+
+

पोखरा महानगर : गठबन्धन विवाद कायमै !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १५:४५

१५ वैशाख, पोखरा । पोखरा महानगरपालिकाको भागवन्डालाई लिएर सत्तारुढ गठबन्धनमा देखिएको विवाद अझै मत्थर भएको छैन । मेयर एकीकृत समाजवादीलाई छाडेकोमा नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट छन् भने वडा तहसम्म भागवन्डा भन्दै माओवादी केन्द्रले विरोध गरेको छ ।

बिहीबार गठबन्धनको साझा घोषणा पत्र सार्वजनिक कार्यक्रममा पनि त्यो असन्तुष्टि पोखिएको छ ।

असन्तुष्ट कांग्रेस कार्यकर्ताले घोषणा पत्र सार्वजनिक गर्ने स्थलमा तालबन्दी गर्दै नाराबाजी गरे । जसले गर्दा घोषणा पत्र सार्वजनिक कार्यक्रम ढिलो गरी भयो ।

अघिल्लो निर्वाचन नतिजाअनुसार पोखरामा नेकपा एमाले पछि सबैभन्दा ठूलो दल नेपाली कांग्रेस हो । अघिल्लोनिर्वाचनमा पोखराका ३३ वटा वडामध्ये ११ वटा वडामा कांग्रेसले जित निकालेको थियो ।

एक्लै चुनाव लड्दासमेत जित्न सक्ने जनाधार बनाइसकेको भन्दै कांग्रेस, कास्कीका नेताहरुले गठबन्धन आवश्यक नरहेको बताएका थिए । तर गठबन्धनको शीर्ष नेतृत्वले पोखरा महानगर प्रमुख नेकपा एकीकृत समाजवादी र उपप्रमुख नेपाली कांग्रेसले पाउने सहमति गरेको थियो ।

सहमतिअनुसार गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला राभानाटले उम्मेदवारी दिएकी छन् । कांग्रेसका ३ जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

मेयर छाडेकाले नेता कार्यकर्ता असन्तुष्ट छन् । असन्तुष्ट पक्षले आइतबार आफ्नै जिल्ला नेतालाई ५ घन्टाभन्दा बढी समय कार्यालयमै थुनेका थिए । जिल्ला सभापतिले प्रमुख र उपप्रमुखबाहेक अन्य वडा र पालिकामा तालमेल नगर्ने निर्णय सुनाएपछि मात्रै तालाबन्दी खुलेको थियो ।

कांग्रेस ३३ वटै वडामा उम्मेदवारी दिएको छ र वडागत तहमा तालमेल गर्न नसकिने अडान कायम राखेको छ । तर गठबन्धनमा आवद्ध अरु दलले भने वडामा पनि सहमति गर्न दबाव दिएका छन् । वडा नं. १८, २२ र २४ नेकपा माओवादी केन्द्रले मागेको छ ।

उम्मेदवारी फिर्ता लिने दिन नजिकिँदै गर्दा समेत कांग्रेससँग सहमतिमा हुन नसकेको माओवादी केन्द्र, पोखरा महानगर कमिटीले जनाएको छ ।

नगर कमिटीका अध्यक्ष हरिनारायण गिरीले विज्ञप्ति जारी गर्दै गठबन्धनको मूल मर्मविपरीत एक्लै लड्ने गरी ३३ वटै वडामा कांग्रेसले उम्मेदवार उठाएकाले शंका उत्पन्न गराएको बताएका छन् । ‘उम्मेदवारको मनोनयन फिर्ता लिने बेलासम्म छिटोभन्दा छिटो निर्णयमा पुग्न गठबन्धनमा रहेका सम्पूर्ण राजनीतिक दलहरुलाई हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन् ।

कास्कीका ५ पालिकामध्ये पोखराबाहेक ४ पालिका प्रमुख कांग्रेस र उपप्रमुख माओवादीले लिने प्रारम्भिक सहमति भएको थियो । तर माओवादीले ५ वटा उपप्रमुख मागेको भन्दै कांग्रेसले सहमति पत्रमा हस्ताक्षर गर्न मानेको थिएन ।

अहिले मादी गाउँपालिका मात्रै कांग्रेस र माओवादीले गठबन्धन गरेका छन् । जसअनुसार अध्यक्षमा कांग्रेसका देवीजंग गुरुङ र उपाध्यक्षमा माओवादीका लालबहादुर गुरुङले उम्मेदवारी दिएका छन् ।
महानगरमा नेकपा एमालेबाट प्रमुखमा कृष्ण थापा र उपप्रमुखमा मञ्जुदेवी गुरुङले उम्मेदवारी दिएका छन् । महानगर प्रमुखका लागि २८ र उपप्रमुखमा ११ जनाको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?