
११ वैशाख, सुर्खेत । सत्तारुढ गठबन्धनको प्रदेश स्तरीय संयन्त्रले दैलेख जिल्लाको भागवण्डा टुंगो लगाएको छ । बिहीबारदेखि जारी गठबन्धनको प्रदेशस्तरीय बैठकले दैलेखका पालिकाहरुको सिट बाँडफाँट गरेको हो ।
११ वटा स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले ६ वटा प्रमुख र ५ वटा उपप्रमुख पाएको छ । त्यस्तै एकीकृत समाजवादीले ३ वटा प्रमुख र दुईवटा उपप्रमुख पाएको छ भने नेकपा माओवादी केन्द्रले दुई वटा पालिकामा प्रमुख र चारवटामा उपप्रमुख पाएको छ । ०७४ को स्थनीय निर्वाचनमा दैलेखमा माओवादी शून्यमा रहेको थियो ।
नारायण नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) ले पाएको छ । दुल्लु नगरपालिकामा मेयर काँग्रेस र उपमेयर नेकपा माओवादीले पाएको छ ।
चामुण्डा विन्द्रासैनी नगरपालिकामा मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली कांग्रेसलाई परेको छ । आठबीस नगरपालिकामा मेयर नेपाली कांग्रेस, उपमेयर नेकपा माओवादी केन्द्रलाई भाग लगाइएको छ । महाबु गाउँपालिका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) र उपाध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार उठाउने भएको छ ।
यस्तै नौमूले गाउँपालिकामा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी, भगवतीमाई गाउँपालिकामा नेकपा माओवादी केन्द्रले अध्यक्ष र कांग्रेसले उपाध्यक्ष पाउने भएका छन् ।
भैरबी गाउँपालिकामा अध्यक्ष नेकपा एकीकृत समाजवादी र उपाध्यक्ष कांग्रेसलाई बनाइने भएको छ । ठाटीकाँध गाउँपालिकामा अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेपाली कांग्रेसबाट उम्मेदवार उठाइने भएको छ ।
डुङ्गेश्वर गाउँपालिकामा अध्यक्ष कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रलाई परेको छ । गुराँस गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष र नेकपा माओवादी केन्द्रका उपाध्यक्षलाई उम्मेदवार बनाउने सहमति भएको छ ।
प्रतिक्रिया 4