
१६ वैशाख, काठमाडौं । सरकारले आन्तरिक विमानस्थलहरुमा शुक्रबारबाट अनिवार्य हुने भनिएको रात्रिकालीन उडानको तालिका पर धकेलेको छ । वायुसेवा कम्पनीहरुले बाध्यकारी नियम नमान्ने र शुक्रबारबाट उडान रोक्ने चेतावनी दिएपछि नेपाल नागरिक उड्डयन प्राधिरकण केही समय रात्रिकालीन उडानको समय पर सार्न सहमत भएको हो ।
वायुसेवा सञ्चालक संघका अनुसार कम्पनीहरुको चेतावनीपछि शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, पर्यटन सचिव महेश्वर न्यौपाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र वायुसेवा संचालकहरुबीच छलफल भएको थियो ।
छलफलबाट रात्रिकालीन उडान सञ्चालन गर्न एक कार्यदल गठन गर्ने सहमति भएको छ । यो कार्यदलले २१ वैशाखमा प्रतिवेदन दिने भएको छ । सो प्रतिवेदनका आधारमा नयाँ स्लट तोकिने र २३ वैशाखबाट रात्रिकालिन उडान गर्न कम्पनीहरु सहमत भएका छन् ।
नयाँ स्लट नतोकिएसम्म पूर्ववत स्वीकृति अनुसारकै तालिकामा उडान सूचारु गरिने भएको छ । अहिले ८ बजे रातिसम्म नियमित उडान भइरहेकोमा प्राधिकरणले १२ बजे रातिसम्म लम्ब्याउन तयारी गरेको हो । यसले दिनमा हुने जहाजहरु ‘होल्ड’को समस्या कम हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया 4