+
+

रोकियो मोबाइलको आयात

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १९:२८

४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले विलिासी वस्तुको आयातका लागि एलसी (प्रतीतपत्र) रोकेपछि मोबाइलको आयात रोकिएको छ । यसले कतिपय ब्रान्डका लोकप्रिय र विशेष मोडलका मोबाइल सेटहरु बजारमा सजिलै भेटिन छाडेका छन् ।

मोबाइल व्यवसायी संघका अध्यक्ष पुरु बस्नेतका अनुसार एलसी बन्द भएपछि मोबाइल आयात रोकिएपनि अहिलेसम्म मौज्दातले नै माग धानिरहेको छ । ‘फोनहरु मौज्दातमा छ, एक हप्ताका लागि भनेर बन्द भएकाले खुले पछि आयात सुरु भइहाल्छ,’ उनी भन्छन्, ‘अभावको अवस्था आइसकेको छैन, तर लामो समय आयात रोकियो भने बजारमा समस्या पर्छ ।’

उनले अहिले सिजन नभएकाले फोन आयात नभएपनि मौज्दातबाटै उपभोक्ताले वैकल्पिक सेटहरु किन्न सक्ने बताए । दशेको वैदेशिक मुद्दा सञ्चिति सुध्रँदै गएमा केही दिनमै आयात खुल्नेमा आफूहरु विश्वस्त रहेको बस्नेतले बताए ।

‘विलासी भएपनि मोबाइल आवश्यक वस्तुभित्रै पर्छ,’ उनी भन्छन्, ‘ लामो समयसम्म रोक नलाग्नेमा विश्वस्त छौं ।’ केही समय आयात रोकिंदैमा बजारमा ठूलो अभावको अवस्था सिर्जना नहुने बस्नेतले बताए ।

चालु आर्थिक वर्षको पहिलो ८ महिना (साउन-फागुन)मा ३१ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भइसकेको छ । भन्सार विभागको तथ्यांक अनुसार ८ महिनामा ३० अर्ब ९९ करोड रुपैयाँ बराबरको मोबाइल आयात भएको हो ।

८ महिनामा ४२ लाख ६० हजार थान मोबइल सेट आयात भएको छ । जसबाट सरकारले ४ अर्ब ८९ करोड राजस्व पनि उठाएको छ ।

गत आर्थिक वर्षको यस्तै अवधिमा ४९ लाख ९३ हजार थान सेट आयात हुँदा २६ अर्ब ३० करोड बाहिरिएको थियो । त्यसबाट सरकारले ४ अर्ब १६ करोड राजस्व उठाएको थियो ।

यो वर्ष मोबाइल सेटको संख्या घटेपनि अन्तर्राष्ट्रिय बजारमा आयातकर्ताले तिरेको मूल्य करिब ५ अर्ब रुपैयाँले बढेको विभागको तथ्यांकले देखाउँछ । गुणस्तरीय स्मार्ट फोनको माग बढ्दै गएकाले पनि महंगा फोनको आयात बढेको हो ।

नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलमा सेटको माग धान्न हम्मे परिरहेको छ । महामारीपछि विद्युतीय चिप अभाव भएको असर मोबाइल बजारमा परेकाले उत्पादन प्रभावित हुँदै आएको छ ।

कोभिड-१९ महामारीपछि अनलाइनमा निर्भरता बढेको छ । राम्रोसँग चल्ने मोबाइल किन्नु बाध्यताजस्तै बनेको छ । त्यसका कारण माग बढ्दै जाँदा मध्यम रेन्जका फोन आपूर्ति असहज बनेको छ ।

व्यवसायीहरुका अनुसार कोरोनाको महामारी सुरु भएपछि अडियो/भिडियो कल, भिडियो कन्फ्रेन्सिङ, अनलाइन कक्षालगायत गतिविधि गर्नसक्ने फोनको माग धेरै छ । विभिन्न पेशा-व्यवसाय गर्नेहरु इमेल गर्न, एसमएस पठाउन, पढ्न, वर्ड/पावर प्वाइन्ट लगायत गर्न मिल्ने फोन खोजिरहेका छन् ।

ठूलो स्क्रिन भएको फोनमा पनि ग्राहकको रुची बढ्दो छ । ह्यांग नहुने र लामो समय नतात्ने फोन खोज्नेहरु धेरै छन् ।

अहिले मोबाइलमा भिडियो हेर्ने, गेम खेल्ने र मल्टिमिडया प्रयोग गर्नेहरु उत्तिकै छन् । राम्रो गुणस्तरको फोटो/भिडियो खिच्ने फोन किन्नुपर्ने आम मानसिकता बनेको छ । २० हजारदेखि ३० हजारसम्मका फोन किन्नेको संख्या अधिक छ । बार फोन बोक्नेहरु स्मार्ट फोनमा ‘अपग्रेड’ हुँदैछन् ।

नेपालमा ग्रामीण दूरसञ्चार सेवा बढ्दै गएकाले पनि यस्तो मोबाइलको प्रयोग बढेको छ । नेपाल टेलिकम र एनसेलले सेवा विस्तार गर्दै गुणस्तर पनि सुधार्दै लगेकाले मोबाइल बजारमा त्यसको प्रभाव देखिएको छ ।

विदेशबाट आउने रेमिट्यान्सको रकम ‘कनेक्टिभिटी’को साधनमा पनि खर्च गर्ने क्रम बढ्दो छ । ‘वाइफाइ’ इन्टरनेट चलाउनेहरुका लागि मोबाइल सहज साधन मानिन्छ । अहिले तारसहितको इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि आक्रमक रुपमा सेवा विस्तार गरेकाले पनि मोबाइल बजार बढाउन सघाउ पुगेको छ ।

अनलाइन कक्षा, भर्चुअल मिटिङ लगायतमा पुराना डिभाइसबाट काम नचल्ने भएपछि नयाँ किन्न पर्ने बाध्यता सिर्जना भएको छ । यसले बजारमा मोबाइलको माग बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?