
५ वैशाख, सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धन दलहरुबीच स्थानीय तहको तालमेलमा देखिएका समस्या सुल्झाउन एक दिन समय थप गरिएको छ । प्रदेश राजधानी वीरेन्द्रनगरमा सोमबार बसेको पाँच दलीय गठबन्धन संयन्त्रको बैठकले उक्त निर्णय गरेको हो ।
गठबन्धनभित्रको समस्या समाधान गरेर मंगलबारसम्म प्रदेश कमिटीमा पठाउन निर्देशन दिइएको नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले जानकारी दिइन् ।
‘गठबन्धन गर्ने, नगर्ने भनिएका सबै जिल्लास्तरीय गठबन्धन संयन्त्रलाई एक दिने समय दिएका छौं’ अध्यक्ष केसीले अनलाइनदखबरसँग कुरा गर्दै भनिन्, ‘जिल्लाले समस्या नसुल्झाए प्रदेशले सुल्झाउँछ, गठबन्धन टुट्दैन ।’
गत चैत ३० गते बसेको प्रदेश स्तरीय संयन्त्रको बैठकले वैशाख ३ गतेभित्र स्थानीय तहको भागवण्डा मिलाएर पठाउन निर्देशन दिएको थियो । तर प्रदेशका डोल्पा, मुगु र सल्यान जिल्लामा गठबन्धन भत्किसकेको छ भने अन्य जिल्लाहरुमा पालिकाको भागबण्डामा सहमति जुट्न सकिरहेको छैन ।
गठबन्धनलाई सफल बनाउन सबै दलहरु लचकताका साथ जानुपर्ने नेकपा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अमरबहादुर थापाले बताए ।
सोमबार बसेको प्रदेशस्तरीय संयन्त्रको बैठकमा प्रदेश अध्यक्षका अलावा कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही, माओवादी केद्रका इञ्चार्ज कालीबहादुर मल्ल र एकीकृत समाजवादीका उपमहासचिव एवं प्रदेश इञ्चार्ज प्रकाश ज्वाला पनि सहभागी थिए ।
प्रतिक्रिया 4