
१९ वैशाख, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले आफूले निर्वाचन आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेका छन् । उनले सरकारका मन्त्रीहरुले पनि आचारसंहिता उल्लंघन गरेको भन्दै कारबाही गरेर देखाउन निर्वाचन आयोगलाई चुनौती दिएका छन् ।
निर्वाचन आचारसंहिताविपरीत तिलोत्तमाको नगरप्रमुख पदमा बहाल रहेकै अवस्थामा उनी नेकपा एमाले तिलोत्तमा नगरपालिका निर्वाचन परिचालन कमिटीको संयोजक बनेका छन् ।
दिनहुँ एमाले उम्मेदवार मोहन चापागाई र जागेश्वरीदेवी चौधरीको प्रचारमा खटिएका उनले आइतबार पत्रकार सम्मेलन गरी भने, ‘अहिलेसम्म मैले राजीनामा दिएको छैन । …अहिले निर्वाचन आचारसंहिता उल्लंघन भएको छ । यहाँहरुले लेखे हुन्छ ।’
एमाले निर्वाचन प्रचारप्रसार कमिटीले आइतबार राति आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘ब्यानरमा सूर्य चिह्न राखेर तिलोत्तमा नगरपालिका प्रमुखले यो काम गर्यो भनेर तपाईंहरुले भोलि नलेख्नु होला भन्ने मलाई लाग्दैन, लेख्नुहुन्छ । तर ठूलालाई नलाग्ने साना म जस्तालाई लाग्ने यो कुरा पनि तपाईंहरुले यो कुरा छिनोफानो गर्दिनुपर्ने भयो, म आग्रह गर्न चाहन्छु । अघि पनि एउटा पार्टीको कार्यक्रममा म बोलेको थिएँ ।’
तिलोत्तमामा एमालेका प्रमुख र उपप्रमुख उम्मेदवारसँग गरिएको पत्रकार सम्मेलनको अध्यक्षता घिमिरेले नै गरेका थिए । उनले आफू एमालेको कार्यकर्ता भएकाले एमालेको कार्यक्रममा हिंड्नु स्वाभाविक भएको बताए । उनले भने, ‘म जिम्मेवार कार्यकर्ताको हिसाबले पाँच वर्ष एमालेको तर्फबाट नेता हुने, नगरपालिकाको प्रमुख हुने, निर्वाचनमा म निर्वाचनमा भाग लिन नपाउने, यस्ता कार्यक्रममा उपस्थित हुन नपाउने ?’ यदि पार्टीले भनेमा आज नै पद त्याग्न तयार रहेको पनि उनले बताए ।
प्रमुख घिमिरेसँगै तिलोत्तमा नगरपालिकाका प्रवक्ता रहेका सुरेन्द्र श्रीले पनि आचारसंहिता विपरीत जिम्मेवारी लिएका छन् । उनी नगरको जनप्रतिनिधितर्फको प्रवक्ता बहाल रहेकै अवस्थामा एमाले निर्वाचन प्रचारप्रसार समितिको जिम्मेवारी लिएका हुन् ।
प्रतिक्रिया 4