+
+

पालिका हाँक्न आँटेका गण्डकीका युवा भन्छन्- नेतृत्व पुरानो पुस्ताको मात्रै पेवा होइन

विकास रोकामगर विकास रोकामगर
२०७९ वैशाख २१ गते ७:३१

२१ वैशाख, पोखरा । ०७२ सालदेखि विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी आस्था नेपाली (२३)ले स्याङ्जाको पुतलीबजार नगरपालिका उपप्रमुखमा उम्मेदवारी दिएकी छन् । पालिका उपप्रमुखमा उम्मेदवारी दिएकी उनी गण्डकीकै सबैभन्दा कान्छी उमेरकी हुन् ।

जनता समाजवादी पार्टीबाट उपप्रमुखमा उम्मेदवारी दिएकी नेपाली पछिल्लो समय राजनीतिप्रति युवाको वितृष्णा बढ्दै गएको र त्यसलाई सुधार्न आफू चुनावमा होमिएको बताउँछिन् । ‘युवाहरुलाई अहिले राजनीतिप्रति नै वितृष्णा पैदा भइसक्यो । यो भनेको राजनीतिमा उनीहरुलाई प्रत्यक्ष सहभागी नबनाएर वा अवसर नदिएर हो,’ नेपाली भन्छिन्, ‘युवा पनि अवसर पाए सक्छन् भनेरै उम्मेदवारी दिएकी हुँ ।’

नेपाली राजनीतिमा युवाहरुको उपस्थिति हुने भए पनि अवसर पाउनेबेला पुरानै अनुहार दोहोर्‍याउँदा युवाहरुमा निराश बढ्दै जाने नेपाली सुनाउँछिन् । ‘यतिसम्म भइसक्यो कि अब उनीहरु नेपालमा भविष्य नै छैन भनेर परदेश नै अन्तिम गन्तव्य बनाउन थालिसके । यसमा परिवर्तन हुन जरुरी छ,’ उनले भनिन् ।

नेपालीले महिला, अपांग र लैंगिक अल्पसंख्यक मैत्री रोजगारलाई मुख्य चुनावी एजेन्डा बनाएकी छन् । ‘अहिले पनि कतै रोजगारीको अवसर आयो भने महिला वा पुरुषमात्रै लेख्ने प्रचलन छ । तर, मेरो जितले त्यहाँ लैंगिक अल्पसंख्यकको पनि खोज गर्छ,’ उनले भनिन् ।

आसन्न निर्वाचनबाट पालिका हाँक्न प्राय ठूला भनिएका दलले युवालाई अघि सारेका छैनन् । तर, साना दलले भने युवा पंक्तिलाई अघि सारेका छन् । गण्डकी प्रदेशका विभिन्न पालिकामा उम्मेदवारी दिएका युवाले युवा स्वरोजगारसँगै कृषि र पर्यटनलाई जोड दिएका छन् ।

अबको युवा पुस्ता हस्तक्षेपकारी प्रश्नसँगै नेतृत्व हाँक्न पनि सफल भइसकेको उनीहरुको भनाइ छ । भन्छन्, ‘पुस्तौंदेखि एउटै अनुहार देखिरहेका छौं । यो राजनीतिक संरचना फेरिन पनि हाम्रो हस्तक्षेप जरुरी छ । नेतृत्व अघिल्लो पुस्ताकोमात्रै पेवा होइन ।’

युवा पुस्तालाई नेतृत्व अवसर दिनेमा प्रदेशभर स्याङ्जाका पालिका अगाडि देखिएको छ । स्याङ्जाको चापाकोट नगरपालिका उपप्रमुखमा नेपाली कांग्रेसले इशा राना (२६) लाई उठाएको छ । राना देशलाई तरिकाले नयाँ परिवर्तन दिन पनि युवा नेतृत्व अपरिहार्य रहेको सुनाउँछिन् ।

‘राजनीतिमा युवाले आफ्नो प्रतिनिधित्व खोज्नु अग्रजको भाग खोज्नु पटक्कै होइन । बरु उहाँहरुको निर्देशन बमोजिम नयाँ परिवर्तनलाई आत्मसाथ गर्नु हो,’ राना भन्छिन्, ‘तर, उहाँहरूको विश्वासलाई पूरा गर्न हामीलाई चुनौती पनि हो । सक्छौं पनि ।’

राना आफू पनि खेलकुदमा रुचि राख्ने भएकाले पालिकालाई खेलकुदमैत्री बनाउने सोचमा छिन् । कुनै ‘श्वेरकाल्पनिक’ घोषणापत्र भन्दा पनि जनताको सामान्य चाहनाअनुसार आफू अगाडि बढ्न चाहेको उनी बताउँछिन् । ‘यो, त्यो भनेर नहुने सपना बाँडेर राजनीतिलाई किन थप धुमिल बनाउने ? बरु उनीहरुको चाहनाहरुसँगै काम गर्ने मेरो योजना छ,’ उनी भन्छिन् ।

जनता समाजवादीबाटै कास्कीको अन्नपूर्ण गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएका नवराज पौडेल (२५) युवा ऊर्जालाई पलायन हुन नदिन आफूले उम्मेदवारी दिएको बताउँछन् । उनले आफूले क्षेत्र विकास समिति र नेपाल कृषि अनुसन्धान विकास केन्द्रमा लिएको अनुभव राजनीतिमार्फत जनतामाझ बाँड्न चाहेको बताए ।

पौडेलले युवाको सपना, आकांक्षा युवाले मात्रै बुझ्ने भएकाले युवाशक्ति नेतृत्वमा आउँदा त्यसले राजनीति संरचनामात्रै नभएर विकासमै परिवर्तन ल्याउने दाबी गरे । ‘युवाहरुसँग ठूलो शक्ति र ऊर्जा हुन्छ । तर, राजनीति सधैं विवादित भइरहँदा त्यो वितृष्णा पैदा भइरहेको छ । ठूलो युवाशक्ति र युवा जनशक्ति पलायन भइरहेको छ,’ उनी भन्छन्, ‘त्यसैले पनि अब पालिकाहरुमा युवा आउनुपर्छ नेतृत्व पाउनुपर्छ ।’

उम्मेदवारी दिने, जित्न मुस्किल !

युवा पंक्तिले जनप्रतिनिधिमा जित्नेमा भने शंका छ । एकातिर ठूला पार्टीका अनुभवी उम्मेदवार छन् भने अर्कातिर साना दलबाट नयाँ पुस्ता आउँदा मतदाताले नपत्याउने हुन् कि आशंका उस्तै छ ।

उपप्रमुखकी उम्मेदवार आस्था नेपाली आफूले जित्ने अवस्था नरहे पनि संविधानले व्यवस्था गरेको समानुपातिक उपस्थितिको भने रक्षा हुने बताउँछिन् । उनले आफ्नो उम्मेदवारीले युवाहरु नेतृत्वमा आउन तयार भइसकेको सन्देश दिने सुनाउँछिन् ।

‘मैले जितुँला, हारुँला आफ्नो ठाउँमा छ । तर, संविधानले व्यवस्था गरेको समानुपातिक उपस्थिति रक्षा भएको छ । सीमान्तकृत समुदाय पनि नेतृत्वका लागि तयार छ भन्ने सन्देश जान्छ,’ नेपाली भन्छिन्, ‘थोरै मत ल्याउँला ! तर, यसैले अर्को पटकका लागि युवालाई मानसिक रुपमा तयार पार्छ ।’

‘राजनीतिमा युवा सहभागिता अनिवार्य छ’

दलहरुले सहभागी गराए पनि नगराए पनि राजनीतिमा युवाहरुको भूमिका र उपस्थिति अनिवार्य र अपरिहार्य रहेको राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम बताउँछन् । ‘युवाहरूको संलग्नताबाटै नेतृत्वप्रति एउटा आशा जगाउँछ । वास्तवमा लोकतन्त्रमा यो अपरिहार्य छ,’ उनी भन्छन् ।

युवा पुस्तामै नेतृत्व तहमा पुग्दा युवा पंक्तिले अघिल्लो पुस्ताभन्दा धेरै कुरा सिक्ने अवसर पाउने गौतमको प्रतिक्रिया छ । उनले युवाहरु नेतृत्वमा आउँदा राजनीतिप्रति सम्भावनामात्रै नभएर नेतृत्वदायी भूमिका पनि निभाउने बताए .

‘लोकतन्त्र भनेकै गर्दै, सिक्दै जाने हो । कोही पनि एकैचोटि सबै जान्ने भन्ने हुँदैन,’ गौतम भन्छन्, ‘युवाको ऊर्जा, ज्ञानलाई व्यवहारमा उतार्न पनि उनीहरु नेतृत्वमा आउन जरुरी छ । युवाबिनाको राजनीति असम्भव छ ।’

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?