
२० वैशाख, काठमाडौं । पूर्वी नेपालका उद्योगहरुमा सहज विद्युत आपूर्ति सुरु भएको छ । केही दिनयता पर्याप्त बिजुली आयात हुन नसकेपछि उद्योगहरुमा अनियमित विद्युत कटौती भइरहेको थियो ।
लोडसेडिङ नै हुने अवस्था आएको भन्दै प्रदेश १ उद्योगीहरुले २० वैशाखसम्म समस्या समाधान नभए संयुक्त रुपमा चरणवद्ध आन्दोलनको घोषणा गरेका थिए ।
प्राधिकरणले मंगलबारबाट उद्योगहरुमा नियमित विद्युत आपूर्ति थालेको छ । योसँगै मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रदेश नम्बर १लेले प्रेश विज्ञप्ति जारी गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेको जानकारी दिएका छन् ।
‘हाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रको विद्युत् आपूर्तिको समस्या समाधानको प्रयासस्वरुप निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्राधिकरण प्रतिवद्ध रहेको आश्वासन समेत प्रकट गरेको र आजदेखि विद्युत प्रसारण समेत सुचारु भएकोप्रति हामी समस्त उद्योगी व्यवसायीहरु उत्साही भएका छौं । प्राधिकरणको यस कार्यका लागि प्रशंसासहित धन्यवाद ज्ञापन गर्दछौं ।’
उद्योगीहरुले विद्यमान ऊर्जा संकटको अवस्थामा विद्युतको वितरण सबै क्षेत्रलाई न्यायोचित र समान बनाएर सबैको काममा अवरोध नहुने व्यवस्था गर्न माग गरेका छन् ।उर्जामन्त्री भुसालले सोमबार नै मंगलबारबाट विद्युत आपूर्ति सहज हुने जानकारी दिएकी थिइन् ।
प्राधिकरणले भारतबाट सरकारी स्तरको समझदारीबाट १५० मेगावाट बिजुली ल्याउन लागेको छ । यसबाहेक प्रतिस्पर्धी बजारबाट पनि बिजुली ल्याइरहेकाले अभाव टरेको हो । भारतमा उर्जा संकट भएपछि त्यसको असर नेपालसम्म परेको छ ।
प्रतिक्रिया 4