
काठमाडौं । नेपाली फिल्मका तीन हस्ती शिव श्रेष्ठ, भुवन केसी र राजेश हमाललाई एउटै फ्रेममा देख्न पाउनु एक किसिमले दुर्लभ अवसर हो । बुधबार बेलुका यी तीन अभिनेता सँगै भेटिए ।
यस्तो अवसर मिलाएकी थिइन्, निर्देशक तथा अभिनेत्री झरना थापाले । उनी निर्देशित फिल्म ‘ए मेरो हजुर ४’ हेर्न तीनैजना अभिनेता सिभिल मलस्थित क्यूएफएक्स सिनेमा हलमा पुगेका थिए ।
जहाँ उनीहरुले सँगै फिल्म हेरे अनि मिडियासँग ‘क्याजुअल’ गफगाफ पनि गरे । फिल्म, विवाहदेखि बच्चासम्मको कुरामा उनीहरु गफिए । साथै, विदेशी फिल्मको प्रभुत्वविरुद्ध एकजुट हुनुपर्ने कुरा पनि चल्यो ।
तीनैजना अभिनेताले ‘ए मेरो हजुर ४’ हेरेर फिल्म र कलाकारको प्रशंसा गरे । राजेशले फिल्मलाई ‘इन्जोय’ गरेको भन्दै अभिनय बिर्सेर कथामा अघि बढ्न सक्नु नै राम्रो अभिनय भएको बताए ।
‘फिल्म हेरिसकेपछि जब मान्छे फिल्ममा डुब्छ, त्यही नै सबैभन्दा राम्रो अभिनय हो,’ राजेशले भने । भेटमा राजेश केही ठट्यौली पारामा प्रस्तुत भए । आफू अहिले पनि बच्चै रहेको बताउँदै उनले अभिनेत्री सुहाना थापासँग कुरा गर्दै अर्को लभस्टोरी फिल्म गर्नुपर्छ भन्दै ठट्टा गरे ।
भुवनले आफूले शिवको छोराको फिल्म हेरेको र अब राजेशको छोराको फिल्म पनि हेर्न मन लागेको बताए । जवाफमा राजेशले भने, ‘म भुवनजीको इमोसन बुझ्छु । आमाबुवाको लागि आफ्नो बच्चाले फिल्म गर्नु निकै इमोसनको कुरा हो । म अहिले पनि बच्चै छु ।’
जवाफमा भुवनले राजेशको छोरालाई फिल्म खेलाउन आफूहरुले सहयोग गर्ने बताए । ‘हामी हेल्प मात्र हैन, निर्देशन समेत गर्न तयार छौं,’ उनले भने । अभिनेता श्रेष्ठले तीनजना बुवा र उनीहरुको बच्चाले खेल्ने फिल्मबारेको कथा आफू र भुवनले लेखिरहेको बताएका थिए । सम्भवतः पहिलोपटक शिव, राजेश र भुवनले एउटै फ्रेममा उभिएर यस्तो ठट्टा गरेका हुन् ।
महानायक विवादलाई लिएर कुनैबेला भुवन र राजेशबीच चिसो सम्बन्ध समेत थियो । यो भेटघाटले उनीहरुको सम्बन्ध हार्दिक बनेकोजस्तो देखिएको छ । यो फिल्मी जमघटमा भुवन पुत्र अनमोल र झरना पुत्री सुहाना समेत उपस्थित थिए ।
साथै, अभिनेत्री पूजा शर्मा र ‘लक्का जवान’ टिमले पनि ‘ए मेरो हजुर ४’ फिल्म हेरेको थियो ।
प्रतिक्रिया 4