
२ वैशाख, काठमाडौं । डोटीको शिखर नगरपालिका वडा-११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा डेस्क बेञ्चको अभावले बालबालिका भुइँमै बसेर परीक्षा दिन बाध्य भएका छन् ।
विद्यालयका कक्षा १ देखि ३ सम्मका करिब ८० जना विद्यार्थीले विद्यालयका प्राङ्गणको भुइँमा बसेर परीक्षा दिन बाध्य रहेको विद्यालयका प्रधानाध्यापक दीपक बोहराले बताए । उनले अनलाइनखबरसँग भने ‘हाम्रो विद्यालयमा फर्निचरको अभाव छ । त्यही भएर भुइँमै राखेर परीक्षा लिनु परेको हो ।’
उनका अनुसार कक्षा १ देखि ६ कक्षासम्मको विद्यार्थीको लागिसमेत डेस्क छैन । उनीहरु पढ्दा पनि बेञ्चमा बसेर काखमा कपी किताब राखेर लेखपढ गर्न बाध्य छन् ।
कक्षा सात र आठका बालबालिकाको लागि मात्रै डेस्क छ । विद्यालयको स्रोत नभएकोले विद्यार्थीको लागि पर्याप्त डेस्क बेञ्च बनाउन नसकेको प्रधानाध्यापक बोहराले बताए ।
उनले भने, ‘डेस्क बेञ्च बनाउन सकिएको छैन । विद्यालयमा प्रावि तहको मात्रै शिक्षक भएर निमावि तहको लागि दुई जना शिक्षक आन्तरिक स्रोतबाट राखेका छौं । उहाँहरुलाई तलब खुवाउन त्यस्तै मुस्किल छ ।’ शिक्षकलाई तलब खुवाउनका लागि होली खेलेर चन्दा उठाएर तलब खुवाएको बताए ।
प्रधानाध्यापक बोहराका अनुसार विद्यालयमा मल्लीसात, किमाडा र ओलिगाउँका विद्यार्थी अध्ययनरत रहेका छन् । चैत २८ देखि विद्यालयमा वार्षिक परीक्षा सञ्चालन भइरहेको छ । वैशाख ७ गते परीक्षा सकिनेछ । भगवती आधारभूत विद्यालयमा बालकक्षादेखि आठ कक्षासम्म पठनपाठन हुँदै आएको छ ।
२०३७ सालमा स्थापना भएको यो विद्यालयमा हाल ९ जना शिक्षक र करिब ३ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । विद्यालयमा ३ जना स्थायी शिक्षक, २ जना राहत शिक्षक, १ जना बाल विकास सहजकर्ता र ३ जना निजी शिक्षक कार्यरत रहेको प्रधानाध्यापक बोहोराले बताए ।
प्रतिक्रिया 4