
१९ वैशाख, धनगढी । धनगढी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
सोमबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार कांग्रेसका नृपबहादुर वड र उपमेयरकी उम्मेदवार शान्तिकुमारी अधिकारीले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
प्रतिबद्धता पत्रको पहिलो बुंदामा धनगढी उपमहानगरपालिकालाई आवश्यक पूर्वाधार तयार गरेर महानगरपालिका बनाउन पहल गर्ने उल्लेख छ । धनगढीमा शहरीकरण गर्ने योजना अन्तरगत महानगरपालिका बनाउन पहल गर्ने कुरालाई प्राथमिकतामा राखिएको छ ।
उपमहानगरपालिकाभित्र रहेका सडक र खोलाहरुको दुवै किनारमा पैदल मार्ग निर्माण गर्ने, १९ वटै वडालाई प्रविधिमैत्री बनाइने, उर्मा गाउँलाई अत्याधुनिक शहरी सुविधा सम्पन्न र सबैले गौरव गर्न लायक नमुना बस्ती बनाइने, क्याम्पस रोड, चौराहा र शहीद गेटमा आकाशे पुल निर्माण गरिने विषय समेत प्रतिबद्धता पत्रमा उल्लेख गरिएका छन् ।
धनगढी लालपुर्जा वितरण गर्न बाँकी रहेका वडामा यथाशीघ्र लालपुर्जा वितरण गर्ने, खोलानाला अतिक्रमण हटाउन जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्ने, सबै वडामा व्यावसायिक कृषि हाटबजारको व्यवस्थापन गरिने, धनगढीलाई शैक्षिक हबको रुपमा विकास गरिने, वडामा स्थापना भएका नगर स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टरको सेवा उपलब्ध गराइने, निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने विषय समेटिएका छन् ।
उपमहानगरपालिकाका भित्रि सडकलाई रिङरोड र हुलाकी सडक सञ्जालमा जोडिने, वडा नम्बर १५ र १६ मा औद्योगिक क्षेत्र स्थापना गरिने, करको दरलाई न्यून गरी दायरा फराकिलो बनाइने विषयलाई पनि प्राथमिकता दिइएको छ ।
प्रतिक्रिया 4