
११ वैशाख, बागलुङ । स्थानीय तह निर्वाचनको मनोनयन दर्ता गर्ने पहिलो दिन आज बागलुङका चारवटा स्थानीय तहमा कसैले पनि मनोनयन दर्ता गरेनन् ।
अन्य ६ स्थानीय तहमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी र केही स्वतन्त्र उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् ।
बागलुङको गलकोट नगरपालिका, तमानखोला गाउँपालिका, तराखोला गाउँपालिका र बरेङ गाउँपलिकामा एउटा पनि मनोनयन दर्ता भएको छैन ।
निर्वाचन अधिकृतको कार्यालयमा कर्मचारीहरु बिहानैदेखि तयारी भएर बसे पनि केही दलका प्रतिनिधि फामर लिन आए पनि मनोनयन दर्ता गर्न कोही नआएपछि उनीहरु फुर्सदिला थिए ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सँगै अन्य राजनीतिक दलले मनोनयन दर्ताको लागि फारम लगे पनि राजनीतिक दल र स्वतन्त्र कसैले पनि उम्मेदवारी दर्ता नगराएको बरेङ गाउँपालिकाका निर्वाचन अधिकृत मनिराम ज्ञवालीले बताए ।
जिल्लाको सबैभन्दा ठुलो नगरपालिका बागलुङ नगरपालिकामा एउटा मात्र मनोनयन दर्ता भएको सहायक निर्वाचन अधिकृत गंगा सापकोटाले बताए । बागलुङमा उपमेयर पदमा तारा कुमारी रिजालको स्वतन्त्र उम्मेदवारी परेको छ ।
त्यसैगरी ढोरपाटन नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका मिमबहादुर भण्डारीले मेयर पदमा उम्मेदवारी दिएका छन् । राप्रपाकै तर्फबाट वडा नम्बर ६ को वडा अध्यक्षमा अध्यक्ष तुलबहादुर भण्डारी, वडा सदस्यमा मनिषा भण्डारी, जितबहादुर थापा र मुना भण्डारीले उम्मेदवारी दर्ता गराएको ढोरपाटन नगरपालिकाका निर्वाचन अधिकृत लालसिंह थापाले जानकारी दिनुभयो ।
जैमिनी नगरपालिकामा राष्ट्रिय जनमोर्चाकी रुद्राकुमारी रोका क्षेत्रीले उपमेयर पदमा उम्मेदवारी दिएकी छिन् । जैमिनी नगरपालिकाको वडा नम्बर २ को अध्यक्षमा राप्रपाका यज्ञप्रसाद, वडा नम्बर ६ को अध्यक्षमा यामबहादुर क्षेत्री र स्वतन्त्रबाट वडा नम्बर ३ को अध्यक्षमा कृष्णबहादुर पाण्डे, वडा नम्बर ९ को अध्यक्षमा मंगोलियन नेशनल अर्गनाइजेसनबाट सहवीर थापाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत सूर्यप्रसाद भण्डारीले बताए ।
त्यसैगरी काठेखोला गाउँपालिका वडा नम्बर ५ मा होमनाथ कँडेलले स्वतन्त्र रुपमा वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
बडीगाडमा ५ र निसी खोलामा राप्रपाका ५ जनाको मात्र मनोनयन
बडिगाड गाउँपालिकामा पाँच जनाको मात्रै उम्मेदवारी दर्ता भएको छ । राप्रपाकातर्फबाट वडा नम्बर ५ मा पाँच जनाको उम्मेदवारी दर्ता भएको बडिगाड गाउँपालिकाका निर्वाचन अधिकृत सीतादेवी सुवेदीले बताइन् ।
निसीखोला गाउँपालिकामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाको तर्फबाट गाउँपालिका अध्यक्षका लागि कृष्णबहादुर मल्ल, उपाध्यक्षमा शान्तकुमारी चन्दले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गोविन्द गिरीले बताए । त्यस्तै राप्रपाकै तर्फबाट वडा नम्बर ३ वडा अध्यक्ष रामचन्द्र शेन र वडा सदस्यमा होमबहादुर कुँवरले उम्मेदवारी दर्ता गराएका छन् ।
सत्तारुढ गठबन्धनले भागबण्डा मिलाउन नसक्दा उम्मेदवारको अझै टुङ्गो लागेको छैन । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे अनिलले सत्तारुढ गठबन्धन सँग तत्कालको लागि वार्ता अवरुद्ध भएको बताए ।
‘कार्यकर्ताको भावना फरक भए पनि केन्द्रीय निर्देशन अनुसार लगातार छलफलमा छौं,’ गैरेले भने ‘मिल्यो मिल्यो भन्यो फेरि भाँडिन्छ, विहानसम्म निष्कर्ष निस्केला ।’
नेकपा एमालेले बागलुङको ढोरपाटन नगरपालिका, गलकोट नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, तमानखोला गाउँपालिका र तराखोला गाउँपालिकामा उम्मेदवार टुङ्ग्याएको भए पनि मनोनयन दर्ता गराएको छैन ।
एमालेले बागलुङ नगरपालिका, बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र काठेखोला गाउँपालिका गाउँपालिकामा उम्मेदवार अझै टुङ्ग्याउन सकेको छैन । सोमबार जिल्लाका १० वटै स्थानीय तहमा एकसाथ उम्मेदवारी दर्ता गर्ने तयारी रहेकाले उम्मेदवार टुङ्गिएको स्थानमा पनि उम्मेदवारी नदिएको एमाले जिल्ला अध्यक्ष हिरा केसीले जानकारी दिए ।
प्रतिक्रिया 4