+
+
महानगरमा एमाले उम्मेदवार :

भरतपुरमा सुवेदीलाई ग्रिन सिंग्नल, पोखरामा थापा र पहारीको च्याप्टर क्लोज

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते २०:०४
बाँयाबाट क्रमश: विजय सुवेदी, राजीव पहारी र कृष्ण थापा ।

८ वैशाख, काठमाडौं । नेकपा एमालेले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार १० गते मात्र टुंगो लगाउने भएको छ । तर गण्डकी र लुम्बिनी प्रदेशमा भने प्रदेशसभा सदस्यलाई उम्मेदवार नबनाउने निर्णय भएको छ ।

बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा आकांक्षीहरुको नाम प्रस्तुत भएको थियो । यसबारे थप अध्ययन र छलफल गरेर १० गते बस्ने बैठकले निर्णय गर्ने सचिव योगेश भट्टराईले बताए ।

प्रचार विभाग प्रमुख एवं उपमहासचिव पृथ्बीसुब्बा गुरुङका अनुसार बैठकमा महासचिव शंकर पोखरेलले तल्ला कमिटीबाट सिफारिस भएका नामहरु पेश गरेका थिए । उनले भने, ‘नामहरुबारे आज महासचिवले जानकारी गराउने काम भएको छ । यसबारे पर्सि हुने बैठकबाट निर्णय गर्छौं ।’

भरतपुर महानगरको प्रमुखमा विजय सुवेदी, वीरगञ्जमा विजयी सराबगी र ललितपुर महानगरको प्रमुखमा हरिकृष्ण व्यञ्जनकारको मात्र नाम सिफारिस भएको छ । अन्यत्र भने एकभन्दा बढीको नाम सिफारिस भएको छ ।

पोखरा महानगरको मेयरको उम्मेदवारका लागि दुई प्रदेशसभा सदस्यसहित १२ जनाको नाम सिफारिस भएको छ ।

तर सचिवालय बैठकले गण्डकीमा प्रदेशसभा सदस्यलाई स्थानीय तहमा उम्मेदवार नबनाउने निर्णय गरेको छ । प्रचार विभाग प्रमुख गुरुङले भने, ‘गण्डकीको हकमा अझै पनि सरकार फेरबदल हुनसक्ने सम्भावनालाई मध्यनजर राखेर प्रदशेसभा सदस्यलाई स्थानीय तहको चुनावमा अगाडि सार्दैनौं ।’

सचिवालय बैठकको यो निर्णयसँगै प्रदेशसभा सदस्य कृष्ण थापा र राजीव पहारीको पोखरा महानगरको मेयरका लागि उम्मेदवार बन्ने बाटो बन्द भएको छ ।

भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवारमा सिफारिस विजय सुवेदी पनि बाग्मती प्रदेशका प्रदेशसभा सदस्य थिए ।

नगर कमिटीले सर्वसम्मतका रुपमा नाम सिफारिस गरेपछि सुवेदीले बिहीबार नै प्रदशेसभा सदस्यबाट राजीनामा दिएका छन् । ‘त्यहाँ फरक परिस्थिति हो । त्यसैले सिफारिस भएकै उम्मेदवार कायम रहन्छ,’ एक सहभागीले भने ।

गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धन सरकार छ । एक सांसदले मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिए एमालेको सरकार बन्ने सम्भावना रहेको भन्दै गुरुङले भने, ‘दुई दिनका लागि भए पनि सरकार महत्वपूर्ण हुन्छ ।’

प्रदेशसभाको कार्यकाल अझै ८/९ महिना बाँकी रहेकाले आवश्यक परे लुम्बिनी, प्रदेश १ लगायतमा पनि प्रदेशसभा सदस्यलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय हुनसक्ने उनले बताए । तर वाग्मती प्रदेशको हकमा सरकार परिर्वतन भइहाल्ने नजिकको सम्भावना कम रहेको भन्दै उनले भने, ‘(सरकार फेरिने सम्भावना) कम भएको ठाउँमा त्यो निर्णयमा बाँधिँदैनौं ।’

कृष्ण थापा असन्तुष्ट

यसैबीच गण्डकी प्रदेश सांसदलाई स्थानीय तहको उम्मेदवार बन्न नपाउने निर्णयप्रति पोखराका मेयर आकांक्षी कृष्ण थापाले असन्तुष्टि जनाएका छन् । ‘पार्टीको कुनै निर्णय भएको छैन । अहिले बाहिर आइरहेको कुरा पनि आधिकारिक होइन, अपवाह मात्रै हो,’ थापाले अनलाइनखबरसँग भने, ‘यसबारे धेरै बोलिनँ ।’

अर्का सांसद तथा मेयर आकांक्षी राजीव पहारीले भने केन्द्रीय नेतृत्वले गरेको निर्णय अन्तिम हुने प्रतिक्रिया दिएका छन् । ‘पार्टीको बफादार कार्यकर्ता हो भने केन्द्रीय नेतृत्वको कुरा मान्य हुन्छ, मान्नैपर्छ,’ पहारीले अर्का सांसद थापाप्रति इंगित गर्दै भने, ‘आफू अनुकुल आयो भने ठीक, होइन भने षड्यन्त्र भयो भनेर बाहिर बोलेर काम छैन । चित्त बुझेन भने भित्रै कुरा गर्ने हो ।’

पोखरा महानगर प्रमुखका १२ आकांक्षीबीच ३ दिन छलफल गर्दासमेत सहमति नजुटेपछि गत शुक्रबार आन्तरिक निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक भएको थियो । तर अन्तिम समयमा निर्वाचन रोकेर सबैको नाम सिफारिस गरिएको थियो ।

कास्कीमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीको अन्तरसंघर्ष चर्को भएकाले पनि महानगरको उम्मेदवारबारे सहमति नजुटेको हो । अहिले प्रदेश सांसदलाई उम्मेदवार नबनाउने निर्णय गर्नुको कारण पनि यसलाई मानिएको छ ।

मेयर आकांक्षी कृष्ण थापा खगराज अधिकारी पक्षधर हुन् भने राजीव पहारी पृथ्वीसुब्बा गुरुङ पक्षधर हुन् । थापाले निकटवर्तीहरुसँग आफूलाई रोक्नैकै लागि षड्यन्त्र गरिएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?