
१६ वैशाख, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शुक्रबार सार्वजनिक गरेको घोषणापत्रमा आफू र नेपाली कांग्रेस मात्रै लोकतान्त्रिक पार्टी रहेको बताएको छ । जनता समाजवादी पार्टीलाई पनि उसले कम्युनिस्ट पार्टी भनेको छ ।
लोसपाले कांग्रेसलाई मित्र शक्ति मानेको छ, तर कांग्रेस संकीर्ण, अनुदारवादी र जातीय दल भएको भन्दै आलोचना गरेको छ।
‘जबजब मधेशी, शिल्पी/दलित, थारू, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्नवर्ग लगायत वहिस्करण तथा वञ्चितीकरणमा परेका र पारिएकाहरूको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रूपमा आफूलाई संकुचित गर्छ,’ घोषणा पत्रमा भनिएको छ ।
लोसपाले कांग्रेसबारे थप भनेको छ, ‘देशको समृद्धि, नयाँ नेतृत्वको विकास, अग्रगामी परिवर्तनका मुद्दा, चुस्त र इमानदार शासन–प्रशासन र युवा नेतृत्वलाई अवसर आदि विषयमा पनि नेपाली कांग्रेस अत्यन्तै उदासीन र असफल देखिन्छ ।’
नेपालका कम्युनिष्ट पार्टीहरुको बर्चश्व रहिरहनुका पछाडिको कारक पनि नेपाली कांग्रेस रहेको आरोप लोसपाले घोषणा पत्रमा लगाएको छ । ‘केही सीमित ३–४ देशलाई छोडेर संसारबाट लगभग विदा भइसकेका कम्युनिस्टहरु नेपालको संसदमा झन्डै दुई–तिहाइ पुगेको अवस्थाको पछाडि कम्युनिस्टहरूको सामर्थ्यले भन्दा नेपाली कांग्रेसको अकर्मण्यताले बढी काम गरेको छ,’ लोसपाको जिकिर छ ।
कांग्रेस नेपालको पहिलो, लोकतान्त्रिक र प्रशस्त अवसर पाएको दल भन्दै लोसपाले देशमा ‘नक्कली कम्युनिस्ट’हरूको बिगबिगी हुनुको जिम्मेवारी कांग्रेसले लिनुपर्ने बताएको छ ।
लोसपाले दलीय र संसदीय अभ्यासमा परिवारवाद, नातावाद, सांसद खरिद–बिक्री, चुनावमा पैसा र बलको अत्यधिक प्रयोग, जनप्रतिनिधिहरूको असंस्कारी र अलोकतान्त्रिक आचरण, दलीय फाइदाको लागि सरकारी ढुकुटीको दोहन जस्ता विसंगतिको कांग्रेस पहिलो अभ्यासकर्ता भएको आरोप लगाएको छ ।
त्यस्तै नेपाली कांग्रेस लोकतान्त्रिक समाजवादको विचार कार्यान्वयनमा पनि चुकेको लोसपाको ठम्याई छ ।
कम्युनिष्टलाई ‘राजनीतिक उद्यमी’को संज्ञा
लोसपाले कम्युनिष्ट पार्टीहरुलाई ‘सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी’ जस्ता संज्ञा दिएको छ।
घोषणा पत्रमा भनिएको छ, ‘नेपालका कम्युनिस्ट पार्टीहरू स्वरूपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रूपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र सरकार र सत्तामा जान जे पनि गर्न सक्ने र जोसँग पनि मिल्न सक्ने तथाकथित उपल्लो जातिहरूको राजनीतिक उद्यम गर्ने संगठनहरू हुन् ।’
उसले कम्युनिष्ट पार्टीहरुमा केही जाति विशेषका पुरूषहरूको बाहुल्य रहेको समेत आरोप लगाएको छ। ‘लगभग सबै कम्युनिस्ट पार्टीहरूको माथिल्लो नेतृत्व तहमा रहेका २० जना नेताहरूको अनुहार हेर्ने हो भने पनि छर्लङ्ग हुन्छ कि ती केही जाति विशेषका पुरूषहरूको बाहुल्यता र वर्चस्व भएको पार्टीहरु हुन्,’ घोषणापत्रमा भनिएको छ, ‘त्यहाँ मधेशी, दलित, मुस्लिम, महिला आदिको शून्यप्रायः उपस्थितिले यी संगठनहरूका जातीय र नश्लीय सोच आफैंमा पुष्टि हुन्छ ।’
अरूण–तेस्रो जलविद्युत आयोजना,अमेरिकी सहयता परियोजना एमसीसी लगायतको उदाहरण दिँदै लोसपाले कम्युनिष्टहरुलाई विकासमा तगारो हाल्ने अग्रणी संगठनको आरोपसमेत लगाएको छ। ‘यसका साथसाथै कम्युनिस्ट पार्टीहरू राष्ट्रिय विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठनहरू हुन्,’ घोषणा पत्रमा भनिएको छ ।
प्रतिक्रिया 4