
काठमाडौं । विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल कान्समा नेपालले पहिलोपटक खाता खोलेको छ । अविनाशविक्रम शाह निर्देशित १४ मिनेट लामो फिल्म ‘लोरी’ सर्ट फिल्म प्रतिस्पर्धामा छानिएको हो ।
कान्सको आधिकारिक वेबसाइटका अनुसार ९ मुलुकका ९ छोटा फिल्म यो विधाको प्रतिस्पर्धामा छानिएका छन् । १४० देशका ३५ सयभन्दा बढी फिल्मबाट ‘लोरी’ले स्थान बनाएको हो ।
नेपालसहित चीन, अमेरिका, फ्रान्स, दक्षिण कोरिया, कोस्टारिका, लिथुआनियाका फिल्म पनि छनोट भएका छन् । ‘लोरी’लाई नेपाल र हङकङले मिलेर निर्माण गरेका हुन् ।
कान्स फेस्टिभल मे १७ देखि २८ सम्म फ्रान्स हुँदैछ । यसअघि किरण पोखरेलको ‘विङ्स’, फिडेल देवकोटाको फिल्म ‘काङलिङ’ले कान्सको सहविधामा प्रतिस्पर्धा गरेपनि औपचारिक रुपमा छानिएको यो पहिलो अवसर हो ।
निर्देशक मीनबहादुर भामले कान्सको फिल्म बजारबाट फिल्म ‘चिसो वर्ष’ निर्माणका लागि ६६ लाख रुपैयाँ बराबरको ग्रान्ट जितेका थिए । भाम निर्देशित फिल्म ‘कालोपोथी’का लेखक समेत रहेका शाहले नयाँ फिल्म ‘झ्यालिन्चा’ निर्माण गर्दैछन् ।
प्रतिक्रिया 4