
निर्वाचन आयोगको निम्ति आचारसंहिता एउटा छाताजस्तो लाग्छ । उक्त छाताको बिंड आयोगले समातेको छ । तर यो छाता सबैले मिलेर बनाएको हो । आयोग राजनीतिक दल, उम्मेदवार, सञ्चार क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था र मतदातालाई यो छाता ओढाउन दौडिरहने र अरु यसलाई भनेर भागिरहने ! एउटा ओढाउन खोज्ने, अर्को पन्छाउन खोज्ने !
यसो गर्दागर्दै न ओत दिन खोज्ने आयोग ओतिन्छ, न जसलाई ओत लगाउनुपर्ने हो त्यो ओतिन्छ । अन्ततोगत्वा निर्वाचन सकिंदा हामी दुवैपक्ष निथ्रुक्क भिज्ने पो हो कि ? यो भिजाइभित्र कुनै आनन्द छैन ।
आयोगको छाता नओढेको कारणले म चाहिँ भिज्दिनँ भनेर ठान्नु पनि हुँदैन । हामी सबैले तर्जुमा गरेको यो आचारसंहिताको कार्यान्वयनका लागि सबैको प्रतिबद्धता जरुरी छ । आयोगले तय गरेको आचारसंहिताको सम्पूर्ण रूपले कार्यान्वयन हुनेछ भन्ने विश्वास लिएको छु ।
यो आचारसंहिता लागु गर्ने एउटै अस्त्र छ । आचारसंहिता नैतिक बन्धनहरू हुन् । यसलाई हामीले स्वनियन्त्रणको औजारबाट, पालना गर्छु भन्ने प्रतिवद्धताबाट, स्वअनुगमनको विधिबाट र आत्मसमीक्षाको हतियार प्रयोग गरेर कार्यान्वयन गर्न सक्छौं ।
सामाजिक सञ्जालको उपयोग गर्ने विषय पनि त्यत्तिकै महत्वपूर्ण छ । अहिले सूचना र प्रविधिको विकास सँगसँगै हाम्रा सामग्रीहरू सम्प्रेषण गर्न, उम्मेदवारहरूले प्रचारप्रसार गर्न र तपाईं-हामीलाई सबै सूचना समयमै प्राप्त गर्नका निम्ति पनि यसलाई हामीले महत्वपूर्ण प्लेटफर्मको रूपमा उपयोग गरिरहेका छौं । सामाजिक सञ्जालको उपयोग गर्दा अत्यन्तै व्यवस्थित, नियमित, संयमित र संवेदनशील हुनका निम्ति सबैलाई अपिल गर्दछु ।
निर्वाचनको बेला मिथ्या सूचना, दुष्प्रचार र अर्काको चरित्रहत्या गर्ने किसिमका द्वेषपूर्ण अभिव्यक्ति हुने विषय अत्यन्तै गम्भीर छ । यो विषय अहिले यदाकदा प्रारम्भ भइसकेको छ । म एकजना सामाजिक प्राणी, एउटा मुलुकको रुपान्तरण गर्न चाहन्छु । यसो भन्ने मान्छेले सामाजिक सञ्जाल प्रयोग गर्दा कसरी असामाजिक चरित्र प्रदर्शन गर्न सक्छ भनेर अनुमान गरिरहेको छु ।
मलाई बडा अप्ठ्यारो अनुभूति हुन्छ । त्यसैले यस्ता असामाजिक र अमानवीय प्रवृत्ति जसले कसैको आत्मसम्मान र चरित्रमाथि प्रश्न चिह्न उठ्ने र कसैलाई लाञ्छित गर्ने काम कहीँकतैबाट नगरिदिनुहुन अनुरोध गर्दछु ।
म आत्मसमीक्षाको कुरा गर्दैछु । सामाजिक सञ्जालमा लेख्नुभन्दा अघि यति सोचौं- मैले जे लेखिरहेको छु, यही विषय मेरो निम्ति कसैले लेखिदियो भने त्यो मलाई प्रिय हुन्छ कि हुँदैन ? यही कुराले समाज, कसैको परिवार र आम नागरिकमा कस्तो प्रभाव पार्छ ? त्यसलाई पनि सोचौं ।
सामाजिक सञ्जालकै प्रभावले पनि कहिँकतै निर्वाचनमा इमान, सिद्धान्त, विश्वास र निष्ठा पो पराजित हुने हो कि ? स्थानीय तहको निर्वाचनमा निष्ठा, इमान, प्रतिबद्धता र जनपक्षीयताले जित्नुपर्छ । नागरिक र मतदातालाई सम्मान गरेर स्थानीय सरकारमा रहेर जनताको सेवा गर्ने सेवामुखी भावनाले जित्नुपर्छ ।
कस्तो व्यक्ति हो भन्ने जाँच गर्ने अधिकार नागरिक र मतदाता स्वयंमा निहित छ । हामीलाई कहिँकतै यस्ता मिथ्या सूचनाको कारणले मनि र मसल हावी हुने पो हो कि भन्ने डर लागिरहेको छ । कहिँकतै मतदाताहरूलाई बहकाउमा पारेर आफ्नो पक्षमा ल्याउन प्रभावित गर्न खोज्ने तत्व हावी हुने हो कि भन्ने डर लागिरहेको छ । यसले निर्वाचनप्रति नै अनास्था फैलन सक्ने र हाम्रो लोकतन्त्रमाथि नै प्रश्न उठ्न सक्ने स्थिति पो हुन्छ कि भन्ने डर लागिरहेको छ ।
हाम्रो विविधतायुक्त समाजमा रहेको अनुशासनलाई भंग गरेर हिंसालाई दुरुत्साहन गर्न सक्ने खतरा, हामी हामीबीचको मित्रता र सद्भावलाई खल्बल्याउने काम पनि त्यसले गर्छ कि ? यस्ता अत्यन्तै संवेदनशील विषयलाई ख्याल गर्नुपर्छ ।
निर्वाचन आयोगले आचारसंहिता जारी गरेर कुनै पनि किसिमको पोस्टर, पम्प्लेट छाप्न र टाँस्न नपाउने, तोरण बनाएर राख्न र प्रदर्शन गर्न नहुने आदि धेरै कुरा गरेका छौं । यो त भौतिकरूपमा देखिने कुरा हो । भौतिक रूपमा देखिने ठाउँमा हामी देख्ने बित्तिकै झिकौंला ।
तर, राखिसकेपछि झिक्नै नमिल्ने जुन सामाजिक सञ्जालको बडा अप्ठ्यारो ठाउँ छ, यहाँ राखिसकेपछि त्यसबाट मुक्ति पाउन मुस्किल हुन्छ । त्यसकारण राख्नुभन्दा अगाडि नै हामी सबैले सोच्नुपर्छ । अझ मिडियाकर्मी साथीहरूको बोली त गोली हो, फर्किंदै फर्किंदैन । हावामा तपाईंले बोलेको बोली गइसकेपछि गयो गयो ।
सामाजिक सञ्जालकै प्रभावले पनि कहिँकतै निर्वाचनमा इमान, सिद्धान्त, विश्वास र निष्ठा पो पराजित हुने हो कि ?
एकजना मानिसले मिथ्या सूचना गलत ढंगले सम्प्रेषण गरेको कुरा सयौं जना मानिसले सुने भने के हुन्छ ? मैले सुनेअनुसार विभिन्न अध्ययन-अनुसन्धानका अनुसार कुनै पनि गलत सूचना सही सूचनाभन्दा ६ दोब्बर छिटो दौडन्छ । त्यो छाप परिसकेको कुरालाई फेरि पहिलेकै अवस्थामा ल्याउनको निम्ति ४० प्रतिशत मात्रै सकिन्छ । ६० प्रतिशत मानिसलाई पुनः पहिलेको अवस्थामा ल्याउनै सकिंदैन ।
त्यसकारण गलत सूचना दिने र पुग्ने र अनावश्यक हल्लाखल्ला फैलिने कुरालाई संवेदनशील भएर हेर्नुपर्छ ।
निर्वाचनसम्बन्धी समाचार हेर्दा आफैं असफल भएजस्तो, मलाई नै हिर्काएजस्तो लाग्छ । समाचारमा राजनीतिक दलहरूले प्रचारप्रसार गरिरहनु भएको थियो । त्यहाँ आचारसंहिता मिचेर ब्यानर प्रदर्शन भएका थिए । झण्डा देखिएका थिए, चिह्नहरु प्रदर्शन भइरहेका थिए । मान्छे कति थिए, त्यो हाम्रो सवालको कुरा भएन । जति हुनुहोस् तर निषेधित कुराहरूसहित त्यो काम भइरहेको थियो ।
मैले सोचेँ- कहिँकतै कानुन र पद्धतिले मिल्छ भने टेलिभिजनबाट ती दृश्य देखाइरहँदा ‘आज फलानो ठाउँमा यस्तो आमसभा भयो, यस्तो बोल्नुभयो’ भनिदिनुस्, सँगै ‘यो आमसभामा देखाइएको त्यो दृश्यमा निर्वाचन आचारसंहिताको मज्जैले उल्लंघन गरिएकै दृश्य यहाँ देखाइएको हो’ भनिदिए हुन्थ्यो । मिडियाले सत्य बोले नै हामीले सत्य सुन्ने हो । यो विषयमा बहस, छलफल गरौं ।
यदि त्यस्तो मिल्दैन भने- आचारसंहिता विपरीत हुने दृश्यहरू नदेखाई ‘हामीले दृश्य त खिचेका थियौं तर समाचार मात्रै भन्यौं । किनभने आचारसंहिता विपरीत दृश्यहरू हामीलाई देखाउन मन लागेन’ भनिदिए पनि भयो ।
तर, एकातिर आचारसंहिताको खबर आइरहेको छ । अर्कोतिर आचारसंहिता विपरीतका दृश्यहरू देखिरहँदा मानिसलाई कहिँकतै फेरि आचारसंहिता विपरीतका काम गर्यो भने टेलिभिजनमा आउन पाइने रहेछ भन्ने अनुभूति भयो भने पनि खतरै भयो ।
मेरो भनाइको ध्येय यो हो कि धेरै कष्ट सहनु परे पनि सहौं । अब जम्मा १० दिन बाँकी छ । निर्वाचन आचारसंहिताका सबै बुँदाहरूलाई पालना गरौं । हामी सबै निर्वाचनलाई व्यवस्थितरूपमा सञ्चालन गर्न सक्छौं । हामीले बनाएका नियमहरू राम्रा, व्यवहारिक र उपयोगी छन् र यसले निर्वाचनको स्वतन्त्रता, स्वच्छता र निष्पक्षतालाई सकारात्मक प्रभाव पार्दछ ।
निर्वाचनमा सबैले समान मैदान पाउनुपर्छ भन्ने सैद्धान्तिक मान्यतालाई स्थापित गर्दछ । उम्मेदवार कोही ठूलो र सानो हुँदैन । उसको विचार ठूलो हुनसक्छ र विचारमा पृथकता हुनसक्छ । तर, योग्यता पुगेका सबै उम्मेदवारले समान अवसर पाउने अवस्था सिर्जना हुनसक्छ । यस्तो अवस्था सिर्जना गर्न सबैले भूमिका खेलौं ।
(प्रमुख निर्वाचन आयुक्त थपलियाले मंगलबार राजधानीमा सामुदायिक रेडियो प्रसारक संघद्वारा आयोजित चुनावी आचारसंहिता सार्वजनिक कार्यक्रममा व्यक्त विचारको सम्पादित अंश)
प्रतिक्रिया 4