६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५३ औं स्थापना दिवसमा कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एक अर्कालाई घोचपेच गरेका छन् ।
कार्यक्रममा नेता पौडेलले अहिलेको गठबन्धन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्र नभएको टिप्पणी गरे ।
‘यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउन मात्र होइन, लोकतन्त्र बचाउनका लागि हो, परिवर्तन बचाउनका लागि हो र अग्रगामी रुपान्तरणका लागि यो गठबन्धन हो’ उनले भने ।
जवाफमा देउवाले आफूले प्रधानमन्त्री बनाइदेऊ भनेर रामचन्द्र पौडेलसँग नभनेको टिप्पणी गरे ।
‘मलाई प्रधानमन्त्री बनाइदेऊ भनेर मैले रामचन्द्रलाई भनेकै होइन’ उनले भने, ‘सबै साथीहरुले बन भन्नुभयो के गर्ने ?’
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हार्दा पनि गठबन्धनका कारण अहिले कांग्रेस सरकारमा सहभागी हुन पाएको देउवाले बताए ।
कार्यक्रममा वरिष्ठ नेता पौडेलले नेपाल विद्यार्थी संघमा अध्यक्ष मात्र मनोनित गरिएको भन्दै अरु पदाधिकारी छिटो मनोनित गर्न आग्रह गरे ।
‘नेविसंघको कमिटी अधुरो छ । पूरा हुनुपर्छ तुरुन्त । सबै पदाधिकारीसहित पूरा कमिटी आउनुपर्छ’ उनले भने । जवाफमा देउवाले अरु पदाधिकारी मनोनित नगर्ने संकेत गरे । स्थानीय निर्वाचन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि नेविसंघको महाधिवेशन गर्ने गरी दुजाङ गुरुङ अध्यक्ष मनोनित भएका छन् ।
सभापति देउवाले अब दुजाङले नै अधिवेशन गरेर नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्ने बताए । ‘रामचन्द्रजीले पदाधिकारी बनाउनुपर्यो भन्नुभयो, फेरि भागवण्डामै झगडा गर्ने हो भने गरे हुन्छ’ देउवाले भने, ‘मेरो उपसभापति चाहियो, मेरो महामन्त्री चाहियो, मेरो ऊ चाहियो, त्यहीँ झगडा हुन्छ ।’
प्रतिक्रिया 4