+

सिटीलाई २ असाधारण नतिजा चाहिएकाे छ : ग्वार्डिओला

२०७९ वैशाख  १३ गते १४:४० २०७९ वैशाख १३ गते १४:४०
सिटीलाई २ असाधारण नतिजा चाहिएकाे छ : ग्वार्डिओला

१३ बैशाख, काठमाडौं । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रियल म्यड्रिडलाई हराएर च्याम्पियन्स लिगको फाइनलमा पुग्न ‘दुई असाधारण खेल’ आवश्यक रहेको बताएका छन् ।

इंग्लिस प्रिमियर लिगको शीर्ष टिम सिटीले मंगलबार घरेलु मैदानमा सेमिफाइनलको पहिलो लेगमा ला लिगाको शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग खेल्दैछ ।

गत सिजन पहिलो पटक च्याम्पियन्स लिगको फाइनल खेल्दा ग्वार्डिओलाको टिम चेल्सीसँग १–० ले पराजित भएको थियो । रियल भने १३ पटकको युरोपियन च्याम्पियन हो ।

‘रियल कति बलियो छ भनेर बताइरहन आवश्यक छैन,’ ग्वार्डिओलाले भने, ‘यदि हामीले उनीहरूको इतिहाससँग प्रतिस्पर्धा गर्नुपर्‍यो भने, हामीसँग कुनै मौका छैन । इतिहास त्यहाँ छ, हामी यसलाई बदल्न सक्दैनौं, तर यो खेल एक बलसँग ११ विरुद्ध ११ जनाले खेल्ने हो । हामी राम्रोसँग प्रतिस्पर्धा गर्नेछौं । हामीले फाइनलमा पुग्न दुईवटा असाधारण खेल खेल्नुपर्छ ।’

ग्वार्डिओलाले इङ्ल्यान्डका डिफेन्डरद्वय जोन स्टोन्स र केइल वाल्करको फिटनेसबारे ढिलो निर्णय गर्नेछन्, दुवै चोटका कारण खेल्नेमा शंका छ ।

सात सिजनमा सिटी च्याम्पियन्स लिगको अन्तिम चारमा पुगेको यो तेस्रो पटक हो, जबकी रियल १२ वर्षमा १० औं पटक सेमिफाइनलमा पुगेको छ र सन् २०१८ मा लिभरपुललाई ३–१ ले हराएर उपाधि जितेपछि रियलले पहिलो पटक प्रतियोगिता जित्ने लक्ष्य राखेको छ ।

‘रियल मड्रिडविरुद्ध सेमिफाइनलमा खेल्न पाउनु सम्मानको कुरा हो,’ ग्वार्डिओलाले थपे, ‘उनीहरू यहाँ धेरै पटक आएका छन्, हामी हालैका वर्षहरूमा मात्र आएका हौं ।’

सिटीले क्वार्टरफाइनलमा एट्लेटिको मड्रिडलाई समग्रमा १–० ले हराएको थियो । प्रिमियर लिगमा पाँच खेल खेल्न बाँकी रहँदा सिटी लिभरपुलभन्दा एक अंकले अगाडि छ । उता रियलले ला लिगामा बार्सिलोनामाथि १५ अंकको अग्रता लिएको छ र उसलाई च्याम्पियन बन्न एक अंक मात्र आवश्यक छ ।

सेमिफाइनलको दोस्रो लेगको खेल मे ४ मा बर्नाबेउमा र फाइनल २८ मे मा पेरिसमा हुनेछ । लिभरपुल र स्पेनिस टोली भियारियलबीच अर्को सेमिफाइनलको पहिलो लेग बुधबार एनफिल्डमा हुनेछ ।

च्याम्पियन्स लिग पेप ग्वार्डिओला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय