
२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्र, सिन्धुपाल्चोकले चुनावी तालमेलका लागि आधा पालिकाको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् सिन्धुपाल्चोकबाट वागमती प्रदेशसभा सांसद रहेका युवराज दुलालले आफूहरुले आधा पालिका दाबी गरेको बताए। ‘माओवादीको दाबी बराबरी सिद्धान्तमा जाने भन्ने छ,’ उनले अनलाइनखबरसँग भने, ‘कांगेसको हामीलाई बढी चाहिन्छ भन्ने खालको छ । यसमै कुरा मिलेको छैन ।’
गठबन्धनमा सहमति नभए सबै पालिकामा एकल रुपमा लड्ने गरी तयारी गरिरहेको दुलालले बताए।
सिन्धुपाल्चोकका १२ पालिकामध्य एमालेले ७, कांग्रेसले तीन गाउँपालिका र माओवादी केन्द्रले १ नगरपालिकासहित २ पालिका जितेको थियो ।
२०७४ को निर्वाचनमा एमालेले जुगल गाउँपालिका, त्रिपुरा सुन्दरी गाउँपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका, बलेफी गाउँपालिका, मेलम्ची नगरपालिका, लिसंखु पाखर गाउँपालिका र बाह्रबिसे नगरपालिका जितेको थियो ।
नेपाली कांग्रेसले इन्द्रावती गाउँपालिका, सुनकोशी गाउँपालिका र हेलम्बु गाउँपालिका जितेको थियो । माओवादी केन्द्रले भने चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिकामा जितेको थियो ।
प्रतिक्रिया 4