
१९ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवार नमिना न्यौपानेले सोमबार प्रतिवद्धता पत्र सार्वजनिक गरेकी छन् । उनले निर्वाचित भए महानगरपलिकाबाट पाउने आर्थिक सुविधा, सवारी साधन र इन्धन सुविधा नलिने बताएकी हुन् ।
‘महानगरबासीले मलाई चुनाव जिताउनु भयो भने महानगरको कुनै सुविधा लिन्न’, उनले भनिन्, ‘प्रतिवद्धता पत्र अनुसार काम गर्न सकिन भने पाँच वर्षपछि सन्यास लिन्छु ।’
न्यौपानेले न्याय निरुपण, शिक्षा, जनचेतना र सूचना प्रविधि, वातावरण र सरसफाइ, विपन्न परिवारलक्षित कार्यक्रम, स्वास्थ्य तथा लक्षित समूह कार्यक्रम, विकास निर्माणलाई प्रतिवद्धता पत्रमा समेटेकी छन् ।
न्यायिक समितिलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित ढंगबाट चलाउने, सामुदायिक विद्यालयलाई नमुना बनाउने, विपन्न परिवारको स्वास्थ्य बीमा निशुल्क गरिदिने उनको प्रतिवद्धता छ ।
विराटनगरको उपमेयरमा एमालेलेबाट शिल्पा कार्की, जनता समाजवादी पार्टीका अमरेन्द्र यादव, राप्रपाकी बिन्दा लुइँटेल आचार्य र कांग्रेस बीपीबाट माया ओझा तथा स्वतन्त्र उम्मेदवारहरु गंगादेवी सुवेदी र बसुन्धरा झाले पिन उम्मेदवारी दिएका छन् ।
माओवादी केन्द्रको विराटनगर महानगरपालिका समितिकी सचिव नमिताले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएकी हुन् ।
प्रतिक्रिया 4