+
+
स्थानीय तहको निर्वाचन २०७९ :

पोखरा : मेयरका लागि गठबन्धनमा हानाथाप, मिले एमालेलाई चुनौती

नेतृत्व हत्याउन एमाले र गठबन्धन दुबैलाई धरमर

अमृत सुवेदी अमृत सुवेदी
२०७९ वैशाख २ गते १२:१०

२ वैशाख, पोखरा । नेपाली कांग्रेस, कास्की सभापति किशोरदत्त बरालको नेतृत्वमा गएका नेताहरुले सभापति शेरबहादुर देउवालाई भेटेर भने, ‘टिकट हामी जोसुकैलाई दिनुस्, तर मेयर कांग्रेसले लियो भने मात्र जितिन्छ ।’

कास्कीका नेताहरुको बिफ्रिङ सुनेपछि प्रधानमन्त्री समेत रहेका सभापति देउवाले यसबारे छलफल नगरेको मात्र बताएनन्, पहिल्यै किन नजितेको त ? भनेर प्रतिप्रश्न समेत गरेका छन् ।

२०७४ मा माओवादीले समर्थन गर्दा पनि कांग्रेसले हारेको थियो । उम्मेदवारी दर्ता भइसकेको अवस्थामा माओवादीले कांग्रेसलाई सघाएको थियो, तर कांग्रेसका उम्मेदवार पराजित भए ।

कांग्रेस नेताहरु यसपटक भने पहिलेको जस्तो अवस्था नरहेको बताउँछन् । गठबन्धनका अरु दलले मेयर पाए जित्न नसक्ने भन्दै कांग्रेस नेताहरुले सभापतिलाई कन्भिन्स गर्न खोजेका थिए । तर देउवाले पोखराको मेयर अरु दललाई नदिने आश्वस्त पारेनन् । बरु मेयर कांग्रेसले नपाउने हो कि भन्ने शंकासहित फर्किए ।

किनकी गठबन्धनमा माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले पोखरको मेयरमा दाबी गरेको छ । काठमाडौंको एउटा सार्वजनिक कार्यक्रममा नेता झलनाथ खनालले पोखरा समाजवादीको भागमा पर्ने बताइसकेका छन् । आफूहरु पोखरामा बलियो मानिएको एमालेबाट फुटेर बनेको र प्रभावशाली नेतालाई टिकट दिँदा चुनाव जित्ने एकीकृत समाजवादीका नेताहरुको दाबी छ ।

एकीकृत समाजवादी, कास्कीका अध्यक्ष धनराज आचार्यले पोखरामा चुनाव जित्ने आधारसहित तथ्यांक र कार्यक्रम नेता नेपाललाई दिइसकेका छन् । नेता नेपालले पोखरामा आफूहरुसँग १८ हजार भोट रहेको र गठबन्धनले साथ दिए चुनाव जित्ने दाबी गरेको नेताहरु बताउँछन् ।

यसअघि कांग्रेसलाई सघाएको माओवादी केन्द्रले यसपालि आफूहरुलाई पैंचो तिर्नुपर्ने बताउन थालेको छ । माओवादीबाट २०७४ मा मेयर पदमा मनोनयन दर्ता गरेर पछि कांग्रेसलाई सघाएका विश्वप्रकाश लामिछानेले यसपटक मेयरमा दाबी गरेका छन् । जनता समाजवादी पार्टीले भने उपमेयरका लागि दाबी गरिरहेको छ ।

गठबन्धनमा दलहरुको आ–आफ्नै तर्क

अघिल्लो स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवार मानबहादुर जिसीले ६० हजार १ सय १८ मत ल्याउँदै विजयी भएका थिए । कांग्रेसका उम्मेदवार रामजी कुँवरले ४६ हजार ४ सय १६ मत ल्याएका थिए । ५६ हजार ४ सय ५८ मत ल्याएर एमालेकै उम्मेदवार मञ्जुदेवी गुरुङले चुनाव जित्दा कांग्रेस उम्मेदवार सरस्वती गुरुङले ४४ हजार ३ सय ३८ मत ल्याएकी थिइन् ।

मानबहादुर जीसी, मेयर, पोखरा महानगरपालिका

मेयर कांग्रेसलाई सघाएर उपमेयरमा मात्र उम्मेदवारी दिएको माओवादी उम्मेदवार गोमा ढकालले ८ हजार ७ सय ९६ मत ल्याएकी थिइन् ।

२०७४ मा १ लाख ६८ हजार ६८ मतदाता थिए । अहिले ३९ हजार ६ सय ४५ मतदाता थपिएर २ लाख ७ हजार ७१२ पुगेका छन् । एमाले र गठबन्धन दुबैलाई जित्ने आधार थपिएका मतदातालाई मानेका छन् ।

अघिल्लो निर्वाचनमा मेयर, उपमेयरसहित पोखराका ३३ वटा वडामध्ये २२ वडामा एमाले र ११ वटामा कांग्रेसले जितेको छ । एमालेले २२ मा ४ वडा थप जित्ने दाबी महानगर अध्यक्ष दीलिप न्यौपानेको छ भने गठबन्धनमा आवद्ध दल मिल्दा सबैजसो वडा जित्ने कांग्रेस सभापति किशोरदत्तको दाबी छ ।

तर गठबन्धनबाट कांग्रेसबाहेक अरुले टिकट पाउँदा ठूलो मतसंख्या सानोमा मिसाउनुपर्ने भएकाले केही प्रतिशतमात्रै पनि तलमाथि गरिदिए भने नतिजा उल्टो आउनसक्ने कांग्रेस नेताहरुको तर्क छ । ‘६० हजार मत ५ हजारमा खन्याउनुभन्दा ५ हजार मत ६० हजारमा खन्याउँदा जोखिम कम हुने हो,’ कास्की कांग्रेस सभापति किशोरदत्त बरालले अनलाइनखबरसँग भने, ‘कास्कीमा कांग्रेसबाहेक गठबन्धनका अरु दलले टिकट पाउँदा समस्या निम्तिन सक्छ ।’

तर अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयरमा कांग्रेसलाई सघाएर उपमेयरमा चुनाव लडेको माओवादीले पनि आफूहरुले मेयरको टिकट पाउँदा ५/७ हजारको मतान्तरले जित्ने दाबी गर्छ । अघिल्लो चुनावमा ८ हजार मत ल्याएको माओवादीले अहिले २५/३० हजार मत आफूहरुसँग भएको र सम्मानजनक जित निकाल्ने दाबी गठबन्धनको बैठकमा गरिरहेको छ ।

अहिलेको एकीकृत समाजवादी कास्कीमा २०५४/५५ सालतिरको एमाले जत्रो भएको दाबी उसको छ । ५ हजारभन्दा बढी संगठित सदस्य रहेको एकीकृत समाजवादीले पनि २५/२६ हजार भोट कम्तिमा आफूहरुको पक्षमा आउने भन्दै निर्मम भएर गरे पनि ५ हजार मतान्तरले आफूहरुले जित निकाल्ने दाबी गरेको छ ।

जसपाका नेताहरु भने एमाले र कांग्रेसपछि कास्कीमा एकीकृत समाजवादी, माओवादी केन्द्र र आफूहरुबीच खास ठूलो मतअन्तर नरहेको र लगभग उस्तै आकारमा रहेको बताउँछन् । पोखरामा जनता समाजवादीको पनि सम्मानजक उपस्थिति रहने दाबी केन्द्रीय सदस्य किरण थापा ‘आमोद’को छ ।

एमालेलाई चुनौती

गठबन्धनमा एकले अर्कोको अस्तित्व स्वीकार नगर्ने हो भने एमालेलाई फाइदा पुग्ने नेताहरु बताउँछन् । मनोनयनको समय नजिकिइसक्दामात्र टिकटको टुंगो लाग्ने र गठबन्धनभित्रै अनुशासनका साथ मत नहाल्ने हो भने एमालेलाई सुम्पिए सरोबर हुने गठबन्धनका धेरै नेताको भनाइ छ ।

सत्तारुढ दलहरुको गठबन्धन हुँदा भने एमालेलाई पोखरा जोगाउन चुनौती हुनेछ । अघिल्लो निर्वाचनमा एमालेलाई जिताउन कमाण्ड सम्हालेका र पृथ्वीनारायण क्याम्पसको स्ववियु सभापति हुँदै एमालेमा लामो समय गुजारेका एकीकृत समाजवादीका अध्यक्ष धनराज आचार्य गठबन्धनबाट उम्मेदवार बने एमालेकै मत प्रभावित पार्न सक्ने अनुमान गठबन्धन र एमाले दुबैको छ ।

विभिन्न संगठनमा नेतृत्व गरेका व्यवसायी आचार्यले टिकट पाउँदा उनको भेगीय, व्यावसायिक र सामाजिक मत समेत काट्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउन एमाले लागिपरेको छ । एमालेले शुक्रबार मतदानमार्फत उम्मेदवारको टुङ्गो लगाउँदै ३ जनाको नाम सिफारिस गर्ने छ ।

आचार्यलाई टक्कर दिने गरी हाइड्रोमा व्यावसायिक सहकार्यसमेत गरेका पुष्पज्योति ढुंगानालाई उम्मेदवार बनाउन एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ लागिपरिरहेको एक नेताले बताए । भन्छन्, ‘हामी बलियो त छौं, तर हाम्रो मत सबभन्दा बढी काट्ने उम्मेदवार आचार्य हुनसक्छन् । गठबन्धन सबै मिल्यो र तलमाथि भएन भने जीत कठिन हुने चुनौति पनि एमालेलाई उत्तिकै छ ।’

२०५४ सालको स्थानीय निकायको निर्वाचनपछि कास्कीमा एमालेले २ पटक पोखराको नेतृत्व गरेको छ । बहुदल आएपछि २०४९ सालको भएको स्थानीय निकाय निर्वाचनमा पोखरामा नेपाली काँग्रेसका भोला थापा नेतृत्वले बहुमत ल्याएको थियो । २०५४ सालको निर्वाचनमा नेकपा एमालेका कृष्ण थापाको नेतृत्वमा बहुमत वडा जितेको थियो । पहिले १८ वडा रहेको पोखरा उपमहानगरपालिका अहिले ३३ वटा वडा बनेको छ । स्थानीय तहको पुनर्संरचना गर्दा एमालेको भोट बैंक भनेर भनिएका वडा पनि पोखरामै मिसिएकाले एमाले बलियो पार्टीकै रुपमा दरिएको हो ।

एमाले विभाजन भएपनि माओवादी र अन्य पार्टीबाट नेता कार्यकर्ता भित्र्याएर त्यो खाडल पूरा गरिसकेको एमाले महानगर अध्यक्ष दिलिप न्यौपानेको दाबी छ । यो बीचमा जनता समाजवादीका नेता कार्यकर्ता पनि एमाले प्रवेश गरे । त्यसैले करिब १४ हजार मतअन्तरले अघिल्लो निर्वाचनमा जीत निकालेको एमालेले यसपालि करिब १० हजार मतान्तरले विजयी हुने एमालेको दाबी छ ।

एकीकत समाजवादी र जनता समाजवादीका नेताहरु भने एमालेभित्र भित्रै कमजोर बनेको दाबी गर्छन् । पोखरामा अटेरी उम्मेदवारका रुपमा गनेस पौडेलले स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन् । त्यसले पनि केही प्रभाव पार्न सक्ने धेरैको अनुमान छ । राप्रपा लगायत साना दल र अन्य स्वतन्त्र उम्मेदवारी पनि परेपनि कास्कीमा मत फर्ने संस्कार कम रहेको बिगतले देखाउँछ ।

१० हजार मतान्तरले पोखरामा एमालेले जित्छ

–दिलिप न्यौपाने, अध्यक्ष, नेकपा एमाले पोखरा महानगर कमिटी

यसअघि एमालेले जितेको पोखरा महानगरको २२ वटै वडा हामीले गुमाउँदैनौं, ती वडामा झन् मजबुत भएका छौं । त्यसमा थप चार वटा वडामा पनि हामीले जित हासिल गर्ने पक्का छ । हाम्रा अध्ययन र विश्लेषणहरुले त्यही देखाएका छन् । सबै वडाको नाम भन्दा पहिले पराजित भएको वडा फेरि पनि नजित्ने आँकलन गरेछ, अध्यक्षले भन्ने पर्ला । केही वडामा आन्तरिक कारणले हरेका थियौं, अघिल्लो पटक ।

पोखरा महानगरपालिकाको मेयर फेरि पनि एमालेबाटै जित्ने निश्चित छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा करिब १४ हजारको मत अन्तरले जितेका थियौं । त्यतिबेला पनि कांग्रेस र माओवादीको गठबन्धन थियो । अहिले पोखरा महानगरपालिकाभित्र ३९ हजार मतदाता थपिएका छन् ।

अहिले थपिएका मतदातामध्ये अघिल्लो पटक नाम छुटेको, नामावली सारेको र नयाँ बढी छन् । त्यसका लागि एमालेले अभियानै चलाएर पोखरामा मतदाता बढाउने काम गरेको थियो । ती मतदाताहरुमध्ये करिब आधा त हामीले विभिन्न संगठनमा संगठित गरिसकेका छौं । राजनीतिप्रतिको फ्रस्टेसनले केही मत नखस्ने भए पनि करिब १० हजारभन्दा बढी मतान्तरले पोखराको मेयर, उपमेयर एमालेले जित्छ भन्ने हाम्रो आंकलन छ ।

एमाले नेतत्वको पोखराका जनप्रतिनिधिले घोषणापत्र अनुसार काम गरेनन् भनेर हौवा फैलाइएको छ । कत्ति पनि काम नभएका होइनन्, ठूलो र गौरवका आयोजना र सबै देखेका सपना र परिकल्पनाहरु पूरा भएनन् होला तर कामै नभएका होइनन् । एमालेले घोषणापत्रमा यो–यो कुरा राखेका थियौं, यो–यो काम भए, यी काम कार्यान्वयनमा गएका छन् र यी काम यी कारणले कार्यान्वयनमा जान सकेनन् भनेर नबुझाएका कारण धेरै जनतामा प्रश्नहरु उठेका होलान् तर हामी सबै जनतालाई बुझाउने गरी घरदैलोमा जान्छौं ।

नेकपा एमालेको विभाजनसँगै माधव नेपालको समूहमा गएका मान्छेभन्दा धेरै मानिस त हामीले माओवादीबाटमात्रै भित्राएका छौं । दुई महिनाका बीचमा भएका पार्टी प्रवेशका कार्यक्रमले विभाजनका गएका मानिसभन्दा ठूलो संख्या एमालेमा आएका छन् । एकीकृत समाजवादीमा गएकाहरु प्नि धमाधम एमालेमै फर्किरहेका छन् । जसपाबाट पनि एमालेमा ठूलो तप्का फर्किइसकेको छ । जनताको मनोविज्ञान एमालेप्रति जागृत देखिएको छ । केपी शर्मा ओली नेतृत्वको सरकार ढलाएर बनेको सरकारले गरेका विकृत कामले पनि गठबन्धनतिर वितृष्णा र एमालेतिर आकर्षण छ । यस्ता थुप्रै कारण छन्, जसका कारण देशकै महानगरमध्ये एमालेको बलियो पकड रहेको पोखरामा हाम्रो जित पक्का छ ।

पोखरामा चुनाव जित्न कांग्रेसले नै टिकट पाउनुपर्छ

–किशोरदत्त बराल, कास्की सभापति, नेपाली कांग्रेस

५ दलीय सत्ता गठबन्धन गरेर जाने केन्द्रीय निर्णय नै भइसकेकाले अब जिल्ला तथा स्थानीयस्तरमा एकल निर्वाचनमा जाने सम्भावना रहेन । गठबन्धन नै गरेर चुनावमा जाँदा कसरी जाने भनेर रणनीति बनाउन विभिन्न बैठकहरु भइरहेका छन् । गठबन्धन गरेर जाँदा संयुक्त घोषणा लिएर जाने योजनाअनुसार सबै दलले तयारी पनि गरिरहेका छन् ।

नेपाली कांग्रेसले पोखराको मेयरदेखि विभिन्न स्थानीय तहको नेतृत्व गर्न पाउनुपर्छ र कांग्रेसले टिकट पाएमात्र जित्न सक्ने अवस्था देखिन्छ । नेपाली कांग्रेस एक्लै लड्दा पनि वडाको हकमा कम्तिमा २५ वटामा जीत निकाल्न सक्छौं भन्ने आंकलन पेश गरेका छौं । मेयर पनि कांग्रेसकै उम्मेदवारले टिकट पाएमात्र जितका लागि सजिलो हुन सक्छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा ४६ हजार मत ल्याएको कांग्रेस र अहिले ३९ हजार भोट बढ्दा त्यसको करिब ५० प्रतिशत मत कांग्रेसकै पोल्टामा पर्छ । कम्तिमा ४० हजारमा १४ हजार कांग्रेसकै पक्षमा आउँछ भन्ने हाम्रो अध्ययनले भन्छ । यसरी हेर्दा पोखरामा ६०/६१ हजार भोट कांग्रेसले नै प्राप्त गर्छौं । यसमा गठबन्धनका मत पनि थपिंदा कांग्रेसले जित्न सक्छ भन्ने हो ।

कांग्रेसले जित्ने पहिलो आधार भनेको हाम्रो सांगठिक इतिहास वा बिरासत हो र पछिल्लो समय कांग्रेसले फेरि जनतामा पुनर्जागरण ल्याइरहेको छ । अघिल्लो निर्वाचनमा व्यक्ति चुनाव लडेजस्तो भएको थियो, यो पटक सिंगो संगठन नै चुनावमा जाँदै छ ।

विगतमा एमालेले जुन एजेण्डा लिएर महानगरको नेतृत्वमा आए, जुन सपना देखाए, त्यो पूरा गर्न सकेन । पोखराले विकासको ठूलो मूल्य चुकाउनुपर्यो । एमालेले प्रतिवद्धता पूरा गर्न सकेन भन्ने जनतामा आक्रोश छ । त्यसले पनि कांग्रेसलाई यसपटक जनताले चाहेका छन् । अर्को, एमालेमा आएको विभाजनले पोखरामा पनि ठूलै क्षति पुगेको छ । आन्तरिक जीवन र संगठनमा एमाले धेरै कमजोर भइसकेको छ ।

जनतासँग जोडिएका एजेण्डासहित गठबन्धनको सबैभन्दा ठूलो पार्टी पनि भएकाले कांग्रेस नेतृत्वमा जित सुनिश्चित गर्ने लक्ष्यसहित चुनावमा जाँदैछौं । अन्य पार्टीका साथीहरुले पनि दाबी गर्नु स्वाभाविक हो । तर, कांग्रेसकै नेतृत्वमा जानुपर्ने र एमालेलाई हराउनुपर्ने विषयमा गठबन्धनका दल प्रतिवद्ध छन् ।

कांग्रेसले यसपालि मेयरमा माओवादीलाई पैंचो तिर्छ

–विश्वप्रकाश लामिछाने, नेता, नेकपा माओवादी केन्द्र

२०७४ सालको स्थानीय तहको निर्वाचनमा पोखरामा माओवादीले कांग्रेसको उम्मेदवारलाई सघाएको हो । त्यतिबेला म आफैं मेयर पदको उम्मेदवार थिएँ । मेयरमा कांग्रेसकै मेयरलाई समर्थन गरेर छाडिदिएका कारण पनि यसपालि कांग्रेसले माओवादीलाई मेयर पद दिएर यसअघिकै पैंचो तिर्छ भन्ने मेरो विश्वास हो । कांग्रेसले नतिजा निकाल्न सक्यो, सकेन त्यो अर्को पाटो हो तर यसपालि पोखराको मेयरमा गठबन्धनका सबै दलले माओवादीलाई सघाउँछन् भन्ने लागिरहेको छ ।

पोखरा लामो समयदेखि वामपन्थीहरुको प्रभाव क्षेत्र हो । यो क्षेत्रमा विगतमा कांग्रेसलाई सघाउँदा पनि जित्न सकेन । यसपालि वामपन्थीको उम्मेदवार गठबन्धनमा पर्‍यो भने जित्ने आधारहरु प्रशस्त छन् ।

माओवादीले मेयर उम्मेदवार पाउनुपर्ने तेस्रो कारण भनेको गठबन्धनमा पहिलो पार्टी कांग्रेस हो भने दोस्रो हामी हौं । त्यसपछि बल्ल एकीकृत समाजवादी, जनता समाजवादीहरु छन् । २० हजार हाराहारीमा पोखरामा हाम्रो मत छ । त्यसैले यसअघि कांग्रेसलाई सघाइसकेका कारण यसपालि गठबन्धनबाट दोस्रो दल माओवादीले मेयर पद पाउनुपर्छ भन्ने हो ।

माओवादीकै मूल एजेण्डाअनुसार देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । तर, पोखरामा माओवादीले नेतृत्व गर्न पाएको छैन । जसको विचार, उसको नेतृत्व होस् भन्ने चाहनाले पनि यो पटक केन्द्रदेखि नै पोखरामा माओवादीलाई मेयर दिने सहमति हुन सक्छ ।

माओवादीले १३ महिनामात्र पोखरा उपत्यका नगर विकास समितिको नेतृत्व गर्ने अवसर पाएको थियो । त्यो बेला फेवा लगायतका ताल संरक्षण, सिमांकन तथा प्रतिवेदन तयार पार्नेजस्ता ऐतिहासिक काम गर्‍यो । पृथ्वीचोकदेखि कोत्रेसम्म पृथ्वीराजमार्ग त्यतिबेला फराकिलो पार्न नसकेको भए, अहिलेसम्म धेरै समस्या निम्तिएका हुन्थे ।

एक पटक पनि पोखरेली जनतामाझ परीक्षण नभएको नेकपा माओवादी केन्द्रले धेरै काम गर्न सक्छ । यसअघि पनि उम्मेदवार रहेकाले माओवादीबाट एक पटक मेयर बनेर पोखराको काम गर्न म इच्छुक छु । गठबनन्धका दललाई मिलाएर एउटै घोषणा पत्र बनाएर मेयर बन्ने अवसर माओवादीलाई बन्छ र एमालेलाई हराएर जित निकाल्न सकिन्छ भन्ने पूर्ण विश्वास छ ।

कांग्रेसभित्र हुने अन्तरघातका विषयमा पनि हामी सचेत छौं । यसपटक त्यस्तो हुँदैन । कांग्रेसकै नेतृत्वमामात्र पोखराको चुनावमा जानुपर्ने नेतृत्वको ध्यानाकर्षण पनि गराइसकेका छौं । नेतृत्व हाम्रो आग्रहप्रति गम्भीर छ ।

बहुदल आइसकेपछि पोखराको नेतृत्व गर्ने अवसर नेपाली कांग्रेसले पाएको थियो । तर, त्यति बेला पनि जनताबीच गहिरो छाप छोड्न कांग्रेस असफल बन्यो । त्यसयता मेयर पाउन कांग्रेस असफल बन्यो ।

एसको नेतृत्वमा पोखरा बनाउन चुनावमा होमिइसक्यौं

–धनराज आचार्य, कास्की अध्यक्ष, नेकपा एकीकृत समाजवादी

नेकपा एमालेको नवौं महाधिवेशनले पारित गरेको नीति एउटाको र नेतृत्व अर्काको हुन पुग्यो । त्यो नीतिलाई कार्यान्वयन गर भन्ने एउटा समूह त्यतिबेला नै बन्यो । त्यो समूह कास्कीमा पनि थियो । यसरी नै हामी अघिल्लो चुनावमा पनि गयौं, माओवादीसँग पार्टी एकता पनि भयो । अन्तर पार्टी संघर्ष गर्दै नेकपा भइसकेपछि पनि समानान्तर गतिविधि गर्दै यहाँसम्म आइपुगेका हौं ।

संसद विघटनपछि पार्टी निर्माण गर्ने क्रममा पनि हिजो पार्टी बनाएको, सेल्टर दिएको, कम्युनिस्ट आन्दोलन जोगियोस् भन्ने इमान्दार मान्छेहरु माधव नेपाल समूहमा थिए । अलि बढी अवसरका लागि लागिरहेका साथीहरु एमालेतिर भएको देखिन्छ । यो ध्रुवीकरण संसद विघटनपछि अझै बढी देखियो । दुर्भाग्यबस पार्टी विभाजन भयो । कास्कीमा समानान्तर हुँदा जति साथीहरु थिए, सबै एकीकृत समाजवादीमै समाहित हुनुभयो । १ सय ३५ सदस्यीय जिल्ला कमिटी नै रुपान्तरण गर्यौं । त्यसमा १/२ जना साथी फर्कनुभयो । अरु सबै पार्टी निर्माणमै लागिरहनुभएको छ ।

आज महानगर र जिल्ला कमिटीसँगै यति छोटो समयमै कास्कीका ७२ वटै वडामा हाम्रा कमिटी बनेका छन् । जनवर्गीय संगठनहरु बनाएका छौं । पार्टी सदस्य अध्यावधिक गरिरहेका छौं । पुरानो एमालेकै धेरै साथीहरुलाई नवीकरण गरेका छौं । कतिपय साथीहरुले एमालेको रातो रसिद फिर्ता गरेर हाम्रो रसिद लिइरहनुभएको छ । आज एकीकृत समाजवादीलाई व्यवस्थित पार्टी बनाएका छौं ।

मत सर्वेक्षण गर्दा पनि एकीकृत समाजवादी कास्कीमा तेस्रो पार्टी हो । तीन महिने अभियान चलाएर जनताको घर–घरमा पुगेर हामीले सर्वेक्षण पनि गरेका थियौं । खास गरी एमालेको घर–घरमा पुग्यौं, किनकि हामी त्यहींबाट आएका हौं । हाम्रो अंश र हंश दुबै छ, एमालेमा । साथीहरु पनि सबै त्यहीं छन्, हाम्रा आवाजहरु नसुनिएका कारण एमालेबाट विद्रोह गर्नुपर्यो ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा म एमालेको घोषणा पत्र तयार गर्ने टिममै थिएँ । त्यो घोषणापत्र राम्रोसँग कार्यान्वयन गरिदिएको भए पनि विद्रोह गर्नुपर्ने थिएन । अहिले हामी यहाँसम्म आइपुग्दा स्थानीय तहको निर्वाचनको मुखमै आइपुगेका छौं र देश अहिले एउटा गठबन्धनमा छ । विशिष्ट परिस्थितिमा संविधान कार्यान्वयन गर्ने सन्दर्भमा गठबन्धन बन्यो र यो गठबन्धन चुनावसम्मै जाने भयो । २०४६/४७ सालमा पनि वाम–प्रजातान्त्रिक गठबन्धन बनेको हो । खास–खास बेलामा वाम–प्रजातान्त्रिक शक्ति मिलेर जानुपर्ने महसुस भएको हुँदा ५ वटा पार्टी सँगै छौं ।

कास्की जिल्लामा गठबन्धनको पहिलो बैठक गर्ने सम्भवत हामी नै हौं । क्रमशः अहिले यो चलिरहेको छ । कुन–कुन वडामा कसको नेतृत्वमा जाने भनेर अहिले फाइनल गरिरहेका छौं । गठबन्धनको कुन उम्मेदवार बढी प्रभावशाली छ भनेर एजेण्डा अगाडि सारिरहेका छौं ।

पार्टीका केन्द्रीय नेताहरुका अनुसार र यहाँको लिडरसीप हेर्दा पनि पोखरा समाजवादी पार्टीलाई नै पर्छ भन्ने छ । एकीकृत समाजवादीको नेतृत्वमा पोखरा महानगरको अबको पाँच वर्षीय कार्यकाल हुने देख्छु । त्यसका लागि हामीले घोषणा पत्र पनि तयार पारिसक्यौं । पाँच वर्षमा पोखरा कस्तो हुन्छ ? के कस्ता कार्यक्रमहरु कार्यान्वयन हुन्छ भनेर चित्र पनि कोरिसकेका छौं । एकीकृत समाजवादीबाट मेरो नेतृत्वमा चुनावमा जाँदा जति सजिलो विपक्षीको मत काट्न हुन्छ, अरुको हकमा त्यो नहुन सक्छ । पोखरा बनाउन, पोखरेलीलाई विकासको असली स्वाद चखाउन हामी चुनावमा होमिइसक्यौं ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?