनाको म्याद सकिएको भोलिपल्ट चैत १६ गतेदेखि नै अतिक्रमण हटाउन सुरु गरेको थियो । १७ वटा मध्ये १६ वटा घर भत्काइसकिएको आयोजना कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।

‘बाँकी रहेको एउटा घर भत्काउन आज मेसिन पठाएका थियौं, सूचनाको बारेमा जानकारी थिएन भन्दै सुरुमा कर्मचारीलाई धम्की दिए,’ उनले भने, ‘पछि आफैं भत्काउँछु भनेर लिखित रुपमै ४ दिनको समय मागेका छन् । अब सडक सीमा खाली नगरे डोजर चलाउँछौं ।’

जीतपुरमा पनि यसअघि नै सडक अतिक्रमण गरेर बनाएको संरचना हटाइसकेको भए पनि कतिपय मानिसहरूले नालामा सटाएर घर बनाएका थिए ।

व्यापारिक मार्ग अन्तर्गत नै ड्राइपोर्ट क्षेत्रमा पनि ३ वटा घर सडक सीमा अतिक्रमण गरेर बनाइएको छ । त्यसलाई पनि छिट्टै हटाउने योजन कार्यालयले जनाएको छ ।

सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि पथलैया क्षेत्रको फुटपाथ खाली गर्ने योजना कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।

चैत १ गते नै कार्यालयले पथलैया-जीतपुर-परवानीपुर-गण्डक सडक र परवानीपुर ड्राइपोर्ट-आईसीपी सडकखण्डको केन्द्रविन्दुबाट २५/२५ मिटर भित्र पर्ने सम्पूर्ण सरकारी नीजि घर टहरा, पर्खाल आदि भत्काउन १५ दिने सूचना जारी गरेको थियो ।

आफैं हटाएर विकास निर्माण कार्यमा सहयोग गर्न आग्रह गरिएको थियो । अटेर गरेमा सडक सीमा अतिक्रमण गर्ने उपर सार्वजनिक सडक ऐन २०३१ को दफा १९ को -१), (२) र -३) बमोजिम कारबाही गर्ने चेतावनी समेत सूचनामा दिइएको थियो ।

चैत १५ गतेसम्म सडक सीमाभित्रका संरचना हटाइ नलगेमा संरचना भत्काउन बाध्य हुने र क्षतिको जिम्मेवार सम्बन्धित पक्ष नै हुने सूचनामा उल्लेख थियो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरि ०७२/०७३ सालमै ठेक्का लागेको वीरगञ्ज पथलैया व्यापारिक मार्ग ६ वर्ष वितिसक्दा पनि काम सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?