+
+

पोखराको टोलीलाई देउवाले भने : गठबन्धनको बाध्यता बुझिदिनुस्

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १८:२६
पोखराबाट आएको कांग्रेस नेताहरुको टोली नेता यज्ञबहादुर थापा (बाँया) र कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा ।

३० चैत, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनको बाध्यता बुझिदिन पोखराबाट आएका नेता कार्यकर्तासँग आग्रह गरेका छन् ।

पोखरा महानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै आएको नेताहरुको टोलीलाई प्रधानमन्त्री देउवाले कुन महानगर कुन पार्टीले लिने भन्ने विषयमा प्रवेश नै नभएको समेत बताएका थिए ।

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै टोली नेतासमेत रहेका पूर्वमन्त्री यज्ञबहादुर थापाले भने,‘तपाईंहरु हतारिएर आउनुभयो । कसलाई कुन दिने निर्क्यौल भएकै छैन ।’

प्रधानमन्त्रीको ‘बडी ल्याङ्वेज’ हेर्दा सत्ता गठबन्धनका दललाई चिढ्याउन नहुने मनसायमा रहेको देखिएको थापाले बताए । ‘जुन दलहरुसँग मिलेर हाम्रो सरकार बनेको छ । जुन दलसँग मिलेर प्रदेश सरकार बनेको छ’, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै थापाले भने,‘जुन दलसँग मिलेर भोलि प्रदेश र केन्द्रको निर्वाचन गराउनु छ । गठबन्धन जोगाउनका लागि कांग्रेस अलिकति लचिलो हुनैपर्ने बाध्यता कांग्रेसलाई छ,यो कुरा बुझ्नुस् ।’

प्रधानमन्त्रीको अभिव्यक्ति र हाउभाउले पोखराको मेयरमा कांग्रेसले उम्मदेवार बनाउन पाउँदैन कि भन्ने आशंका जीवित रहेको थापाले बताए ।

पोखराको टोलीले प्रधानमन्त्री तथा पार्टी सभापति देउवालाई पार्टी केन्द्रीय कार्यालय सानेपा भेटेको थियो । ‘४०/४५ मिनेट हामीले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्यौं । हाम्रो शक्ति र विगतको परिणाम प्रधानमन्त्रीसँग राख्यौं’, थापाले अनलाइनखबरसँग भने, ‘अरु कुरामा लचिलो बनेर जान पोखरामा कांग्रेस तयार छ । मेयर हामीले राखेर जानुपर्ने कारण सहित तथ्य तथ्यांक राख्यौं ।’

पोखराका कांग्रेस नेताहरुले अन्य दलले केन्द्रमा पठाएको वस्तुगत अवस्था र कांग्रेसको अवस्था मेल नखाने पनि बताएका थिए । अरु दलबाट अलि रतिरञ्जित तरिकाले रिपोर्टिङ आएको थापाले बताए । उनीहरुले माओवादी र एकीकृत समाजवादीको अवस्था राम्रो नभएको भन्दै कांग्रेसले मेयर पद छाड्दा थपिएका नयाँ मतदातामा गलत सन्देश जाने र आगामी निर्वाचनमा हानी हुने देउवालाई सुनाएका थिए ।

पूर्वमन्त्री थापाले पोखरामा आफूहरु बिद्रोह नै गर्ने पक्षमा नरहेको बताएका छन् । यदि अन्य दलले मेयरको उम्मेदवारी पाउने अवस्था रहे कांग्रेसले असहयोग नगर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?