
१९ वैशाख, बैतडी । बैतडीको डिलासैनी गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षमा मात्र होइन, ५ वटा वडामा वडाध्यक्षसहितको स्वतन्त्र प्यानल उठेको छ ।
र यो प्यानल पुतली चुनाव चिन्ह बोकेर गाउँ गाउँमा भोट माग्न जान थालेको छ । स्वतन्त्र भने पनि यो प्यानल नेकपा एमालेको बागी हो ।
यसको नेतृत्व नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहिसकेका सन्तोषप्रकाश जोशीले गरेका छन् ।
जोशीलाई एमाले गाउँ कमिटीले उम्मेदवार सिफारिस गरेको थियो । तर उनको नाममा टिकट आएन । जोशीको सट्टा अक्कलबहादुर रानाले अध्यक्षको टिकट पाए ।
आफूले टिकट नपाएपछि जोशीले उपाध्यक्षसहित ५ वटा वडामा अध्यक्ष र सदस्यकोसमेत प्यानल बनाएर मनोनयन दर्ता गरे ।
जोशीको प्यानलबाट उपाध्यक्षमा अमर बोहोरा उम्मेदवार छन् ।
यस्तै वडा नं. ३ मा खेमराज बोहरा, ४ मा हरिदत्त पन्त, ५ मा यज्ञराज भट्ट, ६ मा हरिश नाथ, ७ मा प्रकाशमणि भट्ट अध्यक्षको उम्मेदवार छन् । यी वडामा सदस्यबाटसमेत उनीहरुकै प्यानलका उम्मेदवार छन् ।
सत्तारुढ गठबन्धनबाट डिलासैनीमा नेकपा माओवादी केन्द्रका लोकेन्द्रबहादुर राना अध्यक्षको उम्मेदवार छन् । यस्तै राप्रपाले देविदत्त नाथलाई उठाएको छ । अर्का स्वतन्त्र उम्मेदवार गणेशसिंह बोहोरा पनि अध्यक्षको उम्मेदवार छन् ।
स्वतन्त्रबाट अध्यक्ष लडेका सन्तोषप्रकाश जोशी लोकप्रिय नेताका रुपमा चिनिन्छन् । जनस्वास्थ्य निरीक्षकको सरकारी जागिरबाट राजिनामा दिएर राजनितिमा होमिएका जोशी राष्ट्रिय युवा संघका प्रदेश अध्यक्षसमेत थिए ।
राष्ट्रिय झण्डा बोकेर चुनाव प्रचारमा हिँडेका जोशीको प्यानलमा जनसहभागिता बाक्लो छ । ‘पार्टीभन्दा माथि उठेर डिलासैनीको विकासमा अग्रसर हुने प्रणसहित जनताको माझमा गएको छु,’ उनले भने, ‘जनताको साथ पाउनेमा ढुक्क छु ।’
प्रतिक्रिया 4