
पछिल्लो दुई महिनादेखि युक्रेनमा जारी रुसी आक्रमणका कारण अमेरिकालगायतका पश्चिमा मुलुकहरूले रुसमाथि कडा प्रतिबन्धको नीति अख्तियार गरिरहेका छन् ।
आफूमाथिको प्रतिबन्धको जवाफमा रुसले पनि धेरैजना अमेरिकी व्यक्तित्वहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ ।
रुसले अनिश्चितकालसम्मका लागि रुस प्रवेशमा प्रतिबन्ध लगाएका अमेरिकी व्यक्तित्वहरूको सूचीमा सोसल मिडिया कम्पनी फेसबुकका सीईओ मार्क जुकरबर्गसमेत छन् ।
रुसले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसदेखि मेटा सीईओ मार्क जुकरबर्ग र लिंक्डइनका सीईओ र्यान रोस्लान्स्की लगायत माथि प्रतिबन्ध लगाएको हो ।
रुसविरुद्ध त्रास फैलाएको भन्दै उसले कतिपय चर्चित अमेरिकी पत्रकारमाथि पनि प्रतिबन्ध लगाएको छ ।
रुसी विदेश मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार प्रतिबन्धमा पर्ने अमेरिकीहरूमा बैंक अफ अमेरिकाका अध्यक्ष तथा सीईओ ब्रायन थोमस मोइनिहान, एबिसी टेलिभिजन च्यानलका पत्रकार जर्ज स्टेफानोपोउलसलगायत रहेका छन् ।
रुसले यसअघि नै रुसविरुद्ध अफवाह फैलाउने काम गरेको र आफ्नो मुलुकको कानुन उल्लंघन गरेको भन्दै विभिन्न चर्चित पश्चिमा इन्टरनेट प्लाटर्फमहरूमाथि बन्देज लगाइसकेको छ ।
रुसमा फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइएको छ भने गुगल न्यूजमा पहुँच सीमित गरिएको छ । युट्युबमाथि पनि रुसले चेतावनी जारी गरिसकेको छ ।
युक्रेनमाथि रुसी हमाको विरोध गर्दै एप्पल, गुगल तथा माइक्रोसफ्टलगायतका विभिन्न प्रविधि कम्पनीहरूले रुसमा आफ्नो सेवा बन्द तथा स्थगन गरिसकेका छन् ।
स्मरण रहोस् अमेरिका तथा विभिन्न पश्चिमा मुलुकहरूले यसअघि नै राष्ट्रपति भ्लादमिर पुटिन, उनका छोरीहरू, रुसका विभिन्न नेता तथा अर्बपतिहरूमाथि प्रतिबन्ध लगाएका थिए ।
एजेन्सी
प्रतिक्रिया 4