११ वैशाख, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा नेकपा (एमाले) रोल्पाले उम्मेदवारको अन्तिम टुंगो लगाएको छ । एमालेले अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मलाकुमारी वलीलाई उमेदवार बनाउने निर्णय गरेको हो ।
वडाध्यक्षको उमेदवारमा वडा नं. १ बाट जंग डांगी, वडा नं. २ मा देवराज वली, वडा नं. ३ माकुलानन्द डाँगी र वडा नं. ४ मा ज्ञानबहादुर वली रहेका छन । यसैगरि वडा नंं ५ मा बलिराम नगवाग, वडा नंं ६ मा वीरबहादुर वली र वडा नं. ७ मा तुलबहादुर घर्तीमगर रहेका छन् ।
मुख्य तीन राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको त्रिपक्षीय प्रतिस्पर्धा हुने यो पालिकामा विप्लव नेतृत्वको नेकपाले समेत स्वतन्त्र उमेदवारी घोषणा गरेसँगै निर्वाचन थप रोचक हुने भएको छ ।
गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट हरिबहादुर पुन र माओवादी केन्द्रबाट वीरबहादुर खत्रीको चर्चा सुनिए पनि उनीहरूको अझै उम्मेदवारी टुंगो लागिसकेको छैन ।
विप्लव नेतृत्वको नेकपाको तर्फबाट पार्टीका केन्द्रीय सदस्य चुडामणि वलीले स्वतन्त्र उमेदवारी घोषणा गरी निर्वाचन लक्षित गतिविधि गरिरहेका छन ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा सो गाउँपालिकाबाट नेकपा माओवादीका उम्मेदवार वीरबहादुर खत्रीले विजय हासिल गरेका थिए ।
खत्रीले २४१४ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका रोशनकुमार वलीले २२९० र तेस्रो स्थान हासिल गर्ने नेपाली कांग्रेसका उम्मेदवार हरिबहादुर पुनमगरले २२६१ मत प्राप्त गरेका थिए ।
७ वडा रहेको गाउँपालिकामा माओवादी केन्द्रले ४, एमालेले २ र नेपाली कांग्रेसले १ वडामा जितेको थियो । माओवादी केन्द्रले वडा नंं २, ३, ४ र ५ जितेको थियो भने एमालेले वडा नं. ६ र ७ तथा कांग्रेसले वडा नंं १ जितेको थियो ।
प्रतिक्रिया 4