+
+

टिकट वितरणमा विभेद गरिएको शेखर पक्षको निष्कर्ष

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २०:४७

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले उम्मेदवारी टिकट वितरणमा विभेद भएको निष्कर्ष निकालेको छ । उक्त मुद्धालाई संस्थापनइतरले निर्वाचन लगत्तै पार्टीमा उठाउने भएको छ ।

बुधबार विहान नेता कोइरालाले विज्ञप्तिमार्फत र दिउँसो महामन्त्री गगन थापाले एक सार्वजनिक कार्यक्रममा भाषणमार्फत टिकट वितरणमा विभेद भएको संकेत गरे ।

सक्षम व्यक्तिलाई टिकट नदिएको, पार्टी भित्र फरक पक्षको भएकै कारण विभेद गरेको र विधान उल्लंघनको मुद्धालाई संस्थापनइतर प्रमुखताका साथ उठाउने भएको छ ।

निर्वाचन सकिएलगत्तै उक्त मुद्धाले पार्टीमा प्रमुखता पाउने महामन्त्री थापा बताउँछन् । ‘कतिपय ठाउँमा नियत पनि खराब राखिएको छ, प्रतिशोध साँध्ने हिसाबले व्यवहार भएको छ’ थापाले बुधबार काठमाडौंमा पार्टीको सम्पर्क समितिको कार्यक्रममा भने, ‘खराब आचरणका कारणले पनि प्रतिशोध राखिएको छ । यी सबै विषयलाई हामी बेवास्ता गर्न सक्दैनौंं ।’

पार्टीमा आफ्नो पक्षका कार्यकर्तालाई पाखा पारिएको बुझाइ नेता कोइरालाको छ । टिकट वितरणमा आफ्नो पक्षले राखेको विचार समेत नसुनिएको कोइरालाको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौं, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन’, कोइराला भन्छन् । फरक खेमाको भएकै कारण कैयन कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्न भएको कोइरालाले आरोप लगाएका छन् ।

टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भएको संकेत समेत कोइरालाले गरेका छन् । पार्टीभित्र न्यायसंगत निर्णय हुन नसक्दा दल त्याग्न निष्ठावान कार्यकर्ता वाध्य भएको उनले उल्लेख गरेका छन् । डडेलधुरा, भरतपुर, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, ओखलढुङ्गा, पूर्वी नवलपरासी, रुपन्देही, जनकपुर, गुल्मी, पाल्पा, बाँके, प्युठान लगायतका जिल्लामा कांग्रेसकै विद्रोही उम्मेदवार उठेका छन् ।

टिकटमा विभेद गरेको गुनासो देशभरबाट आएको संस्थापनइतरले जनाएको छ । ‘प्रतिनिधि सभा क्षेत्रको संसदीय समितिलाई भएको अधिकार प्रयोग गरेर जिल्ला संसदीय समितिले टिकट बाँडेको छ’, महामन्त्री थापा भन्छन्, ‘एक–एक उजुरी आएका छन् । उजुरी संकलन गरिरहेका छौं । कतिपय ठाउँमा चिठी पनि काटेका छौं । एउटा विषयलाई पनि हामी त्यत्तिकै छाड्दैनौं । कार्यकर्ता माथि भएको विभेदको १/१ हिसाब किताब हुन्छ ।’ नेता कोइरालाले पनि टिकट वितरण प्रक्रियामा अपनाइएको मापदण्डको अध्ययन, अनुसन्धान र समीक्षा गरिने बताएका छन् ।

पार्टी विधानको व्यवस्था अनुसार टिकट वितरणलाई कार्यान्वयन नगरिएकोे शेखर पक्षको दाबी छ । विधानमा चार तहका संसदीय समितिले टिकट वितरण गर्ने व्यवस्था छ ।

टिकट वितरणका लागि विधानले दिएको अधिकार उपल्लो तहले खोसेको पार्टीभित्र आवाज उठेको छ । वडा अध्यक्ष र सदस्यको उम्मेदवार प्रतिनिधि सभा संसदीय समितिले टुंग्याउने विधानको व्यवस्था छ ।

गाउँपालिकाको अध्यक्षको उम्मेदवार जिल्ला संसदीय समितिले, नगरपालिका र उपमहानगरपालिका प्रमुख र उपप्रमुख प्रदेश संसदीय समिति र महानगरको प्रमुख र उपप्रमुख केन्द्रीय समितिले टुंग्याउने कांग्रेस विधानमा व्यवस्था छ । ‘विधान अनुसार तल्लो तहका संरचनाले उम्मेदवारको टुंगो नलगाउँदा भएका अप्ठ्याराका गुनासो आएका छन् । दोषी देखिएका दण्डको भागी हुनुपर्छ’ थापाले भने ।

तालमेलको मुद्धा उठाइरहने

संस्थापनइतरले तालमेलको मुद्धालाई पनि महत्वका साथ उठाउने भएको छ । पार्टीमा तालमेलको पक्ष र विपक्षमा स्पष्ट दुई धार देखिएको छ ।

संस्थापन पक्षको बहुमत रहेको केन्द्रीय समितिले आवश्यकताका आधारमा स्थानीय तहले तालमेलको निर्णय गर्न सक्ने निर्णय गरेको थियो । तर केन्द्रबाटै तालमेलको निर्णय गरिएको छ ।

‘तालमेल ठीक हो कि होइन भन्ने विषयमा पार्टी भित्र फरक फरक मतहरु मात्रै नभएको होइन । मत भिन्नता रह्यो, अहिले पनि छ’, महामन्त्री थापाले भने, ‘आफ्नो मतलाई दलको मत बनाउन सकेसम्म कोशिस गर्ने हो । आफ्नो मतलाई दलको मत बनाउन सकिएन भने पनि त्यसका लागि कोशिस गरिरहने हो ।’

निर्वाचन नजिकिएकाले बहस र छलफल गर्ने समय तत्कालका लागि नभएकाले चुनाव पछि बहस गरिने थापा बताउँछन् । उनले अहिले पार्टीको निर्णय मान्नुको विकल्प नभएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?