+
+

रोल्पामा माओवादीविरुद्ध कांग्रेस, एमाले र विप्लवको गठबन्धन

महेश न्यौपाने महेश न्यौपाने
२०७९ वैशाख १८ गते १३:५८

१८ वैशाख, रोल्पा । सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रले थुप्रै पालिकाहरुमा नेकपा एमालेविरुद्ध गठबन्धन गरेका छन् । तर रोल्पामा ठीक उल्टो भएको छ ।

माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले मात्र होइन, नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले समेत गठबन्धन गरेको छ ।

सुनछहरी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन छ भने थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांगेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।

कहाँ कहाँ भयो गठबन्धन ?

सुनछहरी गाउँपालिकामा विप्लव समूहका पुष्टमन घर्तीमगरले गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवारी दिएका छन् । विप्लव नेतृत्वको नेकपाका पूर्व विशेष जिल्ला सेक्रेटरी पुष्टमनलाई एमाले र कांग्रेसले समर्थन गरेका छन् ।

वडा तहसम्म गठबन्धन गरेका उनीहरुको तर्फबाट उपाध्यक्षमा कांग्रेसका कोमबहादुर वुढामगरले उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रकातर्फवाट गाउँपालिका अध्यक्षका उम्मेदवार धनवहादुर पुन र उपाध्यक्षमा ननकला घर्तीमगर उम्मेदवार छन् ।

२०७४ मा यहाँ माओवादी केन्द्रले जितेको थियो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका आशबहादुर पुनमगर २ हजार ५६१ मतका साथ विजयी भएका थिए ।

कांग्रेसका दुर्गे वुढामगरले १ हजार १३६ र नेकपा एमालेका अध्यक्षका उम्मेदवार रिमु खत्रीले ९४७ मत प्राप्त गरेका थिए । तर यो पटक कांग्रेस, एमाले र विप्लव समूह एक ठाउँमा उभिएकाले माओवादी केन्द्रले २०७४ को विरासत जोगाउन सजिलो छैन ।

थवाङ गाउँपालिकामा पनि कांग्रेस र एमालेले विप्लव समूहकै उम्मेदवारलाई समर्थन गरेका छन् ।

कांग्रेसले गाउँपालिका अध्यक्षमा रमेशकुमार रोकामगर र उपाध्यक्षमा धनकुमारी रोकामगर तथा एमालेले अध्यक्षमा नकस घर्तीमगर र उपाध्यक्षमा शान्ति घर्तीमगरलाई उम्मेदवार बनाएको थियो ।

तर उनीहरुको उम्मेदवारी फिर्ता लिएर अध्यक्षमा स्वतन्त्र उम्मेदवार दर्जित रोकामगर र उपाध्यक्षमा रायवहादुर पुनमगरलाई समर्थन गरेका छन् । स्वतन्त्र भनिएका उनीहरु विप्लव समूहका हुन् ।

माओवादी केन्द्रले अध्यक्षमा ऋषिकेशव वुढामगर र उपाध्यक्षमा शर्मिला वुढामगरलाई उम्मेदवार बनाएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा पनि कांग्रेस र स्वतन्त्र उम्मेदवारबीच गठबन्धन भएको थियो । तर माओवादी केन्द्रका वीरवहादुर घर्तीमगर १ हजार ९९० मतका साथ विजयी भ एभने स्वतन्त्र उमेदवार अमित घर्तीमगरले १ हजार ५७ मत पाएका थिए । तेश्रो स्थानमा रहेका एमाले उमेदवार हितवहादुर रोकामगरले १३० मत प्राप्त गरेका थिए ।

माडीमा कांग्रेस र एमालेले वडा तहसम्मै गठबन्धन गरेका छन् । अध्यक्षमा एमालेबाट विजय घर्तीमगर र उपाध्यक्षमा कांग्रेसबाट कृष्ण विक उम्मेदवार छन् ।

माओवादी केन्द्रले भने अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीमगरलाई उठाएको छ । २०७४ सालको निर्वाचनमा पनि यहाँ कांग्रेस र एमाले मिलेका थिए । तर माओवादीका नन्दवहादुर पुन ३ हजार १८२ मतका साथ विजयी भए भने कांग्रेस एमाले गठवन्धनका गोपाल घर्तीमगरले २ हजार ६२१ मत पाएका थिए ।

त्रिवेणी गाउँपालिकामा पनि कांग्रेस र एमालेको गठबन्धन छ । अध्यक्षमा एमाले उम्मेदवार कर्णवहादुर वाँठालाई समर्थन गरेको कांग्रेसले उपाध्यक्षमा लेखमणि डाँगीलाई उम्मेदवार बनाएको छ ।

एमालेलाई समर्थन गर्दै कांग्रेसले गाउँपालिका अध्यक्षमा आशाकुमारी पुन केसीको उमेदवारी फिर्ता गराएको छ । तर उपाध्यक्षमा एमालेकी जानकारी वुढामगरले भने नाम फिर्ता लिएकै छैनन् ।

त्रिवेणीमा माओवादी केन्द्रले भने अध्यक्षमा रेशम पुनमगरलाई उम्मेदवार बनाएको छ ।

२०७४ सालको निर्वाचनमा एमालेका शान्तकुमार वली ३ हजार ३३३ मतका साथ विजयी भएका थिए । माओवादी केन्द्रका उम्मेदवार गंगाप्रसाद वुढामगरले ३ हजार ११२ मत ल्याउँदा कांग्रेसका कमलप्रसाद वुढामगरले ९८४ मत पाएका थिए ।

परिवर्तन गाउँपालिकामा कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको छ ।

तीनै दलले अध्यक्ष र उपाध्यक्षमा उम्मेदवारी दिइसकेका थिए । तालमेल गर्दा कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्ष लिएका छन् र अरुको उम्मेदवारी फिर्ता भएको छ ।

एमालेबाट अध्यक्षका उमेदवार गंगाराम वुढामगर, एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार तीलवहादुर पुन तथा उपाध्यक्षमा एकीकृत समाजवादीकी अरुणा थापा, कांग्रेसकी सपना घर्तीमगर र स्वतन्त्र उमेदवार लक्ष्मी डाँगीले उमेदवारी फिर्ता लिएका छन् ।

अब यहाँ गठबन्धनको तर्फबाट अध्यक्षमा कांग्रेसका विश्वकुमार चन्द र उपाध्यक्षमा एमालेकी सपना रोकामगर उम्मेदवार छन् । माओवादी केन्द्रले भने अध्यक्षमा शुकबहादुर वुढामगर र उपाध्यक्षमा कलादेवी खत्रीनीलाई उम्मेदवार बनाएको छ ।

परिवर्तन गाउँपालिका २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी केन्द्रले क्लीन स्वीप गरेको स्थानीय तह हो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका निमकान्त डाँगीले ४ हजार ६०८ मतका साथ विजयी हुँदा कांग्रेसका झक्कुप्रसाद घर्तीमगर १ हजार ९८९ मत प्राप्त गरेका थिए भने एमालेका लोकेन्द्रबहादुर घर्तीमगरले ६५९ मत पाएका थिए ।

सुनिलस्मृति गाउँपालिकामा भने कांग्रेसले राप्रपा र राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ । राप्रपाका सुरज घर्तीमगर, जनमोर्चाका शुक्रराज थापाले उम्मेदवारी फिर्ता लिएर अध्यक्षमा कांग्रेसका गंजवहादुर क्षेत्रीलाई समर्थन गरेका छन् ।

क्षेत्रीले माआवादी केन्द्रका मनिराम वुढाथोकी र एमालेका खिमचन्द्र पुनसँग प्रतिस्पर्धा गर्ने छन् ।

उपाध्यक्षमा कांग्रेस–राप्रपा–जनमोर्चाको तर्फवाट कांग्रेसकी तेजकुमारी विष्ट, माओवादी केन्द्रकी मीना थापा र एमालेकी उमेदवार तारा सेनवीच प्रतिस्पर्धा हुनेछ ।

०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । माओवादीका गुणेन्द्र घर्तीमगर ४ हजार १५५ मतका साथ विजयी भएका थिए भने कांग्रेसका शेरवहादुर महराको पक्षमा ३ हजार ६० मत पाएका थिए । एमालेका खिमचन्द्र पुनमगरले १ हजार १९ पाएका थिए । राप्रपाको ३३२ मत र राजमोको ३०१ मत आएको थियो ।

माओवादीले पनि गरेको छ गठबन्धन

६ वटा पालिकामा अरु दलको गठबन्धनसँग प्रतिस्पर्धा गर्न लागेको माओवादीले पनि केही ठाउँमा तालमेल गरेको छ ।

गंगादेव गाउँपालिकामा माओवादी केन्द्रले एकीकृत समाजवादीसँग तालमेल गरेको छ, जसअनुसार अध्यक्षमा माओवादीका वीरवहादुर खत्री र उपाध्यक्षमा एकीकृत समाजवादीका नेपवहादुर डाँगी उम्मेदवार छन् ।

सबै वडाध्यक्ष र २६ वटा वडा सदस्य माओवादीले लिएको छ भने २ जना वडा सदस्य एकीकृत समाजवादीले पाएको छ ।

यहाँ कांग्रेसले हरिबहादुर पुन र एमालेले रोसनकुमार ओलीलाई अध्यक्ष उठाएको छ ।

२०७४ सालमा यो गाउँपालिका माओवादीले जितेको थियो । माओवादीका वीरवहादुर खत्रीले २ हजार ४१४ मतका साथ अध्यक्षमा विजयी हुँदा एमालेका रोशनकुमार वलीले २ हजार २९० र कांग्रेसका हरिवहादुर पुनले २ हजार २६१ मत प्राप्त गरेका थिए ।

रुन्टीगढी गाउँपालिकामा माओवादी केन्द्रले एकीकृत समाजवादी र जनमोर्चासँग तालमेल गरेको छ । नेकपा एमाले र नेपाली कांग्रेसका छुट्टा छुट्टै उम्मेदवार छन् ।

गठबन्धनको तर्फबाट अध्यक्षमा माओवादी केन्द्रका गोविन्द पुन र उपाध्यक्षमा कौशिला घर्ती क्षेत्रीनी उम्मेदवार छन् । कांग्रेसले अध्यक्षमा जनक पुन र उपाध्यक्षमा सरिता केसीलाई उम्मेदवार बनँएको छ भने एमालेबाट अध्यक्षमा यामवहादुर दशौदी र उपाध्यक्षमा हस्तमाली वाँठामगर उम्मेदवार छिन् ।

२०७४ सालमा एमालेका बालाराम वुढामगरले ३ हजार ४०२ मतका साथ अध्यक्षमा विजयी हुँदा कांग्रेसका टेकवहादुर वस्नेतले ३ हजार २७६ र माओवादी केन्द्रका गोविन्दपुनले ३१०८ र जनमोर्चाका भिके पुनमगरले १२६ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?