
काठमाडौं । नेपाली टेलिभिजन र कमेडी विधाका चर्चित अनुहारहरु समावेश फिल्म ‘लक्का जवान’लाई लिएर यतिबेला चर्चा भइरहेको छ ।
मल्टिस्टारर यो फिल्ममा मदनकृष्ण श्रेष्ठदेखि पछिल्लो छिमलका सलोन बस्नेतसम्म अटाएका छन् । कलाकारको तीन पुस्तालाई समेटेर बनाइएको फिल्म वैशाख २३ गते रिलिजको तयारीमा छ ।
फिल्मबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा निर्देशक शिवहरि पौड्याल, कलाकारहरु किरण केसी, प्रियंका कार्की र सलोन बस्नेत उपस्थित रहे ।
‘यो अर्गानिक फिल्म हो । यसलाई कृपया विदेशी फिल्मको रुपमा नलिनुहोला । तपाईंले यसमा नेपालीपन पाउनुहुन्छ,’ निर्देशक समेत रहेका अभिनेता पौड्यालले भने, ‘प्रत्येक साता फिल्म जुधिरहेका छन् । म फिल्म जुधे भनेर कराउँदिन । बरु आफ्नै फिल्मको प्रचारमा लाग्छु ।’
फिल्मभित्रका सबै पात्रलाई न्याय हुने गरी कलाकारहरु लिइएको पौड्यालले बताए । ‘फिल्मभित्र कलाकारको क्राउडजस्तो देखिएपनि सबै पात्रलाई न्याय मिल्ने गरी फिल्म बनेको छ,’ उनले भने ।
अभिनेता किरण केसीले ‘लक्का जवान’मा कुनै विदेशी फिल्मको गन्ध नआएको बताए । ‘यो विशुद्ध अर्गानिक फिल्म हो । कुनै विदेशी फिल्मको गन्ध यसमा आउँदैन । यसलाई १० वर्षपछि पनि रिलिज गर्दा फरक पर्दैन,’ केसीले भने ।
अभिनेत्री प्रियंका कार्कीले कोरोना महामारीपछि आफू फिल्ममा फर्कन लागेको र ‘लक्का जवान’ आफ्ना लागि लक्की बन्ने बताइन् । ‘यसलाई सामान्य दर्शकले पनि हास्य फिल्मको रुपमा बुझ्नेछन्,’ उनले भनिन्, ‘यसमा मुलुकको परिस्थिति देखाइएको छ । लक्का जवान विदेश जानुपर्ने बाध्यताको स्थिति छ । फिल्मले मन छुने ढंगले मुलुकलाई प्रश्न गर्छ ।’
फिल्ममा आफूले नारीलाई सशक्त देखाउने एक पात्रको चरित्र निर्वाह गरेको प्रियंकाले बताइन् । ‘यसमा मेरो जीवनको परिस्थिति पनि रिलेट हुन्छ,’ प्रियंकाले भनिन् ।
अभिनेता सलोन बस्नेतले दिलीप रायमाझीसँग काम गर्ने आफ्नो बाल्यकालदेखिको धोको ‘लक्का जवान’बाट पूरा भएको बताए । फिल्ममा मदनकृष्णसहित दिलीप रायमाझी, वर्षा सिवाकोटी, राजाराम पौड्याल लगायतको मुख्य भूमिका छ ।
फिल्मलाई अनुस्या श्रेष्ठले निर्माण गरेकी हुन् । किरण केसी, शिवहरि पौड्याल र दिलीप रायमाझी कार्यकारी निर्माता हुन् । फिल्मका प्रस्तुतकर्ता ध्रुव वन्त हुन् ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4