+
+

गठबन्धनभित्र देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक पर्दैन : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १०:०९

८ वैशाख, धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ गठबन्धनभित्र भागबन्डामा देखिएको असन्तुष्टिले निर्वाचन परिणाममा फरक नपार्ने दाबी गरेका छन् । उनले गठबन्धनभित्र देखिएका असन्तुष्टि क्रमशः मिल्दै जाने विश्वास पनि व्यक्त गरे ।

धनगढी विमानस्थलमा प्रेस सेन्टर कैलीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले टिकट वितरणको विषयमा एउटै दलभित्र पनि असन्तुष्टि हुने भन्दै गठबन्धनभित्र देखिनुु स्वाभाविक भएको बताए ।

‘निर्वाचनमा एउटै पार्टीभित्र पनि एउटाले टिकट पाउँदा केही न केही असन्तुष्टि देखापर्छन् त्यसमाथि गठबन्धनभित्र असन्तुष्टिका स्वर सुनिनु लोकतन्त्रको सुन्दरता हो, धेरै ठूलो कुरा होइन,’ उनले भने, ‘यसले निर्वाचनको परिणाममा केही फरक पार्दैन ।’ केन्द्रले राष्ट्रिय एकता, संविधानाको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि बुद्धिमतापूर्वक निर्णय गरेको कुरा एक-दुई दिनमा बुझेपछि सबै शान्त हुने उनले विश्वास व्यक्त गरे ।

सत्ता गठबन्धनका दलहरुबीच केन्द्रमा भएको तालमेलको मर्म र भावनालाई आत्मसाथ गरी देशैभर गठबन्धन गर्नुपर्ने उनले बताए । सहमति नभए मित्रवत प्रतिस्पर्धा गर्ने भनिए पनि तालेमललाई नै प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए ।

फरक प्रसंगमा बोल्दै प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माबीच सल्लाहमै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाइएको दाबी गरे । ‘गभर्नर र सरकारका बीचमा कहीँ न कहीँ समस्या देखिएकै हो । अर्थमन्त्री र प्रधानमन्त्रीले सल्लाह गरेर नै त्यो निर्णय लिएको कुरा प्रष्ट भएकै छ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘१३ गते अदालतले दुवै पक्षलाई बोलाएर फैसला गर्दैछ त्यसपछि मात्र धेरै कुरा भन्न सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?